….कल्ले किन्दियो ?

मोती भुजेल २०८० वैशाख ७ गते १२:१९

फूलमाया ……..
आम बोलीचालीमा कल्ले किन्दियो भन्नुको तात्पर्य तिमीले सक्दैनौ कल्ले किन्दियो भन्ने हुन्छ । साना भाइबहिनी, बच्चाहरु, जस्को आफ्नै कुनै आमदानी हुँदैन वा गर्न सक्ने भएका पनि हुँदैनन अथवा अर्को पनि अर्थमा तिमीलाई कल्ले माया गरेर नयाँ वस्तु वा खाने कुरा दियो भन्ने बुझिन्छ ।

Advertisement

सकम्बरी म्युजिक भिडियोका शब्दमा एक छिन घोत्लियौं । भिडियोको भिजुअल आँखाबाट हटाइ दिऊँ ।
कानमा झुम्कना तिम्लाई कल्ले किन्दियो
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु, हातमा लाको चुरा
तिम्लाई कल्ले किन्दियो ?’

एकै चोटि प्रश्नमाथि प्रश्नको वर्षा गरेका छन् गायक प्रकाश सपूतले । वस्तुमाथिको प्रश्न गरिरहन्छन् । यही गीत लोकदोहोरी हुन्थ्यो भने

कानको झुम्काना नाकको बुंलाकी माइती दाजैले
पाउको पाउजु हातको चुरा स्वामी राजैले किनिदिएको

यस्तै यस्तै हुन्थ्यो होला ! गीतलाई लिएर एकतर्फीमात्रै बहस गर्ने हो भने झलकमान गन्धर्वको सर्वाधिक रुचाइएको र अहिले पनि सुन्दा आङ सिरिङ हुने गीत ‘आमैले सोध्लिन् नि’ भन्ने एल्बममा एउटा लाहुरेको खबर लाने अर्को लहुरेलाई यो यो भन्दिनु भनेको छ । बाबा, आमा, दाजु, भाइ, भाउजू, दिदी, बहिनी, छोराछोरी संगी अनि जहानले सोध्दा फरक फरकको खबर सुनाउन लागाउने त्यो सिपाही थिएन, सर्जक थियो ।

त्यो बेलासमाजमा भएका घटनालाई टपक्क टिपेर झलकमानले गाएका थिए । ‘भाउजूले सोध्लिन नि खै देवर भन्लिन् ? खसी काट भन्दिए ।’ गीतको एउटा अन्तरामा छ । भाउजूलाई आमासरह मान्ने हाम्रो समाज हो । कुन भाउजू देवर मरेको खबरमा खसी खाटेर भोज गर्न चाहन्छन्, सक्छन् र ?
प्रियाले सोध्लिन नि खै स्वामी भन्लिन्
बाटै फुक्यो भन्दिए ।

Advertisement

जसका लागि भनेर जन्मघर, बाबाआमा छोडेर अन्जानसँग आएकी स्वास्नी मान्छेमाथि यति ठूलो लाञ्छना ? स्वामी खै भनेर सोधेमा ‘बाटो फुक्यो भन्दिनू’ भनेको मतलब पोइला जा भन्न खोजेको भन्ने स्पष्टै छ ।

कुनै पनि स्रस्टा व्यक्ति भए पनि उसले रचना गरेको सिर्जना कहिले सयौंमा मेल खान जान्छ त, कहिले हजारौंमा मेल खान जान्छ । सृजना जन्माउने स्रस्टालाइ गाली गर्ने होइन, सृजनाभित्र आएका पात्र, खल पात्रलाई पनि गाली गर्ने होइन । गाली गर्ने त त्यस्ता पात्र जन्माउने समाजलाई हो । परिवर्तन त्यो समाजलाई गर्ने हो । सकम्बरीमा फूलमाया पात्र हुन् ।

तलको अन्तरामा थोरै असहमति शब्द चयनमा हुन सक्छ । ‘धर्म’ सँग जोड्दै अन्तरामा यस्तो प्रश्न गरिएको छः
जाग्यो रहर पापी सहरको
छैन सिमाना आफ्नै रहरको
लौ धर्मै मास्ने जहर
लौ रंगीन रंगीन रहर
तिम्लाई कसले किन्दियो ?

