हिमालय मावि स्वर्ण महोत्सवको हिसाब सार्वजनिक

पोखरा ।
हिमालय माध्यमिक विद्यालय, पोखरा २० मौजाको स्वर्ण महोत्सवको समीक्षा बैठक तथा आम्दानी खर्च, आयव्यय विवरण शनिबार सार्वजनिक गरिएको छ ।
फागुन ९, १० र ११ गते भएको विद्यालयको स्वर्ण महोत्सवको आम्दानी खर्च, आयव्यय विवरण समीक्षा बैठकका क्रममा सार्वजनिक गरिएको हो ।
स्वर्ण महोत्सव मूल आयोजक समिति अन्तर्गत गठित अर्थ संकलन उपसमितिका संयोजक क्या.हिक्मत गुरुङले आय ब्यय सार्वजनिक गर्दै हिमालय मावि मौजाको स्वर्ण महोत्सवको अवसरमा आम्दानीतर्फ ४९ लाख, ८७ हजार, ४ सय १२ रुपयाँ संकलन गरिएको जानकारी दिए ।
खर्चतर्फ ५ लाख, १६ हजार, ३ सय ३८ रुपयाँ भएको तथा आम्दानीबाट खर्च घटाई जम्मा ४४ लाख, ७१ हजार, ७४ रुपैयाँ बचत गर्न सफल भएको जानकारी दिए । उनले स्वर्ण महोत्सवका अवसरमा विभिन्न क्षेत्रका ५ सय ९० सहयोगदाताहरुबाट सो रकम संकलन गरिएको जानकारी दिए ।
कार्यक्रममा स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक सु.हुमबहादुर गुरुङले स्वर्ण महोत्सवबाट बचत रकम, विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नै खर्च गरिने बताए ।
आयव्यय सार्वजनिक कार्यक्रममा स्वर्ण महोत्सव मूल आयोजक समितिका सहसंयोजक खर्कमान गुरुङ, हिमालय मावि मौजाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङ, प्रधानाध्यापक तथा स्वर्ण महोत्सव मूल आयोजक समितिका सदस्य सचिव मणिराज परियार, पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य गञ्जमान गुरुङ, नेपाल पत्रकार महासंघ कास्की शाखाका सहसचिव श्रीराम सिग्देल, स्वर्ण महोत्सव मूल आयोजक समिति अन्तर्गत गठित अर्थसमितिका कोषाध्यक्ष, सु.झलकबहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा २० इकाई सभापति तिलबहादुर गुरुङ, महेन्द्र मावि भलाम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर क्षेत्री, समाजसेवी प्रेमबहादुर गुरुङ, शिक्षक डोलराज रेग्मी, भूपू विद्यार्थी भोजबहादुर गुरुङ, लगायत महानुभावहरुले हिमालय मावि मौजालाई अब समयानुकूल, प्राविधिक, प्रतिस्पर्धात्मक शैक्षिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया