पुरुषमा हुने निसन्तानपन

निसन्तानपन समस्या हो, कुनै रोग होइन । यो पुरुष र महिला दुबै वा कुनै एकमा हुन सक्छ । यौन सुख र सन्तान प्राप्तिले मानव जीवनमा ठूलो भूमिका राख्छ । कुनै पनि दम्पतीमा आफूले चाहे अनुसार सन्तान प्राप्तिका लागि दुबैमा यौन क्षमता हुनु आवश्यक हुन्छ । निसन्तानपन समग्रमा ठूलो समस्याका रुपमा आएको छ । सबै आफ्ना दाजुभाइ, साथीभाइका घरमा बाल, बच्चा रोएको, कराएको, खेलेको देखेको छ तर आफ्नो कोख र आगन शून्य हुँदा मान्छेलाई विरक्त लाग्छ ।
परिवार र समाजले पनि अर्कै नजरले हेर्ने गर्दछन् । आफनो वंश धान्नका लागि एउटा सन्तान छोरा वा छोरी प्राप्त गर्न खोज्नु स्वभाविक नै हो । १५ देखि ४५ वर्षसम्म का दम्पत्तीले सन्तान प्राप्ति गर्ने अभिलाषा राखी कुनै पनि परिवार नियोजनका अस्थायी साधन प्रयोग नगरी कम्तीमा १ वर्षसम्म यौन सम्पर्क राख्दा पनि सन्तान प्राप्त गर्न सकेनन् भने उनीहरुलाई निःसन्तान दम्पती भनिन्छ ।
निसन्तानपन एउटा समस्या हो, यो कुनै रोग होइन । यो पुरुष र महिला दुबै वा कुनै एकमा हुन सक्छ । यसको कारण पतिपत्नीको स्वास्थ्य परीक्षण र अत्याधुनिक प्रविधिबाट रगतका साथै भिडियो एक्सरेको जाँचहरुबाट पनि पत्ता लाग्छ । सन्तान नभएकै कारणले पीडितलाई बारम्बार तनाव भई राख्ने र दीर्घकालीन मानसिक रोगले ग्रसित भएको पनि पाइन्छ ।
अझै पनि समाजमा निसन्तानपन हुने कारणमा महिलालाई नै दोष दिने चलन छ । जसका कारण वहुविवाहसमेत गरेको पाइन्छ । अन्धविश्वास, पुरानै परम्परा र विश्वासलाई निरन्तरता दिने र सन्तान प्राप्तिको लागि पुरुष सधैं सक्षम हुन्छन् भन्ने मान्यताले गर्दा महिला योग्य हुँदाहुँदै पनि सौता व्यहोरेको हामी आजकल पनि देख्न र सुन्न सक्छौं । पहिले भन्दा अहिले पुरुष र परिवारले केही बुझ्ने भएकाले निसन्तान हुनुका कारण पहिचान र उपचार गर्न केही सहज भएकोे छ । निसन्तानपन हुनुमा ४० प्रतिशत पुरुषको कमजोरी देखिन्छ । पुरुषमा देखिने कमजोरीहरुको यहाँ चर्चा गरिन्छ ।
१) स्वस्थकर शुक्रकीट उत्पादन नहुनु: महिला गर्भवती हुनका लागि पुरुषमा भएको शुक्रकिट, जुन अण्डाशयबाट मात्र उत्पादन हुन्छ, जसका लागि अण्डकोष स्वस्थ हुनुपर्दछ । शुक्रकिट उत्पादन गर्न सहयोग गर्ने हर्मोन जस्ता रसायन पदार्थ (टेस्टोस्टेरोन) को पनि प्रशस्त मात्रामा उपलब्ध हुनु पर्दछ । अण्डकोष अस्वस्थ हुने र टेस्टोस्टेरोन जस्ता हर्मोनको कमी भएमा स्वस्थ शुक्रकीट उत्पादन नहुनाले निसन्तानपन हुन सक्छ ।