सहर र पापी दुबै मिलेर बसेका छन् । अटाउन नसकेको त गाउँ हो । प्रकाश सपूतले बडो यथार्थ बकेका छन् । हरेक गाउँलाई सहरतिर आकर्षण गराउने धेरै धेरै रहरले गर्दा गाउँ रित्तो रित्तो हुँदै जानु बिडम्बना हो । रहरपछि रहर थप्ने काम सहरले गराउँछ । रहरको दलदलमा फसेपछि बाहिर निस्कन सकस पर्छ । तर कुनै झार मास्ने बिख बेचे जस्तो धर्मै मास्ने काममा महिला लागेका चाहिँ छैनन् ।

सर्जकलाई गाली गर्ने होइन, सृजनाभित्र आएका पात्र, खलपात्रलाई पनि गाली गर्ने होइन । त्यस्ता पात्र, खलपात्र जन्माउने समाज विश्लेषण गर्दै बदल्ने हो


लौ यौवन मास्ने जहर भन्न सक्थे सर्जकले, यहाँनिर उनी चुकेका छन् । तर फेरि सर्जक सतर्क पनि देखिन्छन जस्तो कि, जोवन साट्यौ कि धनको आशैले, बहकायो कि तिम्लाई कसैले ।’

सहरमा बहकाउनेहरु धेरै छन् । बहकिनु हुँदैन है भन्ने सन्देश पनि दिएका छन् । गीतको अन्तिम अन्तराले जीवन दर्शन बोलेको छ । यो देह केही होइन, यी सब क्षणिक हुन्, जब हामी कुनै गलत काम गर्छाैं, यो आत्माले गाली गर्छ भन्न खोजिएको छ । हामी बाँचिरहेको यो संसार सबै भ्रमित संसार हो । यहाँ कोही पनि अजम्बरी छैन । सकम्बरी, तिमीलाई कसैले गलत व्याख्या गरिदिएको छ ।

रस गालैको सुकी जाने छ
आफ्नै आत्माले थुकी जाने छ
यो बैँस सधै फल्छ
यो जीवन यसै चल्छ
तिमीलाई कल्ले भन्दियो ?

गीत सुनिरहँदा लाग्छ, फूलमायाले लगाएका लुगा, गहनादेखि मोबाइल र घरमा भएको टिभी, भाइबहिनीलाई दिएको उपहार उनी आफैंले किनेको हुन सक्दैन भन्ने भाव व्यक्त भएको छ । गीतका शब्दमा फूलमाया कलाकारितामा लागेकी वा लाग्न चाहेकी युवती हुन भन्ने झल्किँदैन । उनको पारिवारिमा कति दिदीबहिनी भन्, किन सहर पसिन् पनि भनिएको छैन । उनी एक आमयुवतीको रुपमा देखिएकी छन्, जो कोही हुन सक्छिन्, जसले छोटो समयमा जीवनशैली बदलेकी छन् । स्कुटर चढ्ने, राति काम गर्ने युवतीको चरित्रमा गीतले प्रश्न उठाएको छ ।

यद्यपि स्रस्टाले व्यक्ति लक्ष्यित गरेर सृजना गरेको हुँदैन । समाजका कुरीति लक्षित सिर्जना हुन्छन् । जुन समाजमा घटित घटनासँग मेल खान्छ, त्यो लोक सृजना वा लोकगीत बन्छ । प्रकाश सपूतका सृजनामा समाजको यथार्थ देखिन्छ । उनी समाजमा घटेका घटनालाई टपक्क टिपेर आफ्ना सृजनामार्फत हृदय छुने गीत गीत बनाउँछन् । उनको गीतियात्राले यही पुष्टि गरेको छ ।

सकम्बरी अर्थात् संघर्ष
पारिजातको शिरीषको फूलकी पात्र सकम्बरीसँग मेल खाने गरी पात्र चयन गरेका छन् प्रकाश सपूतले । गाउँको मध्यम परिवारमा ४ सन्तानमध्ये जेठी फूलमायालाई उमेरसँगै पारिवारिक जिम्मेवारी बढेपछि तीन बहिनीको पढाइ र बाउले कुटिरहने बिरामी आमाको चिन्ता कम गर्ने लक्ष्यले उनी सहर आएकी छन् ।

अनेकौं रहर र भविष्यको सुनौलो सपना बोकेर सहर झरेकी फूलमाया सहरको कुरुप चित्रमै हराएकी छन् । ठाउँका मान्छे गतिला हुन्नन् भन्ने आमाले सुनेकी छन् । फूलमायाले बाटो बिराउली, राम्रो हेरविचार गर्नू है भन्दै सात, आठ वर्ष ठाउँमा बसेर गाउँ आउजाउ गर्ने गाउँकै दाइको जिम्मा लागाएर पठाएकी छन् ।

