राष्ट्रपति रनिङ सिल्ड सुरु

पोखरा ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ सिल्ड सोमबारबाट पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको १ सय मिटर दौड छात्रतर्फ नवलपुरका ताराप्रसाद थनेतले ११.०६ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेका छन् ।
तनहुँका भीमबहादुर थापाले ११.०३ सेकेन्डमा दूरी पार गर्दै रजत र तनहँुकै प्रेमबहादुर थापाले १२.०३ सेकेन्डमा दौड पूरा गरी कास्य पदक जिते । १ सय मिटर दौड छात्रातर्फ भने एन्जल अधिकारी कास्की १४.०१ सेकेन्ड, लक्ष्मी परियार लमजुङ १४.०३ सेकेन्ड, अप्सरा विकले नवलपुर १४.०४ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।
४ सय मिटर दौड छात्रातर्फ चन्द्रकला बराल स्याङ्जा १ मिनेट ०८ सेकेन्ड, अनुस्का अधिकारी कास्की १ मिनेट ११ सेकेन्ड र सोमाया कुमाल तनहुँले १ मिनेट १३ सेकेन्डमा दौड पूरा गरी क्रमशः स्वर्ण, रजत र कास्य पदक हात पारेका छन् ।
४ सय मिटर दौड छात्रतर्फ प्रकाश महतो नवलपुर ५४.०२ सेकेन्ड, विनित भुजेल लमजुङ ५५.०६ सेकेन्ड, नितेश शाहीले लमजुङ ५६.०० सेकेन्डमा सकेर स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।
१५ सय मिटर दौड छात्रातर्फ नारायणी भण्डारी कास्की ५ मिनेट २६ सेकेन्डमा दौड पूरा गरी स्वर्ण, एलिना नेपाली गोर्खा ५ मिनेट ४० सेकेन्डमा दौड पूरा गरी रजत, शर्मिला विक बाग्लुङ ५ मिनेट ४१ सेकेन्डमा पूरा गरी कास्य पदक जिते ।
बागलुङका बादल कार्कीले १५ सय मिटर दौड छात्रतर्फ ४ मिनेट २६.३ सेकेन्ड दौड पूरा गरी स्वर्ण पदक जितेका छन् भने कास्की तेन्जन रोक्का २७.०२ सेकेन्डमा दौड पूरा गरी रजत पदक जित्दा तनहँुका दिलीप विक ४ मिनेट २८.५९ सेकेन्ड दौड पूरा गरी कास्य पदक जित्न सफल बने ।
उद्घाटन कार्यक्रममा भएको मार्च पासमा गोरखा जिल्ला प्रथम, नवलपुर दोस्रो र कास्की तेस्रो भएका छन् । समारोहमा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले आगामी बजेटमा खेलकुदको बजेट बढाउन आफूले सक्दो सहयोग गर्ने बताए ।
उनले गाउँ गाउँमा समेत खेलकुदमा बढेको सक्रिय सहभागिताले आफूलाई समेत निकै हौसला मिलेको उल्लेख गर्दै खेलकुदले सबैलाई एक ठाउँमा उभिनसमेत उत्तिकै भूमिका खेलेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, लगायतले बोलेका थिए ।
.कार्यक्रम प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको हो । २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मुस्ताङबाहेक १० जिल्लाका ७ सय २० खेलाडीले विभिन्न ६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मंगालबार सकिनेछ ।
तपाईको प्रतिक्रिया