२. बनेको शुक्रकीट बिर्यमा मिसिनुः अण्डकोषको सेमिनिफेरस भन्ने नलीमा बनेर बिर्य इपिडिडाइमिसमा स्टोर भएर बस्छ ।
बनेको शुक्रकिट भासडिफरेन्स (शुक्रकिट बग्ने नली) मार्फत सेमिनल भेसिकल भन्ने थैलीमा बिर्यमा मिलन भई लिङमार्फत् स्खलन भई बाहिर निस्कन्छ । यदि शुक्रबाहिनी नली हाइड्रोसिल, हर्निया वा एपेन्डिक्सको सल्यक्रिया गर्दा अचानक चोटपटक लागेमा बनेको शुक्रकिट बिर्यमा मिसिन नपाए पनि सन्तान नहुन सक्छ ।
३ः शुक्रकिटको मात्रा पर्याप्त नहुनुः बिर्य परीक्षण गर्दा शुक्रकिटको मात्रा कम्तीमा पनि प्रति मिलिलिटरमा १५ मिलियन अथवा प्रति स्खलनमा ३९ मिलियन हुनु पर्दछ । कसै कसैको त कत्ति पनि शुक्रकिट नदेखिन सक्छ, जसलाई प्राविधिक भाषामा एजोस्पर्मिया भनिन्छ । यहाँ उल्लिखित मात्रामा कमी आएको अवस्थालाई शुक्रकिटको कमी वा ओगिगो स्पर्मीया भनिन्छ ।
यस्तो अवस्थामा औषधीको प्रयोगबाट सुधार गर्न सकिन्छ तर उत्पादनै गर्न नसक्ने खालको छ भने औषधीको प्रयोगबाट पनि शुक्रकिट बन्न सक्दैन । तर शुक्रकीट बनेको छ, आउने बाटो बन्द छ भने शल्यक्रिया गरेर बाटो खुलाई दिएपछि गर्भ रहन सक्छ ।
४. शुक्रकिटको सक्रियताः अण्डकोषमा बनेको शुक्रकिटको मात्रा पर्याप्त हुनुका साथै सक्रिय रुपमा चलेको हुनुपर्दछ । कम्तीमा पनि ४० प्रतिशत शुक्रकीट चल्ने खालको र ३२ प्रतिशत अगाडि बढने खालको सक्रिय हुनु पर्दछ । यदि शुक्रकिटको सक्रियतामा कमी आएमा औषधीको प्रयोगबाट सक्रिय बनाउन सकिन्छ ।
५. अरु मेडिकल कारण
क) अण्डकोषमा हुने रगतनलीहरु फुल्नुः जसलाई भेरिकोसिल पनि भनिन्छ । यसले शुक्रकिटको गुणात्मक शक्तिमा कमी आउँछ । शुक्रकिट कमी अथवा नहुन पनि सक्छ । यस्तो अवस्थामा शल्यक्रिया गरी समस्या ठीक गर्न सकिन्छ ।
ख) अण्डकोषको संक्रमणः शुक्रकिट उत्पादन हुने अंग अण्डकोषको संक्रमणले गर्दा पनि शुक्रकिट उत्पादन हुन सक्दैन र निसन्तानपन देखिन्छ ।
ग) कहिलेकाँही शुक्रकिट लिंगको टुप्पोमा आउनुपर्नेमा पिसाब थैलीमा गईदिन्छ । यस्तो अवस्था जस्तै मधुमेह, ढाढको चोटपटक, मूत्रथैलीमा चोटपटक, प्रोस्टेटको संक्रमण, पिसाब थैलीको शल्यक्रिया र टयुमरहरुमा देखिन्छ ।
घ) एन्टिजन एन्टिबोडी प्रक्रियाले पनि शुक्रकीटलाई मार्न सक्छ ।
ङ) प्रजनन प्रणालीमा हुन सक्ने क्यान्सर रोगले पनि शुक्रकीट उत्पादन, गुणात्मकताका साथै सक्रियतामा पनि असर गर्दछ ।