राम्रो कलाकार बन्ने, नाम दाम कमाउने सपना बोकेर सहर पसेपछि सपना र अभावको फाइदा उठाउने पाइला पाइलामा दुरुपयोग गर्ने पुरुष पात्रसँग जवानीको सम्झौता गर्दै अघि बढ्छिन् उनी । म्युजिक भिडियो खेल्छिन् नाम, दाम र पैसा कमाउँछिन् ।

प्रकाश सपूतका अघिल्ला गीतिका शब्दमा होइन, भिडियोमा आपत्ति जनाउनेहरु धेरै भएकै कारण पीर एल्बमबाट रिलिज भइसकेपछि माओवादी लडाकूको एक सिन हटाउनु परेको थियो । तर सकम्बरीमा प्रकाश सजग देखिन्छन् । फूलमाया राम्री भएकै कारण, क्षमता भएकै कारण काम पाएकी छन् । हेर्दा कुनै दोहोरी साँझ जस्तै लागे पनि कुन दोहोरी साँझ हो वा अन्य कुनै रेस्टुरेन्ट हो छुट्याउन सकिँदैन ।

अरु बेला पानी खाने तुम्लेट, ट्याक्सीको ढोका होस् वा सपिङ कम्लेक्सको लिफ्टको ढोका, शिवम सिमेन्ट र प्रभुपेको विज्ञापन गर्न नछुटाउनेले यो पटक दाेहोरी रेस्टुरेन्टका लागि बुद्धि पुर्‍याएका छन् । हेल्मेटमात्रै देखाएर रातो स्कुटरको चर्चा राम्रैसँग गरेका छन् । अन्यत्र रातो स्कुटर कहिँ देखिँदैन ।

वेटर फूलमायालाई रेस्टुरेन्टमा आउने धनाढ्य पुरुष पात्रले आफूसँग बोलाउँदा अनुमति दिने मालिक र दाइको पनि दोष छ ।

टिप्ससँगै मोबाइल नम्बर लिएपछि सान्त्वना दिने बहानामा मालिकले फूलमायालाई दुव्र्यवहार गर्छ । सपनाको फाइदा उठाएर सहयोग गरेर सस्तोमा दुव्र्यवहार गर्ने दाइभन्दा अभावको फाइदा उठाउनेसँग महँगोमा दुव्र्यवहारमा पर्दै गइन् फूलमाया ।

छोरीको गर्धनमा नील डाम देखेर थप्पड हान्ने आमा पनि घरको अभाव पूरा गरेकोदेखि छोरीको घाउ सेकताप गरिदिन्छिन् ।

वेटर फूलमायाबाट सकम्बरी बनेपछि पारिजातको शिरीषको फूलकै अर्को पात्र सुयोगवीरसँग सकम्बरीको भेट हुन्छ । म्युजिक भिडियो खेल्छिन् नाम र दाम कमाउँछिन् । हो अलिअलि सकम्बरीमा घमण्ड पलाएकै देखिन्छ ।

धनाढ्य पुरुष पात्रहरुसँग रेस्टुरेन्ट जाने, पैसा उडाउने गरेकी छन् । तर उनमा दया र माया पनि छ । जब आफूसँगै काम गेरेकी दिदी वेटरको बच्चा बिरामी परेर हस्पिटलको बेडमा हुँदा अर्को अभाव खेपिरहेकी आमालाई सहयोग पनि गरेकी छन् ।

गीतका शब्दमा कतै नदेखिएको परिवार गीत सकिएपछि देखिन्छ । श्रीमतीले छोरीछोरी जन्माइन् भनेर अर्की स्वास्नी लिएर हिड्ने श्रीमानहरु समाजमा अहिले पनि छँदै छन् । इज्जत र पाप छोरी मान्छेलाई मात्रै लाग्ने कहाँ लेखेको छ ? यदि पाप लाग्छ र इज्जत जान्छ भने छोरा मान्छेको पनि जान्छ । अभाव र बाध्यतासँगै जिम्मेवारी पूरा गर्न हिडेकी फूलमायालाई सकम्बरी बानाउन बाध्य बनाउने र बाध्यता फाइदा उठाउने जो कोहीलाई पनि पाप लाग्छ ।

बाटो बिराएकोले सायद पाप फूलमाया लाई पनि लाग्छ । राम्रो इन्डिङ यहिनेर थियो । तर जानीजानी प्रकाश सपूतले सकम्बरीलाई जबर्जस्ती राजनीतिमा लान खोजेको दृश्य दर्शकलाई सुन्दर लाग्दैन । हुन सक्छ सकम्बरी २ मा बिग्रँदो राजनीतिमाथि प्रकाश सपूतको सिर्जनाको पूर्वतयारी हो कि ?

मोती भुजेल

भुजेल पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष हुन् 

तपाईको प्रतिक्रिया