तनहुँ १ उपनिर्वाचन
मतदान केन्द्र पुगे कर्मचारी

पोखरा ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा खटिएका कर्मचारी मतदान केन्द्रतर्फ गएका छन् । बिहीबार बिहानैदेखि निर्वाचन सामग्री बुझेर उनी मतदान केन्द्र प्रस्थान गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा आवश्यक पर्ने सबै सामग्री बुझाउन सुरु गरेको छ । कार्यालयबाट आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझाउन थालिएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए । बिहीबार साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको उनको भनाइ छ ।
प्रत्येक मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लगिएको हो । केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायत काम हुने छन् । उपनिर्वाचनका लागि ७ सय ६० कर्मचारी परिचालन गरिएको छ ।
तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्छन् ।
सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । जहाँ २१ मतदानस्थल र ५० मतदान केन्द्र कायम गरिएको छ । कम मतदाता देवघाट गाउँपालिकामा छन् । देवघाटका पाँच वडामा १२ हजार ७ सय १२ मतदाताका लागि ८ मतदानस्थल र १५ मतदान केन्द्र छन् ।
आँबुखैरेनी गाउँपालिकाका ६ वडामा १३ हजार ६ सय २२ मतदाता छन् । आँबुखैरेनीमा ९ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका ६ वडामा १५ हजार ६ सय ७८ मतदाताका लागि ११ मतदानस्थल र २२ मतदान केन्द्र तोकिएको छ । व्यास नगरपालिकाका ५ र ६ बाहेकका १२ वडामा ४० हजार ४ सय ४९ मतदाताका लागि २० मतदानस्थल र ४८ मतदान केन्द्र कायम भएका छन् ।
प्रचार अवधि पूरा
उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार अवधि सकिएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू भएको हो ।
उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।
वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दएि । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोले सम्बन्धित सबैमा स्मरण गराएको छ ।
निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन आयोगले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया