सराङकोट शिरैमा पञ्चमुखी गणेश

सराङकोट पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । जहाँबाट हिमाल र तालको दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक छटाहरुले भरिपूर्ण सराङकोटलाई झन् सुन्दर बनाउन मानवीय प्रयास पनि जारी छन् । त्यस क्रममा सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति सक्रिय छ । ऐतिहासिक धार्मिक एवं पर्यटकीय महत्व बोकेको सराङकोटको समग्र विकासमा योगदान पु¥याई विश्व समुदाय सामु यस भूमिलाई थप परिचित तुल्याई पर्यटन क्षेत्रको विकासको माध्यमद्वारा स्थानीय बासिन्दा लगायतको आर्थिक स्थितिमा सुधार ल्याउने अभिष्ट बोकी सराङकोट धार्मिक समितिको संस्थापना भएको हो । सोही बमोजिमका क्रियाकलाप समितिले सञ्चालन गरिआएको छ । सोही क्रममा पूर्वाधार निर्माण सम्बन्धी चरणवद्ध योजना सञ्चालन गर्न गइरहेको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित पर्यटकीय एवं धार्मिकस्थल सराङकोटलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउँदै लैजाने समितिको उद्देश्य छ । उक्त क्षेत्रमा रहेको परापूर्वकालमा पुर्खाहरुबाट मठ मन्दिरको स्थापना गरिएको थियो । नयाँ सन्ततीले पनि तिनको संरक्षण र सम्वद्र्धन गर्दै आएका छन् । धर्म र संस्कृतिको रक्षा गरी गुठीको जग्गा मन्दिरको संरक्षण गरी नियमित पूजाआजा धर्मप्रति आस्था विश्वासलाई मानव समाजमा समर्पित गरी धर्मको रक्षा गर्न गराउनका लागि एवं सामाजिक तथा पर्यटन विकासका लागि संगठित र सशक्त रुपमा कार्य गर्ने समितिको उद्देश्य छ ।
माछापुच्छ«े अन्नपूर्ण तथा धौलागिरीको काखमा अवस्थित सराङकोट समुद्र सतहदेखि ११९२ मिटर उचाईमा छ । पोखराको पश्चिमी भागमा रहेको सराङकोट नेपालका शाहवंशीय राजाहरुका पुर्खा कुलमण्डन शाहको गृष्मकालीन राजधानीको रुपमा ऐतिहासिक रुपले परिचित छ । सराङकोट हाल उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विश्वमा नै प्रख्यात छ ।
कास्कीकोटका राजाहरुको पुर्खा कुलमण्डन शाहको गृष्मकालीन राजधानी सराङकोट ऐतिहासिक रुपले परिचित छ । सराङकोटमा शाहवंशकी कुलदेवी भूमेकालिकाको पूजाआजा हुँदा तत्कालीन राजाहरुले भूमेकालिकाको नियमित पूजाका लागि धेरै राजगुठीको प्रबन्ध गरेका रहेछन् । यसबाट सराङकोट शाहकालीन राजाहरुको गृष्मकालीन राजधानी रहेको थप स्पष्ट हुन जान्छ । शाहकालीन राजाद्वारा निर्मित कुवा हाल जीर्ण अवस्थामा छन् । ती कुवा संरक्षणको पर्खाइमा छ । सराङकोट डाँडा शाहकालीन राजाहरुको जमरा सेलाउने स्थान पनि थियो ।
शाहकालीन राजाहरुको गृष्मकालीन दरवारको अगाडि सम्योचौर थियो । जहाँ अहिले दुई तले प्यागोडा शैलीमा तामाले छाएको ‘श्री कैैलालेश्वर महादेवको मन्दिर’ को निर्माण भई दर्शनका लागि खुला गरिएको छ । नवनिर्मित कैलालेश्वर महादेवको मन्दिरको अगाडिको भागमा राजा र राजपरिवारको सुरक्षार्थ खटिएका सेनाको रणकौशल देखाउने उपयुक्त ठाउँ रहेको भन्ने कथन रही आएको छ ।
