सम्पादकीय: विजयपुरको वैकल्पिक पुल

समाधान संवाददाता २०८० वैशाख १० गते १२:००

पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रन र बाहिरिन विजयपुर खोलामाथिको पुल नतरी धर हुँदैन । व्यस्त महानगरपालिकाको मध्यमागको खोलामाथि दुई भाग जोड्न मात्रै एउटाको पुलको भर पर्दा पृथ्वीराजमार्गमा अचाक्ली जाम हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ अर्थात पुस १७ गते राजमार्गको जाम सर्वाधिक ठूलो थियो ।

Advertisement

त्यो दिन किन स्मरणीय छ भने अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यात्रुको चाप पोखराको पूर्वीभागमा पर्ने हुँदा त्यसै अनुसार वैकल्पिक व्यवस्था हुनुपर्ने आवाज पहिल्यैदेखि उठेको हो । नयाँ विमानस्थल सञ्चालनमा आइसके पनि ट्राफिक व्यवस्थापनको काममा सिन्को भाँचिएको भने छैन । झन् विजयपुर पुलमाथि दिनहुँ जाम बढ्दो छ ।

विजयपुरखोलामाथि अहिले भइरहेको पुलभन्दा १ किलोमिटर दक्षिण डहरेसाँघु भन्ने ठाउँमा अर्काे पुल तयार छ । तर पुलबाट गाडी आउजाग गर्न पाएका छैनन् । कारण के भने पुलको पश्चिमपट्टिको भागमा सडकै छैन । सडक भन्नु भीरजस्तै छ, जसोतसो मोटरसाइकल उक्लन प्रयास गर्छन् तर चारपांग्रे गुड्न सक्दैनन् । नालीसहितको पक्की सडक नबनाएसम्म त्यहाँ सवारी साधन गुडाउन सम्भव छैन ।

गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७७ सालमा शिलान्यास गरेपछि डेढ वर्षमै झन्डै २ करोड रुपैयाँमा पुल तयार भयो । तर, आजसम्म पनि त्यहाँबाट गाडी चल्न नपाउनु भनेको हाम्रो विकासे योजनाको कार्यान्वयनको हविगत र हालत तन्नम छ भन्ने नै हो । सडक नभएको ठाउँमा पुल बनाएको जस्तो हालत भएको छ, त्यहाँ ।

अर्काे कुरा योजना बनाउँदा नै सडकलाई पनि समेट्नुपर्ने थियो । पुल र सडक सँगसँगै बनेको भए त्यहाँबाट पनि गाडी ओहोरदोहोर गर्ने मौका हुन्थ्यो । पृथ्वी राजमार्गको मुख्यपुलमाथि जाम हुँदा बुढीबजारबाट भित्र छिरी चाउथे निस्कने गर्न लेखनाथतिरबाट आउनेहरुलाई सजिलो हुन्थ्यो । वा छिनेडाँडा हुँदै पुरानो पोखराका अरु ठाउँ पुग्न सकिन्थ्यो । त्यसै गरी पश्चिमबाट पूर्व जानेहरु पनि बुढीबजार निस्कन डहरेसाँघुको पुल प्रयोग गर्न सक्थे ।

Advertisement

प्रदेश सरकारले कम्तीमा पुल हाल्यो । ऊ धन्यवादको पात्र हो । सडक पनि उसले बनाएको भए सुनमा सुगन्ध हुन्थ्यो ।

महानगरपालिकाभित्रको भित्री सडकमध्येमा पनि पर्ने हुँदा उसले सडक निर्माण गर्नु पनि उचितै हुन्छ । महानगरपालिकाको दायित्व पनि हो पोखराको ट्राफिक व्यवस्थापन । तसर्थ मूल राजमार्गबाहेकका सडकमा उसले बजेट खर्च गरी आफ्ना नागरिकको दैनिक जीवनलाई सहज बनाउन योगदान गर्नुपर्छ । लेखनाथबासीले त अहिले आवाज उठाएका छन्, वैकल्पिक पुल प्रयोगमा ल्याउन । पुरानो पोखरापट्टिबाट पनि दबाब पुर्‍याउन सके सम्बन्धित निकायहरु तात्न सक्छन् । त्यसो त ती निकायहरु आफै तात्नु पनि पर्ने हो ।

तपाईको प्रतिक्रिया