पानी आएन, बिल भने १ लाख !

रिखिराम जिसी २०८० वैशाख ८ गते १०:३९

रिखिराम जिसी, पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का भीमबहादुर गुरुङको घरमा चैत महिनाको पानीको बिल १ लाख ६० रुपैयाँ आयो ।

चैतको आधा समय नै पानी राम्रोसँग प्रयोग गर्न नपाएको गुरुङको घरमा पानीको बिल जब १ लाख ६० रुपैयाँ आयो, उनी झस्किए ।

पहिलेका महिनामा १ हजार नकट्ने बिल अहिले कसरी १ लाख रुपैयाँभन्दा बढी आयो, उनले पत्तै पाएनन् । उनी भन्छन्, ‘चैतमा आधा महिना त पानी नै आएन, तर, पानीको बिल भने १ लाख ६० रुपैयाँ आयो ।’ त्यसपछि उनी नेपाल खानेपानी संस्थान पोखरा शाखामा पुगे । संस्थान पुगेपछि भने उनले ५ सय ८६ रुपैयाँमात्रै तिर्नुपर्‍यो । त्रुटि भएको भन्दै संस्थानले ५ सय ८६ रुपैयाँमात्रै लियो ।

Advertisement

गुरुङ गत २ हप्तादेखि पानीको सुविधाबाट बञ्चित छन् । उनले करिब २ हप्तादेखि किनेर पानी प्रयोग गरिरहेको बताउँछन् ।

उनी भन्छन्, ‘पहिलेपहिले त पानी आउँथ्यो, २ हप्ताभन्दा धेरै भो पानी नै आएको छैन, किनेर खाइरहेका छौं ।’ उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् ।

Advertisement

अहिले पोखराका अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ । खानेपानी संस्थान पोखरा शाखामा दिनहुँ सयौंको संख्यामा खानेपानीको गुनासो आउने गरेको छ । यसो त खानेपानी संस्थानको पोखरा शाखाले समेत पोखरामा खानेपानी समस्या रहेको स्वीकार गरिसकेको छ ।

त्रुटिबस खानेपानीको बिल १ लाख ६० रुपैयाँ आएकोमा सच्च्याएर संस्थानले ५८६मात्रै लिएको छ

बिहीबार खानेपानी संस्थान पोखरा शाखामा पुग्दा शाखाका सबइन्जिनियर लक्ष्मण पाण्डेलाई सेवाग्राहीले फोनमार्फत खानेपानीको समस्या सुनाइरहेका थिए । उनले दिनहुँजस्तो नै सेवाग्राहीको गुनासो आइराख्ने जानकारी दिए ।

नेपाल खानेपानी संस्थान पोखरा शाखाले सूचना जारी गर्दै लामो खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमी आई पोखरा नगरभित्रका कतिपय स्थानमा पानी वितरणमा समस्या आएको जनाएको छ । हाल उत्पादन भइरहेको पानीलाई सञ्चालन नभएका क्षेत्रमा आलोपालो गरी वितरणका लागि संस्थान प्रयासरत रहेकोसमेत शाखाले उल्लेख गरेको छ ।

‘ग्राहकवर्गबाट आफूलाई जस्तै पानीको महत्व अरुलाई पनि छ भन्ने महसुस गरी अनावश्यक रुपमा धारा खुल्ला नराखीदिन हुन, मोटर प्रयोग नगरिदिन हुन र पानीको सही सदुपयोग गरिदिन हुन साथै पानी वितरणका लागि खटिने कर्मचारीहरुलाई आवश्यक सहयोग गरी पानी वितरणमा समेत सहयोग गरिदिन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

पोखरामा पानीको अभाव छ भनेर २४ सै घन्टा धारा खुला गर्नेहरुलाई त्यस्तो गर्न सचेतना होस् भनेर सूचना जारी गरिएको पोखरा शाखाका इन्जिनियर लक्ष्मण पाण्डेले बताए । ‘पोखरामा माथिल्लो भेगमा धेरै पानी आउने, ती भेगका कुनैकुनै मानिसहरुले हामी जाँदाखेरि काउली बारीतिर हालेका, विभिन्न खेतीपाती गरेका, तरकारीमा हालेको देखिएकाले यी व्यक्तिहरुलाई पोखरामा पानी हाहाकार छ भन्ने जानकारी होस् भनेर सूचना जारी गरेका हौं,’ उनले भने ।

सुख्खा मौसममा खोलामा पानीको सतह घट्दा पोखरामा पानीको समस्या परेको इन्जिनियर पाण्डेले जनाए । ‘सुख्खा मौसम सुरु भयो, मर्दी खोलाको पानी चाहिँ त्यति घटेको होइन । भोटीखोला, कालीमुढामा पानीको सतह घटेको छ ।

बर्खायाममा आउने भन्दा ८० प्रतिशत पानी घट्छ,’ उनले भने, ‘त्यही कारणले गर्दा खेरि यो मौसममा पानीको समस्या भएको हो । २० प्रतिशत भोटीखोला, कालीमुढा, बालधारा नै हो, ८० प्रतिशत मर्दी खोला नै हो ।’

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया