झारफुक गर्न हैन, चिरफार गर्न आएको हुँ

सञ्जय रानाभाट २०८० वैशाख ६ गते १७:४०

नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थविद् डाक्टर स्वर्णिम वाग्ले वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार छन् । कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा–आरजु ले पाखा लगाएको भन्दै उनले रास्वपा रोजेका हुन् ।

रास्वपाले उनलाई उपनिर्वाचनमा उम्मेदवार पनि बनाएको छ । वाग्लेले समयसीमा नै तोकेर डेलिभरीको राजनीतिमा लाग्नुपर्ने र नेपाल बनाउने महाअभियानमा होमिएको बताउँदै आएका छन् ।

उपनिर्वाचन लड्नकै लागि किन नयाँ पार्टी प्रवेश गर्नुभयो ?
यो उर्वर उमेरमा देशमा केही योगदान गर्ने उद्देश्यले उपनिर्वाचनमा छु । रास्वपाको विधान पढेको छु । नयाँ लोकतान्त्रिक दलको रुपमा उदाएकाले २१ औं शताब्दीको आवश्यकता पनि हो भन्ने लाग्यो ।

Advertisement

यो संसारबाट बिदाइ भएर जाँदा आफ्ना केही लिगेसी छोडेर जान नयाँ विचारका साथ राजनीतिमा आएको हुँ । कानुन निर्माण, जलावायु परिवर्तनका मुद्दा र धरासयी अर्थतन्त्रलाई निकास दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टी आजको आवश्यकता लाग्यो र देश बनाउने महाअभियानमा जोडिएको हुँ ।

टिकट नपाएर कांग्रेस छोड्नु भयो होइन ?
हैन, टिकट नपाएको ६/७ महिनाअघिको कुरा हो । त्यसपछिका घटनाले सोच्न बाध्य बनाएको हो । यसपछिका बाटो र विचार हाम्रा केही परिवर्तन भए ।

Advertisement

अहिले तनहुँलाई स्वर्णिमको आवश्यकता हो कि तपाईंको बाध्यता ?
तनहुँले भर्खरै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई जिताएर पठायो । नेपालको भूभागको हिसाबले पनि तनहुँ केन्द्रविन्दुमा छ । राष्ट्रिय मुद्दाहरुमा पनि तनहुँ मुलुकको प्राथमिकता बन्न पुग्यो ।

यहाँबाट एउटा राष्ट्रिय सन्देश पठाउन सक्छौं । तनहुँले जिताएर पठाए विकास निर्माणका काममा सहजीकरण गर्ने लगानी भिर्‍याउन सहजीकरण गर्ने छु । अर्को सरकारलाई उत्तरदायी बनाइराख्नुपर्ने छ ।

तपाईंको उम्मेदवारी किन ?
यस्तो सांसद बन्न सकूँ—तनहुँका जनतालाई गर्व होस् । अहिले राजनीतिक दलहरुले विकास, निर्माणमा लामो फेहरिस्त बताउँछन् । तर, नेपालमा सुशासन छैन । यहाँ कुशासन छ । कुनै बेला हामीसँगै भएका देशहरु माथि पुगिसके ।

तर, नेपाल लगभर धेरै पछाडि परेको छ । सुधार गर्नुपर्ने पक्ष आर्थिक उन्नतिको हो । नेपालमा रोजगारी वृद्धि गर्न र सुशासन कायम गर्न र ठूला ठूला भ्रष्टाचारका फाइल खोल्ने भनिएको छ । यसलाई सशक्त भएर अगाडि बढाउन एउटा आशाको सञ्चार गर्न मेरो उम्मेदवारी हो । अर्थतन्त्रमा झारफुक गर्न हैन, चिरफार गर्न आएको हुँ । विभिन्न दबाबलाई चिर्न आएको हुँ ।

चुनावी प्रतिस्पर्धालाई अनुमान गर्नुभएको छ ?
अहिलेको आधुनिक युगमा सन्देशहरु घर घरमा हातहातमा पुगेका छन् । वैशाख १० को निर्वाचनले के भन्छ ? अब जनताले यसपालि तिम्रो बेला भएको छैन भने पनि त्यो सहज तरिकाले स्वीकार्छाैैं । तर, हामी जित्छौं भन्ने छ । नेपालमै सम्भावना सिर्जना गर्न मिलेरअघि बढ्नुपर्छ भन्ने हो ।

तपाईंले त टुरिस्ट उम्मेदवारको संज्ञा पाइरहनुभएको छ नि ?
नेपालको संविधानले कुनै पनि नागरिक जुनसुकै निर्वाचन क्षेत्रमा गएर लडे पनि हुन्छ भनेको छ । तनहुँका आदरणीय मित्र प्रदीप पौडेल काठमाडौं गएर जित्नुभयो । जिताउन म पनि हिँडें । त्यहाँका जनताले यस्तै प्रश्न गर्थे । म भन्थें— प्रदीपलाई मैले चिन्छु ।

प्रदीप टुरिस्ट होइन । टुरिस्ट भनेर एउटा भाष्य निर्माण गर्न खोजिएको छ । निर्वाचन क्षेत्रलाई न्याय गर्छु भन्दा कुतर्क गर्दै टुरिस्ट भनिएको छ । प्रचण्ड अहिलेका प्रधानमन्त्री कास्कीमा जन्मनुभयो । चितवनमा हुर्कनुभयो । गोरखाबाट जित्नुभयो । म यही भेगको हिमालको पानी खाएर हुर्केको हुँ ।

जित्ने आधार के के हुन् ?
राजनीति एकदमै विकृत भयो । पैसाको लेनदेन गरेर उम्मेदवार बन्ने कुरा मौलायो । पार्टीभित्र र सरकारमा यसले विकृति सिर्जना गरेको छ । मलजल गरेको छ । यसलाई प्रहार नगरी रोजगारी वृद्धि गर्ने, लगानीको माहोल बनाउने काम गर्न सकिन्न । युवालाई विदेश पठाउनबाट रोक्न सकिन्न । मेरो अनुभव ज्ञान, सीपलाई यो क्षेत्रमा ल्याएर घोप्ट्याउने कुरा नै जित्ने आधार हो ।

ग्रास लेभलका मान्छेको रेस्पोन्स के पाउनुभयो ?
मैले अहिलेसम्म गरेका काम विकाससँग नै सम्बन्धित छन् । ती राष्ट्रिय लेभल भए पनि गाउँ गाउँमा पुगेर गरेका काम हुन् ।

पछिल्लो चरणमा पोषणमा काम गरेको छु । महाअभियानमा जोडिएका छौं । जनता एक्दमै उत्साहित हुनुहुन्छ । राजनीतिक मोडेललाई धक्का दिने गरी हामी चुनाव जित्छौं ।

हामीले सोचेको लोकतान्त्रिक अभ्यासमा छोटो समयमा छिट्टो विकास गर्न आवश्यक छ । त्यो जनताले मूल्यांकन गरेर मतदान गर्नुहुन्छ । हामी मतदाताका घरदैलोमा पुग्दा उहाँहरु एकदमै उत्साहित हुनुहुन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया