सम्पादकीय: बिर्सिइएको वसन्त विद्रोह

समाधान संवाददाता २०८० वैशाख १२ गते १२:००

१७ वर्षअघि राजाको प्रत्यक्ष शासन ढलेको थियो । वसन्त विद्रोहको बलमा लत्रिएर तत्कालीन राजा ज्ञानेन्द्र शाहले वैशाख ११ मा संसद् पुनःस्थापना गरेका थिए । १९ दिनको लगातारको जनआन्दोलनपछि लोकतन्त्र पुनर्बहाली भएको थियो । त्यही लोकतन्त्रपछिको यात्राले नेपाललाई संघीय गणतन्त्रसम्म ल्याएको हो । सोमबार नेपालमा लोकतन्त्र दिवस मनाइयो ।

Advertisement

अलोकतान्त्रिक चरित्र मन पराउने र अप्रजातान्त्रिक तवरले चल्ने दलहरु लोकतन्त्रपछि सुध्रिएनन् । उनीहरुको कार्यशैलीले यही प्रमाणित गर्छ । देशको शासन व्यवस्थाको कोसेढुंगा बनेको दोस्रो जनआन्दोलन र लोकतन्त्र दिवसमा दलहरुले औपचारिकबाहेका कार्यक्रम गर्न छाडेका छन् ।

ती दलहरुको अलोकतान्त्रिक शैली, पदलोलुपता र अकर्मन्यताले नयाँ नयाँ दलहरु उदाएका छन् । त्यतिमात्र होइन, राजतन्त्रै ठीक भन्ने शक्तिहरुले पनि संसदमा उपेक्षा गर्न नसक्ने स्थान पाएका छन् । बारम्बार मौका पाउँदा पनि मुख्य भनिएका र पुराना भनिएका दलहरु नसुध्रिएपछि कता जनताले आक्रोश व्यक्त गरेको छ, कतै मत परिवर्तन गरेको पछिल्ला चुनावी नतिजाहरुले देखाएका छन् ।

एकीकृत शासन प्रणाली र त्यसका कमजोरीहरुलाई देखाएर ठूलो आन्दोलनपछि आएको लोकतन्त्रले देश र देशबासीको कायाकल्प गर्ने अपेक्षा थियो । अपेक्षा सपनामै सीमित भएको छ । लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रले हारेको अनुभूति जनताले गरेका छन् । लोकतान्त्रि कार्यप्रणाली नहुने, दलहरु अराजक हुने, राज्यका संरचनाहरु शक्ति र पहुँचकै भरमा चल्ने भएपछि लोकतन्त्र कागजमा बाहेक अन्यत्र अनुभूत गर्न सकिने कुरै भएन ।

राजकीय पदहरूको नियुक्ति र गरिमाको विषय सडकमा छताछुल्ल देखिन्छ । दलहरूमा आन्तरिक लोकतन्त्र बिरालाको सिङ बनेको छ । पुराना दलहरुभित्र पनि केही योग्य र क्षमतावान पात्र छन्, तर ती कि निराश छन्, कि त विद्रोह गर्न नसक्ने अवस्थामा छन् ।

Advertisement

सोमबारमात्र उपनिर्वाचन भएको छ । यसको प्रारम्भिक रुझानले जनताको मुड फरक देखाएको छ । पुराना निर्वाचनको नतिजा हेरेर दलहरुको भागबन्डा गर्दैमा, आफूले चाहेका उम्मेदवार लैजाँदैमा जित नहुने यसले फेरि पुष्टि गरेको छ । एक्काइसौं सदीमा न जनता दास हुन्, न त कार्याकर्ता अनुचर । विवेक, आकांक्षा र प्रतिवद्धता र कार्यान्वयनमा फितलो हुनेहरु आफ्नै गढमा पराजित हुने पक्का भएको छ ।

दलहरुका लागि यो ठूलो चिन्ताको विषय हो तर आम जनताका लागि भने सकारात्मक सन्देश हो । राजनीतिको साध्य पद र कुर्सी होइन । अहिले गरिब, किसान, मजदुरको आर्थिक स्वास्थ्य साहै्र नै खराब भइसकेको छ । यो कुरा कसैको एजेन्डा बन्न सकेको छैन । अपेक्षा गरौं, अर्काे लोकतन्त्र दिवससम्म नेताहरु र दलहरु सुध्रिएको अनुभूति जनताले पाऊन् । नत्र अनेक शक्तिसँग मुकाबिला गरी शासन बदल्ने जनताले लोकतन्त्रको नाममा यसैलाई ध्वस्त गरिरहने शक्तिलाई अनुमोदन गरिरहन्छन् भन्ने छैन ।

तपाईको प्रतिक्रिया