च) शुक्रकीट अण्डकोष कोखामा बनिसकेपछि तल झरेर अण्डकोषमा आएर बस्नुपर्नेमा माथिको माथि नै रहिदिनसक्छ । यस्तो भएमा पनि शुक्रकीटको गुणात्मक शक्ति कमजोर हुन्छ ।
छ) हर्मोनको लेबलमा खराबी आउनेः शुक्रकीट उत्पादान र गुणात्मक शक्तिमा प्रजनन प्रणालीमा आवद्ध हर्मोनको लेबलमा तलमाथि भएमा पनि फरक पर्न सक्छ ।
ज) शुक्रकीट बग्ने नलीमा संक्रमण, टयुमर र चोटपटक लागेमा पनि शुक्रकीट बनेपछि पनि लिंगको टुप्पोसम्म आउन पाउँदैन ।
ञ) यौनक्रीडामा देखिने समस्यः यौनक्रिया जहिले पनि मानसिक र शारीरिक तन्दुरुस्तीमा भर पर्दछ । लिंग ठाडो हुन नसक्ने, समयभन्दा पहिले नै स्खलन हुने, पीडादायी यौन सम्पर्क हुने आदि समस्या आएमा पनि पुरुषमा निसन्तानपन देखिन्छ ।
ट) औषधीको प्रयोगः जस्तै लामो समयसम्म स्टेरोइड र क्यान्सरमा प्रयोग हुने औषधीहरुको सेवनले पनि शुक्रकीट उत्पादनमा नकारात्मक असर गर्न सक्छ ।
ठ) कहिलेकाँही एपेन्डिक्स, हर्निया, हाइड्रोसिल आदिको शल्यक्रिया गर्दा शुक्रकीट बग्ने नलीमा चोटपटक लागेर नली बन्द हुन गई शुक्रकीट लिंगको टुप्पोसम्म आउन पाउँदैन ।
वातावरणीय कारण
क) औद्योगिक क्षेत्रबाट निस्कने रासायनिक पदार्थले गर्दा शुक्रकीटको सख्ंयामा कमी हुन सक्छ ।
ख) एक्सरे वा रडियसनमा लामो समयसम्म देखिएमा शुक्रकीट उत्पादनमा कमी आउँछ ।
ग) सामान्यतया शरीरको तापक्रमभन्दा अण्डाशयको तापक्रम १ डिग्री सेल्सीयसले कम हुनु पर्दछ । अण्डाशयको तापक्रममा वृद्धि हुने अवस्था जस्तै तातो पानीले नुहाउने, सउना बाथ लिने गर्दा शुक्रकिट उत्पादनमा असर गर्दछ ।
लामो समयसम्म बसिरहने, कस्सिने खालको कट्टु वा लुगा लगाउने, लामो समयसम्म ल्यापटप वा कम्प्युटरमा बसिरहने बानी भएकामा पनि शुक्रकीटको सख्ंयामा कमी हुन सक्छ ।
जीवनशैलीका कारण
क) शरीरका मांसपेशी बलियो गराउनको लागि प्रयोग हुने औषधीको नियमित सेवनले शुक्रकीटको मात्रा र शक्रियता घटाउन सक्छ ।
ख) मध्यपानः अत्यधिक रक्सी वा मध्यपान गर्नाले टेस्टोस्टेरोनको मात्रा कम हुने, लिङ कडा नहुने, शुक्रकीटको मात्रामा पनि कमी आउन सक्छ ।
ग) धूमपानः धूमपान गर्नाले शुक्रकीटको मात्रा घट्न सक्छ ।
घ) तनावः धेरै तनाव भयो भने शुक्रकीट उत्पादनमा नकारात्मक असर पर्न सक्छ ।
धूमपान, मध्यपान छाड्ने, तनावमुक्त भएर बस्ने, तौल कम गर्ने, अण्डकोषलाई लामो समयसम्म तातो नराख्ने, कुनै पनि रासायनिक पदार्थसँग लामो समयसम्म नबस्ने गर्नुपर्छ ।
निसन्तानपन पहिचान कसरी गर्ने ?
