कानुन मन्त्रीलाई किशोरीको १७ बुँदे ध्यानाकर्षण

समाधान संवाददाता २०८० वैशाख ८ गते १२:२९

पोखरा ।
गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीसँग गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहाको बुधबार संवाद भएको छ ।

Advertisement

मन्त्री गाहाले कानुन बनाएर मात्र बाल अधिकार र सहभागिताको सुनिश्चितता नहुने भएकाले कार्यान्वयन पक्षमा समेत लाग्नुपर्ने धारणा राखे । आज बालबालिकामा गरिने लगानीले भविष्यको सुन्दर देश बनाउन सहयोग गर्ने भएकाले त्यसमा प्रदेश सरकार लाग्ने प्रतिबद्धता जनाए ।

नवलपुरको जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्यान्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ४० जना किशोरीहरुले आफूहरुले काम गर्दा आएका विभिन्न विषयलाई प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री गाहाले समाज परिवर्तनका लागि सचेत प्रयत्नलाई जारी राख्न किशोरीहरुलाई अनुरोध गरे ।

किशोरीहरुले कार्यक्रममा मन्त्री गाहालाई १७ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाका लागि आवश्यक पर्ने सुरक्षा, पोषण, शिक्षा, सहभागिता, स्वास्थ्य, साइबार अपराध लगायतका विषयहरुको बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता शशि क्षेत्रीले बताइन् । किशोरीहरुले आफ्ना विभिन्न माग रहेको ध्यानाकर्षण पत्र यस अघि मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङलाई पनि हस्तान्तरण गरिसकेका छन् ।

पत्रमा बालकालिकामा लगानी सुनिश्चितता, विद्यालयमा स्वास्थ्यकर्मी तथा मनोविमर्शकर्ताको व्यवस्था, किशोरीमैत्री पूर्वाधार निर्माण, मन्त्रालयका हरेक संयन्त्रमा किशोरीहरुको उपसमितिको व्यवस्था, न्यायमा पहुँच, अनलाइन जोखिम नियन्त्रण, सुरक्षा, बालमैत्री, युवामैत्री, पोषणमैत्री तथा किशोरीमैत्री शासन, व्यवहारिक तथा नैतिक शिक्षा, गुणस्तरिय सेनिटरी प्याड, बालविवाह नियन्त्रण, जन्मदर्ता, बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अभियान जस्ता विषय समावेश गरिएको किशोरी अभियन्ता प्रकृति अर्यालले जनाइन् ।

Advertisement

कार्यक्रमका सहभागी किशोरीले पाँच वर्षभन्दा मुनिका बालबालिकालाई यो प्रदेशमा पनि बाल पोषण भत्ता सुनिश्चत गरिनुपर्ने, विद्यालय खाजा कार्यक्रमको बजेट र गुणस्तर वृद्धिसहित माध्यामिक तहसम्मै यसलाई बिस्तार गरिनुपर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मनमाया भट्टराई पंगेनीले बालिकाको भ्रूणहत्या र साइबर अपराध अहिले हिंसाको नयाँ रुपका रुपका विकास भएकोमा चिन्ता व्यक्त गरिन् । सचिव पंगेनीले सपना देख्नु र त्यसमा निरन्तर मेहेनत गरेर लाग्नु नै सफलताको बाटो भएको जनाइन् ।

गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले नागरिक समाजलाई राज्यले प्रतिस्पर्धीको रुपमा हेर्न नहुने जनाए । किशोर उमेरदेखि नै उद्यमशिलतातर्फ आकर्षित गराउन अभियान चलाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा किशोरी अभियन्ताहरु सवनम सुनार र मान्सु न्यौपानेले कार्यक्रममा किशोरीका सबाललाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिलोत्तम पौडेल र सभापतित्व किशोरी अभियान्ता प्रतीक्षा विकले गरेका थिए ।

तपाईको प्रतिक्रिया