मिसन ग्रासरुटको समीक्षा

समाधान संवाददाता २०८० वैशाख १० गते १२:३२

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले ‘मिसन ग्रासरुट’(पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) समग्रमा प्रभावकारी भएको निष्कर्ष निकालेको छ । मिसन ग्रासरुट अभियानको जिल्ला समीक्षा कार्यक्रमले समय व्यवस्थापनको दृष्टिले २ महिने अभियान छोटो भएकाले थप १ महिने अभियान चलाउने निष्कर्ष निकालेको अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

जिल्ला कमिटी कास्की सचिव बैनबहादुर अधिकारी क्षत्रीले अभियानको लक्ष्य अनुसार जाने क्रममा केही गतिविधि छुटेकाले आगामी १ महिने अभियान आवश्यक भएको महसुस गरेको बताए । उनले अभियानको क्रममा १५ हजार पार्टी सदस्यमा १० हजार ६ सयले नवीकरण गरेको उल्लेख गरे ।

उनले अभियानका क्रममा हरेक वडा तहमा टोल कमिटी गठन, पुनर्गठन तथा नयाँ टोल गठन भएको जानकारी दिए । पार्टीको संगठनलाई थप बलशाली बनाउन नेकपा (एमाले)ले २०७९ फागुन ५ गते देखि २ महिनासम्म अभियान चलाएको छ । उनले कास्कीका सबै पालिकाका अभियान चलाएको उल्लेख गरे ।

पार्टीका केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले अभियानले नेता तथा कार्यकर्ताको विगतको व्यवहार सोचाइ र मानसिकतामा परिवर्तन गर्ने दाबी गरिन् । ‘स्थानीय स्तरमा पार्टीको समस्या र अवस्था जस्ताको तस्तै प्रतिवेदनमार्फत जस्ताको तस्तै आउनु पर्छ,’ उनले भनिन्, ‘सबै जिल्ला कमिटीको बैठकपछि गण्डकी प्रदेश स्तरीय समिक्षा बैठकमा समेत पालिका स्तरमा छलफल हुन्छ ।’

उनले पालिका तहका खटिएका अभियानका केन्द्रीय प्रतिनिधिले प्रश्नाबलीको आधारमा प्रतिवेदन तयार पार्ने जानकारी दिइन् ।

Advertisement

उनले अभियानको क्रममा पार्टीको विचार संगठनको अवस्था र सुदृढीकरण, कार्यकर्ताको व्यवहार र आचरणको समेत मापन भएको उल्लेख गरिन् ।

पार्टी केन्द्रीय सदस्य तथा पोखरा महानगरको लागि अभियानका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारी, पार्टीका केन्द्रीय सदस्य तथा अन्नपूर्ण र माछापुच्छ्रेका लागि अभियानका प्रतिनिधि कल्पना चापागाई, प्रतिनिधि सभाका सदस्य तथा मादी एवं रुपका अभियानका प्रतिनिधि दामोदर बैरागी, जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनारायण अधिकारीले अभियानका बारेमा बोलेका थिए ।

कार्यक्रममा पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष दिली न्यौपाने, रुपा गाउँपालिका कमिटीका अध्यक्ष नीलकण्ठ रेग्मी, मादी गाउँपालिका कमिटी अध्यक्ष बालकृष्ण गुरुङ, माछापुच्छ्रे गाउँपालिका कमिटी अध्यक्ष विक्रम गुरुङ, अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष विवेक देवकोटाले पालिका स्तरको भएका गतिविधिलाई समेटेर प्रतिवेदन पेश गरे ।

तपाईको प्रतिक्रिया