सम्पादकीयः पर्यटन प्रवद्र्धनका लागि पहल

समाधान संवाददाता २०८० वैशाख ८ गते १२:००

कोभिड १९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले प्रभावित पर्यटन क्षेत्र लयमा फर्कन सकेको छैन । पर्यटन क्षेत्रलाई उकास्न गण्डकी प्रदेश सरकार तथा निजीक्षत्रबाट वेला वखत प्रवद्र्धनात्मक अभियानहरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन एवं पर्यटकीय गतिविधिलाई बढाउन मेला महोत्सव भएका छन् ।

Advertisement

पोखरालाई केन्द्र विन्दुमा राखेर गण्डकी प्रदेश भन्दा वाहिर नेपालका अन्यत्र प्रदेश तथा भारतका प्रमुख सहरमा पर्यटन प्रवद्र्धनात्मक अभियान हुँदै आएको छ । नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुर लगायतका सहरमा ʿपोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रममा पछिल्लो पटक गरिएको छ ।

विगतमा सशस्त्र द्वन्द्वको अवधिमा समेत पर्यटन क्षेत्रमा नकारात्मक असर परेको थियो । त्यतिवेला पर्यटन व्यवसायीले आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान गरेका थिए । कोरोनाको कारण थला परेको पर्यटनलाई पुनर्जीवन दिन ‘जाऔं है पोखरा’ अभियान समेत गरिएका थिए । गण्डकी प्रदेश सरकारको तर्फबाट समेत देशका अन्यप्रदेशमा पुगेर पर्यटन प्रवद्र्धनका लागि गतिविधि समेत गरिएको थियो । सरकारी टोली तथा पर्यटन व्यवसायी बीच पर्यटनलाई केन्द्रमा राखेर अनुभव आदान प्रदानका कार्यक्रम गरिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले सन् २०२३ जनवरी १ (पुस १७)देखि व्यवसायिक हिसाबले सञ्चालन गरेको छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसके पनि जिल्ला तथा अन्तर प्रदेशबीच भएको हवाई सेवा विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारको पहलमा पोखराबाट लुम्बिनी प्रदेशको भैरहवा र नेपालगञ्ज, वागमती प्रदेशको भरतपुर, कोशी प्रदेशको विराटनगर र भद्रपुर, मदेश प्रदेशको सिमारासम्म हवाई सम्पर्क कायम कायम गरिएको छ । भारतको सिमा क्षेत्रका तराईका महत्वपूर्ण शहरी क्षेत्रमा हवाई सम्पर्क कायम गर्नेदेखि पर्यटन प्रवद्र्धनका काम गर्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

पोखराबाट देशबाहिर उडान आरम्भ नभएपछि पयर्टन व्यवसायीले अन्तर्राष्ट्रिय उडान थाल्न नेपाल सरकारको ध्यानाकर्षण गराउनेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भारत र चीन सरकार समक्ष तत्काल यसका लागि कूटनीतिक पहल थाल्न दबाव दिने काम समेत भएको छ ।

Advertisement

पोखरा गण्डकी प्रदेशको राजधानी र पर्यटनको केन्द्र हो । पोखरालाई केन्द्रमा राखेर आन्तरिक रुपमा पर्यटकीय गतिविधि भएका छन् । गण्डकी प्रदेश सरकार तथा पोखरा महानरपालिकाले पोखरालाई प्रदेशको राजधानी घोषणाको लागि संघीय सरकारलाई सिफारिस गरेको भएतापनि कार्यान्वयन हुन सकेको छैन । सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्नको लागि योजनाबद्ध ढंगले काम गर्नु पर्छ । सरकारी निकाय, पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्यमा मात्र पर्यटनको प्रवद्र्धन तथा विकास गर्न सकिने भएकोले त्यसतर्फ केन्द्रीत बन्नु पर्छ ।

तपाईको प्रतिक्रिया