‘सहिद र घाइतेका परिवारका समस्या सुल्झाउँछौं’

समाधान संवाददाता २०८० वैशाख ७ गते १७:४६

पोखरा ।
नेकपा (एमाले)को मिसन ग्रासरुट अभियान अन्तर्गत पार्टीको पोखरा महानगर कमिटीले बिहीबार कास्कीका सहिद परिवार, जनआन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरुको अवस्था बुझेको छ ।

Advertisement

पार्टीका सामाजिक सेवा विभागले आयोजना गरेको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटी सहइन्चार्ज मायानाथ अधिकारीले सहिद परिवार तथा जनआन्दोलनका घाइते एवं अपांगता भएका व्यक्तिले उठाएका सवाललाई पार्टीले राज्यका निकायलाई ध्यानाकर्षण गरेर सम्बोधन गर्ने बताए ।

‘पार्टीमा सक्रियतापूर्वक लागेर वीरगति प्राप्त गरेका तथा घाइतेको आशा र अपेक्षालाई सम्बोधन गर्नु पार्टीको दायित्व हो,’ उनले भने, ‘सहिद परिवार, घाइते तथा अपांगता भएका व्यक्तिको समस्या सबै जिल्लामा एकै प्रकृतिको छ । ती सबै समस्या पार्टीले आवाज उठाएर राज्यमार्फत समाधान गर्ने छ ।’ उनले ती सबै सवाल व्यक्ति स्वयं र पाटीैको मात्र नभएर सिंगो राष्ट्रको सवाल भएको दाबी गरे ।

कार्यक्रममा पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले विधि र पद्धतिको विकास गरेर सहिद परिवार, घाइते तथा अपांगता भएका व्यक्तिको सवाललाई दीर्घकालीन रुपमा समाधान गर्नु पर्ने बताए । उनले पोखरा महानगर कमिटी भित्रका सबै पार्टी सदस्यलाई सामूहिक र संस्थागत रुपमा चलाउनको लागि कमिटीले बहुउद्देश्यीय सरकारी संस्था सञ्चालन गर्ने योजनाअघि सारेको जानकारी दिए ।

हरेक पार्टी सदस्यबाट एकमुष्ठ रुपमा ३ हजार ५ सय रुपैयाँ लिएर सहकारीमा राख्ने नियमित बचत तथा कारोबारका अलवा मुनाफाबाट पार्टी सदस्यक लागि घातक उपचार खोष खडा गर्ने योजना सुनाउँदै उनले सहिद परिवारको शिक्षा तथा स्वास्थको कार्यक्रम समेत जोड्ने जनाए ।

Advertisement

कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका सहिद भीमसेन दाहालकी श्रीमती सविता दाहालले सहिदको मूल्यांकन एक मिनेट मौन धारण गरेर नहुने प्रतिक्रिया दिइन् । उनले सहिद परिवारको शिक्षा, स्वास्थ्यको दायित्व राज्यको भएकाले पार्टी सरकारमा रहे पनि, नरहे पनि आवाज उठाउन पर्ने सुझाव दिइन् ।

कार्यक्रममा २०४७ साल वैशाख १७ गते सहादत प्राप्त गरेका सहिद झपेन्द्र कार्कीका छोरा दीपक कार्कीले पार्टीको पहल नपुगेको कारण राजनीतिक योगदान पुर्‍याएर शहादत प्राप्त व्यक्ति सहिद घोषणा हुन नसकेको उल्लेख गरे । कार्यक्रममा जन आन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्की सचिव विजया सुवेदी, राष्ट्रिय अपांग संगठन नेपालका केन्द्रीय सदस्य लोचना अधिकारी, कास्कीका अध्यक्ष गंगाबहादुर खड्का, पार्टीका पोखरा महानगर कमिटी सचिव जीवन आचार्य र सामाजिक सेवा विभागका प्रमुख अञ्जु केसीले सहिद परिवार, घाइते तथा अपांगता भएका व्यक्तिको पहिचान र योगदानका बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया