पद्म नर्सिङ होममा प्रसूति सेवा सुरु

समाधान संवाददाता २०८० वैशाख ११ गते १३:५६

पोखरा ।

Advertisement

पद्म नर्सिङ होम प्रालि पोखरा ३, नदीपुरमा सुरक्षित प्रसूति सेवा सुरु भएको छ । आइतबार अप्रेसनको माध्यमबाट पहिलोपटक बच्चाको जन्म गराइएको हो ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला एवं एनेस्थेसियालोजिस्ट डाक्टर अनिल न्यौपाने र डाक्टर वसन्त कोइराला लगायतको टिमद्वारा अप्रेसनको माध्यमबाट पद्म नर्सिङ होम प्रालि नदीपुरमा पहिलो बच्चाले जन्म लिएको छ ।

पोखरा १७ बिरौटा निवासी रमेश भट्टराई र रेखा बराल भट्टराईले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएका हुन् ।

अप्रेसनको माध्यमबाट जन्मिएको साढे २ केजी तौल भएको बच्चा स्वस्थ रहेको वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोलाले बताए । ‘जन्मनेबित्तिकै बच्चालाई आमाको दूध खुवाइएको छ बच्चा स्वस्थ छ । बच्चालाई अहिले आमाको दूधमा नै जोड दिन अभिभावकलाई आग्रह गरिएको छ,’ उनले भने ।

Advertisement

अप्रेसनपछि आमाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डेले जानकारी दिए ।

पद्म नर्सिङ होममा पहिलोपटक जन्म लिएको बच्चालाई १५ वर्ष हुँदासम्म ओपिडी शुल्क छुट गरिएको प्रालिका अध्यक्ष इन्दिरा शर्मा सुवेदीले जानकारी दिइन् ।

‘पोखराको न्युरोडबाट नदीपुरमा सरिसकेपछि हामीले नयाँ सुविधाहरु थप गर्दै गइरहेका छौं,’ उनले भनिन्, ‘आज पहिलोपटक यस संस्थामा नवजात शिशुको जन्म भएको छ । हामीले सफलतापूर्वक यो काम पनि गरेका छौं । यस संस्थामा जन्मिएको पहिलो बच्चालाई १५ वर्षसम्म ओपिडी शुल्क नलिने निर्णय गरेका छौं ।’

२८ वर्षदेखि पोखराको न्युरोडमा भाडाको भवनमा सञ्चालनमा रहेको पोखराको पहिलो निजी अस्पताल पद्म नर्सिङ होम प्रालि गत असोजदेखि पोखरा ३, नदीपुरस्थित आफ्नै भवनबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धी रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायत बहिरंग (ओपिडी) सेवा सञ्चालनमा छन् ।

अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआइसियु, एक्सरे, भिडिओ एक्सरे, इन्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परीक्षण एवं स्किन लेजर सर्जरी लगायत सेवाहरु पनि सञ्चालनमा रहेको हस्पिटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया