आमाको मुख हेर्ने दिन
आमालाई घडी उपहार होइन, समय दिऊँ

सञ्जयकुमार मल्ल ।
सबैभन्दा पहिले त मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको यो अवसरमा म मेरो आमा अनि सम्पूर्ण आमाहरुप्रति हार्दिक प्रणाम अनि शुभकामना व्यक्त गर्दछु ।
सन् २०१५ मा मैले आमा औंसीको दिनमा आमाका लागि समर्पण गरेर एउटा कविता लेखेको थिएँ । यो आजको समाजको यथार्थ कविता हो ।
मेरी आमा अनि अरु धेरै आमाहरुले भोगेको समयको कविता हो । कविता सामाजिक सञ्जालमा पोस्ट गरें । पहिलो फोन विनोद बानियाको आयो ।
विनोदले कविता राम्रो भएको प्रतिक्रिया दिए । अनि गीतका रुपमा कम्पोज गर्ने प्रस्ताव गरे । यो गीत बनेर आमाहरुप्रति समर्पित हुन झण्डै ८ वर्ष लाग्यो ।
मलाई लाग्छ कवितालाई विनोदको कम्पोजिसनले सजीव बनाएको छ । ज्यान भरिदिएका छन् ।
आमा शब्दको घनत्व बयान गर्न सकिँदैन । तर आमाको दुख र सन्तानप्रतिको अगाध मायालाई महसुस गर्न सकिन्छ । जसले आमाको दुख बुझेको हुँदैन उसले जीवन चिनेको हुन्न ।
आमा आज पनि सन्तानको खुसीको लागि मेलापात गर्नुहुन्छ , घाँसदाउरा गर्नुहुन्छ , सन्तानको भोक मेटाउन आफ्नो पटुकी कस्नुहुन्छ ।
परिवेश अनुसार यसको स्वरुप फरक होला । परिभाषा फरक होला । तर आमाले त्यही गर्नुहुन्छ जुन कुरामा सन्तानको खुसी लुकेको हुन्छ ।
वैशाख ६ गते बिहीबार आमाको मुख हेर्ने दिन । धेरैले आमाका लागि उपहार जोरजाम पनि गर्दै हुनुहुन्छ होला । कुन उपहार दिँदा आमाको मुहारमा खुसी छाउने छ भन्ने योजना बुन्नु भएको होला ।
कसैले साडी, कसैले चोलो, कसैले मोबाइल, कसैले घडी उपहार किन्नुभएको होला । तर आमालाई अहिले घडीको भन्दा पनि सन्तानले दिने समयको आवश्यकता छ । मोबाइल भन्दा पनि सँगै बसेर गफ गर्ने रहर छ ।
आमालाई खुसी अनि सुख दिने रहरमा सन्तान सहर झर्छन् । परदेश जान्छन् । तर आमाको सुख के हो ? आमाको खुसी के हो सन्तानले कहिल्यै बुझ्न सक्दैन । जीवन एकबारको हो । एकबारको जीवनमा पनि जीवन दिने आमाबुवाको दुःखमा सँगै रहन सकिएन भने त्यो जीवनको के अर्थ रहला र ?
