टेबल टेनिसमा वडा नं. ९ को वर्चस्व

समाधान संवाददाता २०८० वैशाख १२ गते ११:३४

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा वडा नम्बर ९ को टोलीले वर्चस्व कायम गरेको छ । ४ विधामा प्रथम, द्वितीय र तृतीय भएका १६ खेलाडीमध्ये ५ जना पोखरा ९ का छन् ।

Advertisement

महिला सिंगल्समा वडा नम्बर ९ की तृषा गुरूङ प्रथम, वडा नम्बर ९ कै मुना थापा द्वितीय, वडा नम्बर ७ की पद्मा थापा र वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए । महिला डबल्समा वडा नम्बर ९ कै तृषा र मुनाको जोडी प्रथम, वडा नम्बर ४ का सक्रिया पोखरेल र सिजल बानियाँ द्वितीय भएको आयोजकले जनाएको छ ।

वडा नम्बर ७ का पद्मा थापा र सानिया श्रेष्ठ, वडा नम्बर २३ का एलिना श्रेष्ठ र राजश्री अधिकारीको जोडी तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

पुरूष सिंगल्समा वडा नम्बर ९ का सुमेश लामा प्रथम, वडा नम्बर १७ का किसन जिसी द्वितीय, वडा नम्बर १५ का रूपबहादुर गुरूङ र वडा नम्बर १७ का प्रितम गुरूङ तृतीय भए । पुरूष डबल्समा वडा नम्बर १७ का किसन जिसी र प्रितम गुरूङको जोडी प्रथम, वडा नम्बर १५ का दीपकराज गिरी र रूपबहादुर गुरूङ द्वितीय बने ।

वडा नम्बर १४ का नवीन गुरूङ र दीपनिशान शाही, वडा नम्बर ९ का सुमेश लामा र अनुश कुँवरको टोली तृतीय भएको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए ।

Advertisement

महिला सिंगल्स, महिला डबल्स, पुरूष सिंगल्स र डबल्स गरेर आइतबार र सोमबार ४ विधामा भएको प्रतियोगितामा १७ वडाका ४९ जना खेलाडी सहभागी थिए । कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ३७ पुरूष र १२ महिलाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सिंगलतर्फ प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित ५ हजार रूपैयाँ, द्वितीय हुनेले २ हजार ५ सय रूपैयाँ र तृतीय हुने २ जनाले १ हजार २५० रूपैयाँ पाए । डबल्सतर्फ पनि मेडल, प्रमाणपत्रसहित प्रथम हुनेले ७ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार ५ सय रूपैयाँ र तृतीय हुने २ जनाले १ हजार ७ सय ५० रूपैयाँ प्राप्त गरे । पुरूषतर्फ वडा नम्बर ४ का अविशेष गौचन र महिलातर्फ सोही वडाकी सिजल बानियाँ उदयीमान खेलाडी घोषित भए ।

विजेतालाई पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतिलाल तिम्सिना, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, कास्की जिल्ला टेबल टेनिस संघ अध्यक्ष उत्तम जोशी लगायतले पुरस्कार वितरण गरे ।

तपाईको प्रतिक्रिया