क) सामान्य सोधपुछ र स्वास्थ्य परीक्षणः कुनै पुरानो दीर्घ रोग भएमा, ढाडको लामो शल्यक्रिया, हर्निया, हाइड्रोसिलको शल्यक्रिया, कुनै बशांनुगत रोग, यौनक्रीडासम्बन्धी बानी र सक्षमता सोधपुछका साथै प्रजनन अंगको परीक्षणबाट निसन्तानपन पत्ता लाग्न सक्छ ।
ख) बिर्य परीक्षण—हस्तमैथुन बाट अथवा अरु कुनै तरिकाबाट निकालेको बिर्यलाई बिशेष प्रविधिबाट जाँच गरिन्छ । जसमा शुक्रकीटको मात्रा, सक्रियता, आकारका साथै बनावट हेरिन्छ । सोहीे अनुसार यदि कमजोरी देखिएमा औषधी प्रयोगबाट पनि उपचार गरिन्छ ।
ग) अन्य जाँचः अण्डकोषको भिडियो एक्सरे, हर्मोनको जाँच, जसले यौन स्वास्थ्यको अवस्था अवगत हुन्छ । स्खलन गरिसकेपछी पिसाबको जाँच, वंशाणुगत रोगको जाँचबाट पनि केही तथ्य थाहा हुन्छ ।
उपचार
माथि उल्लेख गरिएका जस्ता कारणले निसन्तानपन हुँदा मेडिकल र शल्यचिकित्सामार्फत उपचार गर्न सकिन्छ ।
क) शल्यचिकित्सा –भेरिकोसिलको शल्यक्रिया गरेपछि सामान्य हुन सक्छ । पहिले बच्चा नपाउने बन्ध्याकरण गरिसकेको छ भने यसलाई शल्यक्रियाबाट फर्काउन पनि सकिन्छ । डिम्बबाहिनी नली बन्द भएको अवस्थामा शल्यक्रिया गर्दा पनि सफल नभएमा सिधै अण्डकोषबाट बिशेष प्रविधिबाट शुक्रकिट पनि निकाल्न सकिन्छ ।
ख) संक्रमणको एन्टीबायोटिक्सबाट उपचार, हर्मोनको कमी भएमा सोको उपचार, औषधीको प्रयोगबाट यौनक्रीडामा दुर्बलता भएकालाई ठीक पार्न सकिन्छ ।
ग) यौनक्रिया सम्बन्धित समस्या जस्तैः लिंग ठाडो र कडा हुन नसक्ने, शीघ्र स्खलन हुने आदिको औषधीबाट उपचार गर्न मिल्छ ।
घः हर्मोनहरुको कमी भएमा यसको पनि उपचार सम्भव छ ।
ङ) यहा उल्लेख गरिएका पद्धतिहरुबाट पनि उपचारसफल हुन सकेन भने कृत्रिम तरिकाबाट उपचार गर्न सकिन्छ ।
जीवनशैली र घरेलु उपचार
यौन सम्पर्क महिनावारीको बीच वा अण्डा निस्कने बेला उचित हुन्छ । सम्पर्कका बेला कुनै पनि किसिमको तेल अथवा चिल्लो पदार्थको प्रयोग गर्नु हुँदैन । शुक्रकीटको मात्रा र गुण बढाउनका लागि बिभिन्न प्रकारका भिटामिन र एन्टिअक्सिडेन्ट पनि प्रयोग गर्न सकिन्छ । योगा, मेडिटेसन, मसाज थेरापी, अरु मानिससँग घुलमिल हुने र दुःखसुख बाड्ने, आफ्नो मनपर्ने र माया गर्ने मान्छेसँगै बस्ने आदि गरेमा तनाव कम गर्न सकिन्छ ।
केही खानेकुरा जसले शुक्रकीटको शक्ति र संख्या बढाउँछन्
क) ओएस्टरः—यो एक प्रकारको समुद्री माछा हो जसमा जिन्क भन्ने तत्व पाइन्छ; जसले शुक्रकिट उत्पादन गर्नमा सहयोग गर्दछ । ५० ग्राम ओएस्टर खानाले १५ मिलिग्राम जिंक प्राप्त हुन्छ ।