मभित्र यस्तै यस्तै धेरै कुराले बिथोलिरहन्थ्यो । म पनि त सुखको खोजीमा आमालाई छोडेर सहर झरेको मान्छे हुँ भन्ने यहशासले आजपर्यन्त पनि पोलिरहन्छ । सायद मलाई जस्तै अरु थुप्रैलाई यस्तै कुराले बिसञ्चो बनाइरहन्छ होला ।
जति टाढा भए पनि आमाको माया निकै गाढा हुन्छ । त्यही माया अनि सन्तानको पिरलोले आमा रुनुहुन्छ । मैले पनि आमालाई एकपटक रुवाएको छु । देशमा कोभिडको सन्त्रास थियो ।
पुरै लकडाउनको त्यो समय त्रासदीपूर्ण थियो । केही न केही चकचक गरिरहने पर्ने हामीलाई त्यो समय निकै हानिकारक लाग्न थाल्यो । लकडाउनकै बिच विनोद बानियाको निर्देशनमा एउटा सर्टमुभी हामीले बनाएका थियौं—फेम ।
खासमा त्यो चमकधमकको सेलिब्रिटी लाईफ पनि लकडाउनले आक्रान्त छ भन्ने देखाउन खोजेका थियौं । त्यसको मुख्य चरित्र मैले निर्वाह गरेको थिएँ । अनि अन्त्यमा त्यो चरित्रको मृत्यु देखाइएको थियो ।
लकडाउनका कारण माइलो छोरासंग अमेरिकामै रहन परेको मेरो आमाले फोन गरेर रुँदै किन त्यस्तो गरेको भनेर गुनासो गर्नुभएको थियो । मलाई त्यतिबेला महसुस भयो आमालाई सन्तानको कुनै पनि दुख सह्य हुँदैन रहेछ । आमाले सन्तानको यस्तो दुखको कल्पनासमेत गर्न सक्दैन ।
मैले मेरो आमाको दुखलाई नजिकबाट देखेको छु । नजिकबाट बुझेको छु । आमाले मलाई दुखलाई जित्न सिकाउनुभएको छ । त्यसैले सानोतिनो पीरचिन्ता, तनाव, दुखलाई सजिलै नजरअन्दाज गर्न सक्छु ।
आज आमाकै अगाडि यो सबै कर्महरु गरिरहँदा, देखाइरहँदा अत्यन्त खुसी पनि लागिरहेको छ । यसर्थ खुसी लागेको छ । एउटा असल कर्मको इँटा थपिएको विषयमा आमालाई साक्षी राख्न पाएको छु ।
जीवन त यस्तै यस्तै कर्महरुको एउटा दस्तावेज हो । जिन्दगीको खातामा आज फेरि एउटा असल काम जम्मा गरें झैं लागेको छ । किन कि यो आमाको दुखको गीत हो । आमाको सन्तानप्रतिको ममताको उज्यालो हो ।
जीवनको आजसम्मको यात्रामा आमालाई के दिन सकें, खुसी दिन सके कि सकिन भन्ने लागिरहन्थ्यो । सायद तपाईंलाई यस्तै कुराले पिरोलिरहन्छ होला । त्यही गर्नुस्, जुनकुरा आमालाई ठिक लाग्छ । आमाले सन्तानको कहिल्यै पनि कुभलो चिताउँदैन ।
किन कि आमा भनेको आमा हो ।
यो कवितालाई गीत बनाउने योजना बुनिरहँदा हामीसँग धेरै समय थिएन । आमाको मुख हेर्ने दिनकै लागि रिलिज गर्नुपर्ने भन्ने थियो । मैले कविता सिर्जना गरे । विनोद यो गीतको जन्मदाता हो । म यो गीतको पहिलो मुख देखाई कार्यक्रममा यस सिर्जनामा जोडिनुभएका ती सबै सिर्जनशील पात्रहरुप्रति कृतज्ञता प्रकट गर्दछु । र, ती तमाम पात्रहरुको कामलाई हौसला प्रदान गर्न यहाँ आउनुभएका तपाई सम्पूर्णलाई पनि आभार प्रकट गर्न चाहन्छु ।
गीतमा आमाको दुःख बुझ्ने प्रयास गरेका छौं । महसुस गरिदिनुहोला । र अन्त्यमा, म यही मञ्चबाट भन्न चाहन्छु । आमा तपाईंले मलाई यो जीवन दिनुभएको हो । अनि यो मेरो जीवन तपाईंप्रति नै समर्पित रहने छ ।

(पत्रकार मल्लले आमाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा ल्याएको बुधबार ‘आमा भनेकै आमा हुन्…’ शीर्षक गीत सार्वजनिक समारोहमा व्यक्त गरेको विचार)
तपाईको प्रतिक्रिया