सम्पादकीय: अस्थिरताले बदनामित संघीय व्यवस्था

२०७९ मंसिरको आमनिर्वाचनपछि गण्डकी प्रदेशमा बनेको सरकार १०५ दिनमात्रै टिक्यो । अब नयाँ सरकार बन्छ । अब बन्ने सरकार नेपालमा संघीयताको कार्यान्वयनपछिको पाँचौं सरकार हो । २०७४ सालमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बनेपछि उनी दोस्रोपटक मुख्यमन्त्री बनेका थिए । उनको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।
नयाँ चुनावले एमाले—माओवादी गठबन्धनबाट एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार बन्यो । तर उनको सरकार टिक्नै पाएन । संघमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री हुँदा एमालेसँग जोडेको साइनो २ महिनामै टुटाएपछि त्यसको तरंग प्रदेशहरुसम्मै आइपुग्यो । केन्द्रको सरकारमा नयाँ गठबन्धन बनाउँदा प्रदेश सरकारका हकमा पनि सत्तारुढ दलहरुले सौदाबाजी गरे । त्यसैको परिणाम स्वरुप गण्डकीमा मात्रै नभई सबैजसो प्रदेशहरुमा सरकार फेरबदल हुने अवस्था आयो ।
लोकतन्त्रमा सरकार फेरिनु, दलहरु सत्तामा जानका लागि कसरत गर्नु पूर्णतः नाजायज होइन । तर जेजस्तो हेराफेरी पनि गर्ने र जता मन लाग्यो त्यतै र जतिखेर पायो त्यतिखेर गठबन्धन फेरेर सत्ताको घुम्ने कुर्चीमा बस्नुचाहिँ नैतिक हिसाबले नाजायजै हो ।
राजनीति भनेको केवल कुर्चीको खेल होइन, जनताको सेवा हो, सिद्धान्त, निष्ठा र आदर्श हो । तर दलहरु आदर्श, सिद्धान्त विपरीत जोकसैसँग पनि साँगगाँठ गर्न उद्दत छन् । त्यसैले राजनीति झन्झन् फोहोरी खेल प्रमाणित हुँदै गएको छ । त्यसभन्दा बढी जनताले यसले निकै निराशा पैदा गरेको छ ।
संघमा छिनछिनमा सरकार बदलिने हुँदा राजनीतिक अस्थिरता सिर्जना भएको छ । मुलुकमा जनताले नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता होला भन्ने अपेक्षा गरेका थिए । राजनीतिक स्थिरताले समृद्धिको बाटोमा मुलुक जाला भन्ने जनअपेक्षा जायज हो । तर त्यस विपरीत दलहरु सत्ताको म्युजिकल चियरमा मस्त बन्दा आगलागी बस्तीमै मस्तराम मस्तीको दृश्य देखेजस्तो अनुभूति जनतालाई भएको छ । खासमा यो अस्थिरता र सरकार फेरिरहने परिपञ्चले संघीयताकै बदनाम गरेको छ ।
संघीयता हामीले ल्याएको हो भनेर दाबी गर्ने दल नै झन् अस्थिरताको कारक भई यसैलाई बदनाम गर्न लाग्नु धेरै बिडम्वना र दुखदायी छ । लोकतान्त्रिक गणतन्त्र र संघीय व्यवस्थाको बदनामी दलहरुको अस्थिर चरित्रको कारण हो । उनीहरु सरकारमा गएर पनि डेलिभरी दिन नसक्नुको परिणाम हो ।
चुनाव अघि एउटा प्रतिबद्धता गर्ने र चुनावपछि फेर्ने अनि फेरि त्यसलाई पनि फेर्ने गरेर दलहरुले अति नै लज्जाजनक कार्य गरेका छन् । यसको मूल्यांकन जनताहरुले आमनिर्वाचनमार्फत गर्ने नै छन् । त्यसो त नयाँ शक्तिहरुलाई मत दिएर जनताले दिइरहेको सवक पुराना र ठूला भनिएका पार्टीहरुले सिकेनन् भने त्यो उनीहरुकै लागि घातक हुने निश्चित छ । तर अहिलेलाई भने उनीहरुले धेरै ठूलो धोका जनतालाई दिएका छन्, देशलाई उनीहरुको अस्थिर चरित्र निकै घातक बनेको छ ।
तपाईको प्रतिक्रिया