आमा औँसी

जिउँदो ईतिहासको अवसान

दुर्गा न्यौपाने २०८० वैशाख ७ गते १७:४२

आमा !
पढ्नै नसकिने महाकाव्य । परिभाषामा नसमेटिने नाता । रगतसँगै जोडिएको साईनो । सन्तानलाई जिताउन आफू हारिदिने अस्तित्व । नचाहेरै पनि रुप, रंग, आनीबानी, रोग लगायत मिसिएको सम्बन्ध । एउटा अंश । अनन्त र अगणित विशाल आयामलाई चिनाउने शब्द । सन्तानलाई बचाउन जे पनि गर्न सक्ने शक्ति केन्द्र । कायरता भगाउने अभयदान । प्रकृतिको सुन्दर परिकल्पना । चाहे जेसुकैको होस् । प्राणी मात्रको लागि अनुपम वरदान । लेखेरै नसकिने ग्रन्थ । अतुलनिय शब्द आमा ।

Advertisement

२०७९ जेठ २७ गते शुक्रबार बिहान १ बजेर पाँच मिनट बजाएको थियो घडिले । प्रलय भयो । समय, काल हो । पढेकै थिएँ, भूत, वर्तमान र भविष्यत । तर त्यो काल थिएन । मृत्यू थियो । एउटा भयानक अवस्था । मेरी आमा, आमा मात्र हुनुहुन्थेन । छहारी हुनुहुन्थ्यो । मेरो घरको छत हुनुहुन्थ्यो । निर्देशक हुनुहुन्थ्यो । वा भनौँ, सबै हुनुहुन्थ्यो । बिरामी हुनुभयो । त्यसो त सुगर, बाथ, मुटु आदि रोगसँग जुधिरहनुभएको थियो । एक मुठ्ठी औषधि खान सजिलो थिएन । मलाई हेर्न पिडा हुन्थ्यो, आमालाई खानै पथ्र्यो ।

दिक्क मान्दै खान्न औषधि भन्नुहुन्थ्यो । मन भारी बनाउँदै रिसाउँथे । सहज थिएन, रोगसँग लड्न । चुनौति थियो । त्यसो त जीवनको अर्को नाम चुनौति पनि हो । अचानक बिरामी पर्नुभयो । मुखका सामान्य बिबिराले खानदिएन । दुखायो । निल्नै भएन । त्यसैले अस्पताल पुर्यायो । चेकअपको लागि जाँदा भर्नै गरे । जेठ २३ गते सोमबार बिहानै मणीपाल अस्पतालमा लगेँ ।

जे कुरा गर्नै नपरे हुन्थ्यो भन्यो, त्यहि गर्न पर्ने । मणीपालबाटै दिपकजीलाई गुमाएँ । झसंग हुन्छु, त्यहाँ छिर्दा । आमा निकै कमजोर देखिनुभयो । जाँदाजाँदै स्लाईन आदिबाट उपचार शुरु भयो । जब जब आमा कमजोर हुनुहुन्थ्यो तब मेरो शक्ति क्षिण हुन्थ्यो । सकिन्थ्यो । मनोबल गिथ्र्यो । आमा अगाडि भए मात्र पनि आफूलाई शक्तिशाली लाग्थ्यो ।

पाँच दिनको बसाईपछि पनि निको हुनु परैको कुरा, बिसको उन्नयाईस पनि भएन । काठमाडौँ लान सुझाए डाक्टरले । मैले पनि ढिलो गरिन । लगेँ । नेपालकै एक मात्र रगत सम्बन्धि डाक्टर विशेष पौडेल । वहाँको ब्लड हस्पिटल छ, सुनेँ । निको हुने आशले दगुराएँ । आमा कमजोर भए पनि काठमाडौँमा प्लेनबाट आफैँ झर्नुभयो ।

Advertisement

राती आकाशमा हेर्ने गर्छु, एउटा चम्किलो तारासँग आँखा जुध्छ, आमाले हेरे जस्तो लाग्छ, ढाढसको अनूभुति हुन्छ ।