ख) गाढा रङको चकलेटः यस्तो खालको चकलेट खानाले एमिनो एसिड भन्ने तत्व बढ्छ । जसले शुक्रकिटको मात्रा दोब्बर हुन्छ । यो चकलेटमा हुने एन्टिअक्सीडेन्टले बारिरी बातावरणमा पाइने पदार्थहरुले शुक्रकीटलाई नस्ट गर्न पाउँदैन ।
ग) लसुनः लसुनमा दुई किसिमका महत्वपूर्ण तत्व पाइन्छ् । एलिसिन भन्ने पदार्थ, जसले प्रजनन अंगहरुमा रक्त सञ्चारमा वृद्धि हुन्छ र शुक्रकीट नष्ट हुनबाट जोगाउँछ । अर्को तत्व हो सेलेनियम र यो पनि एन्टीअक्सिडेन्ट हो; जसले शुक्रकीटको सक्रियतामा प्रवद्र्धन गर्छ ।
घ) केराः केरामा एक प्रकारको इन्जाइम पाइन्छ । त्यसले यौन शक्ति बढाउँछ साथै पुरुषमा हुने सेक्स हर्मोनलाई नियमित बनाउँछ । केरामा भिटामीन सी, ए, र बी १ पाइन्छ् । यी भिटामिनले शुक्रकीट उत्पादन गर्नमा सहयोग गर्दछन् ।
ङ) ब्रोकाउलीः यसमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । जसको कमीले प्रजनन शक्तिमा प्रभाव पार्दछ । भिटामीन एका अरु स्रोतमा रातो खुर्सानी, पालुङको साग, रातो आलु, गाजर आदि छन् ।
च) कुरिलोः यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ, जसले शुक्रकीट नष्ट हुनबाट बचाउँछ, सक्रियता र मात्रामा बढावा दिन सघाउँछ ।
छ) ओखरः यसमा ओमेगा ३ फेटटी एसिड पाइन्छ । यो एसिडले शुक्रकीटको मात्रा बढाउँछ साथै, प्रजनन अंगहरुमा रक्त सञ्चारमा वृद्धि पनि गर्छ । ओमेगा ३ पाइने अरु खानेकुरामा गंगटो, सालमोन माछा, कुखुराको मासु, फर्सीको बियाँ आदि पर्छन् ।
खान नहुने कुरा
क) चिल्लो, भुटेको वा तारेको मासु, हेम्बर्गगर, हटडग, बेकन आदि खानाले शुक्रकिट कम हुन्छ ।
ख) धेरै चिल्लो पदार्थः डेरीमा दूध र दूधबाट बनेका परिकार जस्तै चीज । यी पदार्थले शुक्रकीटको सक्रियतामा कमी आउन सक्छ ।
ग) केफिन भएको पदार्थ र रक्सीः— धेरै मात्रामा कफी र रक्सी सेवन गर्नाले शुक्रकीटको मात्रामा कमी आउन सक्छ ।
घ) सोडाः धेरै मात्रामा सोडा खानाले शुक्रकीटको सक्रीयताम नराम्रो असर हुन सक्छ ।
४० प्रतिशत निसन्तानपनको कारण पुरुष हुन्छ । जसको यसको उपचार सम्भव छ । साथै, निसन्तान दम्पती साथमा आई दुबै जनाका कमीकमजोरी पहिचान गरी उपचार गरेमा यो समस्या समाधान हुन सक्छ । अधिकांश अवस्थामा सन्तान नहुँदा आएको तनावबाट मुक्त भई सन्तान प्राप्तिको सुख सम्भव छ ।
फर्टीलिटी स्पेसलिस्ट डा शर्मा साहारा इन्टरनेसनल फर्टीलिटी सेन्टर पोखरामा सम्वद्ध छन्
तपाईको प्रतिक्रिया