गण्डकी प्रदेश तेक्वान्दो संघको सभा

समाधान संवाददाता २०८० वैशाख ११ गते १७:२१

पोखरा ।
गण्डकी प्रदेश तेक्वान्दो संघको तेस्रो साधारण सभा सोमबार पोखरामा भएको छ । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष हरिशश्वर पोखरेलले खेलकुद क्षेत्र पदक जित्नका लागि मात्र नभई जीवन जिउने कलासमेत भएकाले जुनसुकै खेल भए पनि आमनागरिकको घर–घरमा लैजानुपर्ने विचा राखे ।

Advertisement

उनले खेलमा राष्ट्र प्रेम र राष्ट्र भावसमेत रहने भएकाले आम बालबालिकाको क्षेत्रमा समेत खेलकुदमा गतिविधि पुर्‍याउन आग्रह गरे । संघका केन्द्रीय सदस्य मदन केसीले तेक्वान्दो खेलले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन थप योगदान दिएकाले खेलको संस्थागत विकासका लागि जुट्न आग्रह गरे ।

संघका प्रदेश अध्यक्ष जगनबहादुर गुरुङले उत्कृष्ट खेलाडीलाई प्रदेशले समेत छात्रावृत्तिको प्रर्वद्धन मिलाई नवोदित खेलाडीलाई अवसर प्रदान गर्ने बताए । गण्डकी प्रदेश मार्सलआर्ट खेलका लागि ऊर्वर भूमी भए पनि अपेक्षाकृत सफलता प्राप्त हुन नसकेको उनले सुनाए ।

अध्यक्ष गुरुङले तेक्वान्दो खेलक लागि गण्डकी प्रदेशका विभिन्न जिल्लामा भौतिक पूर्वाधार निर्माण हुन लागेकोमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरे । गत असोजमा सम्पन्न तेस्रो माउन्ट एभरेष्ट इन्टरनेसनल खुला तेक्वान्दो प्रतियोगिताले पोखराको खेलकुदमात्र नभई पर्यटन प्रर्वद्धनमा समेत टेवा पुगेको उनले तर्क गरे ।

सो खेलमा १३ राष्ट्रका १ हजार ४ सय ५५ खेलाडीको सहभागिता थियो । संस्थाका महासचिव रमेश पौडेलले महासचिवको प्रतिवेदन गरे । उनले गण्डकी प्रदेशमा ५० वटाभन्दा बढी डोजाङ र स्कुलबाट २ हजार ७ सयभन्दा बढी तेक्वान्दो खेलाडीले प्रशिक्षण लिइरहेको जानकारी दिए ।

Advertisement

कार्यक्रममा तेक्वान्दो संघ पर्वत अध्यक्ष ईन्द्रमान खत्री, कास्कीका कुमार गुरुङ, नवलपुरका भूमिश्वर भुसालले जिल्ला प्रतिवेदन प्रस्तुत गरे । समितिका सदस्य शिवराज वाग्ले र विकल्प बोगटीले तेक्वान्दो खेलका बारेमा धारणा राखे ।

तपाईको प्रतिक्रिया