काठमाडौँको कुराले आमाको मुहार पनि उज्यालिएको थियो । आश मरेको थिएन । बाँच्ने रहर बाँकी नै थियो । मसँग बिश्वास ज्युँदै थियो । यसैले त रहेछ बचाउने मान्छेलाई । तर अस्पतालमा पुगेपछि आमाको अनुहार हेर्नै नसक्ने गरि बिग्र्यो । कान्छो थिई सँगै । हातखुट्टा लगलग काँँम्न थाले ।

लक्षण गतिलो देखिएन । के के औषधि दिएर आई सि यूमा लगे । एकै छिनमा ठूला छोरी ज्वाईँ आउनुभयो । डाक्टरहरु औषधिको साईड ईफेक्ट भन्थे । बाथको औषधि नर्भिकको सिफारिसमा खाँदै हुनुहुन्थ्यो । Methotrexate नामको औषधिले ह्वात्तै डब्लु बिसी घटाएछ । प्लेटलेट्स उस्तै । त्यसैको लक्षण रहेछ मुखमा बिबिरा । नर्भिकलाई गाली गर्न मन भयो । त्यस्तो अपेक्षा थिएन ।

आमाको अवस्था प्लेनको गतिमा कमजोर भयो । प्रत्येक सेकेण्ड वर्ष बराबरको भयो । डाक्टरले केटो मान्छे खोज्यो । महिला कमजोर हुन्छन् भन्ने मान्यता जहाँ पनि कायमै छ । कान्छोले हामी नै हो भनि । महिला भएर कमजोर भएकी थिईन म । आमाको सवाल थियो । सायद छोरै भएको भए पनि तेस्तै हुँदो हो । मभित्र सुनामी थियो । आमालाई हेर्न जान पनि सकिन । कान्छोले अनवरत शाहस देखाईरहि । सबै गरि । चकमन्न रात । रातको भन्दा बढि अँध्यारो मनको थियो । अझअबिरल झरिले एकतमासको बिरह बोलेको थियो । न कान्छो बोल्न सक्थि न म नै । आमालाई कस्तो छ भन्ने उसकै अनुहारले बताउँथ्यो ।

हिम्मतका साथ भन्दै थिई उसले, ‘आमालाई सजिलो होस्, भोलेनाथसँग यहि प्रार्थना गरौँ । अब भोलिको बारेमा योजना बनाउनुपर्छ । हजुर यसरी कमजोर हुनुभयो भने म झन् के हुन्छुहोला ममी प्लिज ।’ काँपेको स्वरमा सुँक्क सुँक्क गर्दै भनि । सास रोकिए झैँ भयो । निसासिएँ । केहि बोलिन । सुनेँ मात्र । आशा बाँकि रहेन । आकाश चर्किने गरी आमाऽऽऽ भनेर बोलाउन मन थियो । अट्टहास गरेर रुन मन थियो, सकिन ।

राती १ बजे मृत्यूको घोषणा पत्रमा सहि गरि कान्छोले । दियो निभ्यो । झरिले हामीसँगै लय मिलाएको थियो । ढलफलाएकी म, टेको बनि कान्छो । ढल्न दिईन । एउटा जिउँदो ईतिहास ढल्यो । धरहरा ढले झैँ । सारा शून्य भयो । निःशब्द र स्तब्ध यस्तैलाई भन्दा हुन् मान्छेहरु ।

समय निर्मम बन्यो । सानो बिमार भयानक बन्ला लागेको थिएन । सधैँ काठमाडौँले निको बनाउँथ्यो । यसपटक सकेन, औषधिको साइड ईफेक्ट मृत्यूसम्म हुँदोरहेछ । खै कहाँ उजुरी गरुँ ? आई सि यूमा नफर्काउनका लागि पठाएकी थिईन । बृद्ध शरिरभरि सयौँ सुईका कोपाई । कम दर्दनाक थिएन । आहत बनायो । अर्धमुर्छित भएँ । फेरिरहेको सास पनि अड्किदो रछ ।

आँखा चिम्म थिए । डाक्टरले सकिनसकि छाती दबाउँदै थिए । नाकमा अक्सिजनको पाईप थियो । सास फेर्न त्यति गाह्रो भएको पहिलो पटक देखेँ । र जिउँदी आमाको त्यहि अन्तिम दर्शन थियो । गास, बास र कपास मान्छेको आवश्यकता पढेकी थिएँ । तर सास पहिलो रहेछ । थाहा भयो । पोखिराख्यो भने सबै थोक सकिन्छ तर आँसु सकिन्नरछ । आमाको महाप्रस्थान सानो थिएन ।

तर चुपचाप जानुभयो । जीवनका सम्पूर्ण भारी बिसाउनुभयो । केहि बाँकी रहेन । गुनासो गर्नुभएन । दिपकजी(श्रीमान्)ले छोडेर जानुभयो । बाले छोड्नुभयो । तर टुहुरी र एक्लो लागेको थिएन । यसपटक नितान्त एक्लिएँ । दीनहिन भएँ । हुन पनि हो, आमा भईञ्जेल कोहि पनि गरिव र टुहुरो हुन्न ।

एकैछिनमा दिपाका जोडि आईपुग्नुभयो । गर्नुपर्ने सबै गर्नुभयो । सन्तान हुनुको अर्थ बुझ्दै थिएँ । काठमाडौँका आफन्त सबै आउनुभयो । आँसुकै श्रद्धाञ्जली दिँदै चुपचाप भोलेनाथको काखमा छोडेर रित्तै फर्कियौँ । थोरै दुखाईमा पेन किलर खाने आमालाई मेरै हातले आगो लगाएँ । मुटु ढुगाे बनाएर प्रिय चिजलाई डढाएँ । निःशब्द सुत्नुभयो आमा । सबै स्वीकार्नुभयो । मैले अझै सकेकी छैन । मन,आँखा र नशाभरि हुनुहुन्छ । मेरै अगाडि पञ्चतत्वमा विलाउनुभयो । र पनि अझै आशिर्वाद मागिरहीछु ।

भाग्यमानी हुनुहुँदोरछ । कसैलाई दुःख दिनुभएन । एकादशी, शुक्लपक्ष, उत्तरायणको साईतमा भोलेनाथको सानिध्यतामा ब्रम्हलिन हुनुभयो । अभागि त मै थिएँ । पिडा खपिरहेकी छु । यसरी कहिल्यै हारेकी थिईन । यसपटक हारेँ । छोराले झैँ सबै गरे पनि किरीया गर्न पाईन । छोरी नै सावित गरायो समाजले । जानेको सबै गरेँ, मुक्तिको उपाय ।

अब बाँकी सम्झना मात्र छ । जता जान्छु, आमा सँगै हुनुहुन्छ मसँग । न धर्ति बदल्न सक्छु, न आकाश चिथोर्न सक्छु । न गीत बज्न नदिन सक्छु न त जुन र घाम फेर्न नै सक्छु । हरिबंश आचार्यजीले मीराको कपाल समालेँ भन्दा हो र ! लाग्याथ्यो । हुँदोरछ मैले पनि धेरै दिनसम्म आमाको कपाल समालेँ । छामेँ । चलाएँ । सँगै द्रविभूत भईनै रहेँ । ओमशान्तिकी अमृत दिदीले सम्झाउनुभयो । सम्झे जस्तो लाग्यो । आँसुले आमाको बाटो छेक्छ । अगाडिको बाटो अवरुद्ध हुन्छ । यस्ता कैँयौ दृष्टान्तले मन बाँधेँ ।

सधैँ बिहान झ्यालको खापाबाट एउटी भँगेरीले चियाउँछे, लाग्छ, आमाको रुप हो । खाना दिन्छु । हुलसँगै लिएर आउँछे भँगेरीले र खुशी हुँदै खाईदिन्छे । रमाईलो लाग्छ । तुष्टि मिल्छ । राती आकाशमा हेर्ने गर्छु, एउटा चम्किलो तारासँग आँखा जुध्छ । आमाले हेरे जस्तो लाग्छ । ढाढसको अनूभुति हुन्छ । आमालाई न लेख्न सक्छु न त व्याख्या गर्न नै । यो सिर्फ दुष्प्रयास हो । एउटा जिउँदो ईतिहासको अवशान भयो, जुन मभित्र विशाल प्रतिमा बनेर उभिएको छ ।

तपाईको प्रतिक्रिया