बडादसैं तथा चैते दसंैको अवसरमा फूलपातीको दिनमा सेनाहरुबाट ढाल तरवारको कौशलता प्रदर्शन गर्ने गरिथ्यो भन्ने गरिन्छ । जुन खेललाई तत्कालीन समयमा ‘सरुन’ भनिन्थ्यो । कास्की दरबारमा अभैm पनि कुँवर क्षेत्रीहरुले ढाल तरबारको खेल देखाउँछन् । यसबाट उक्त क्षेत्रमा कुँवर क्षेत्रीहरुको बाहुल्य रहेको स्पष्ट बुझ्न सकिन्छ ।
कास्कीकोट क्षेत्रभित्र बसोबास गर्ने कुँवर क्षेत्रीहरुले परम्परालाई जोगाउने क्रममा सराङकोट महोत्सवमा सरुन खेलको प्रदर्शन गर्थे । कँुवरहरूले खेल्ने सरुन खेल रोचक एंव होसियारी पूर्वक खेलीने खेल भई प्रसिद्धि पाएको थियो । जसलाई यस स्थानको गौरवको रुपम लिने गरिन्छ । सरुन अपभ्रंश भई सराङ हुन गयो र कोट (जसको अर्थ डाँडा हुन्छ) थपिन गई सराङकोट नामाकरण हुन गयो । प्रारम्भिक अर्थात चारसय वर्ष पहिले उक्त शैनिकहरुको रण कौशल खेल देखाउने स्थान जेलमात्र थियो । सो खेलको प्रवद्र्धन र सम्वद्र्धन गर्नु आजको आवश्यकता भएको छ ।
सुन्दर नगरी पोखराको पश्चिमी भागमा रहेको सराङकोट ऐतिहासिक महत्व बोकेको स्थान हो । हिमालय, ताल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि एक आकर्षक गन्तव्य स्थल हो । यस क्षेत्रको विकासका लागि पोखराको सेदीबगरदेखि सराङकोट जोड्ने गरी २ दशमलव २ किमी दुरीको केबलकार सेवा निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको छ, जसबाट दैनिक ५०० देखि १००० जना पर्यटकले सेवा लिइआएका छन् । केबलकार सेवा सञ्चालनमा आइसकेपछि सराङकोट क्षेत्रमा स्टार लेभलका होटेल सञ्चालनमा आएका छन् । फलस्वरुप स्थानीयले रोजगारी पाई स्थानीयको आर्थिक स्थितिमा सुधार आएको छ । प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने उत्कृष्टस्थल सराङकोट क्षेत्र रही आएको छ । दैनिक ५०० देखि ७०० उडान भरी आएको प्याराग्लाइडिङ सेवाले यस क्षेत्रको आर्थिक गतिविधिलाई क्रियाशील तुल्याइआएको छ ।
स्थानीय स्रोत र साधनको सदुपयोग गरी पूर्वाधार निर्माण गर्दै जाने सिलसिलामा कैलाशेश्वर महादेवको मन्दिर निर्माण गरी सञ्चालनमा ल्याउने क्रममा छ । आजको अवस्थामा अर्थात थप पूर्वाधारको निर्माण नभइसकेको अवस्थामा स्थानीय निकाय पोखरा महानगरपालिकाले ठेक्कामा सञ्चालनमा ल्याएको भ्यू टावर सञ्चालनबाट वार्षिक २० लाख देखि ३० लाख आय आर्जन गरी आएकोमा थप पूर्वाधार निर्माण भएको खण्डमा उल्लेख्य मात्रामा पोखरा मनपाको आम्दानीमा वृद्धि हुने देखिन्छ ।
यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा ध्यान दिनु आजको आवश्कता रही आएको छ । यस क्षेत्रलाई थप आकर्षक बनाई स्वेदेशी तथा विदेशी पर्यटक आगमनमा वृद्धि ल्याई पर्यटन क्षेत्रको विकासको माध्यमबाट समग्र नेपालको अर्ततन्त्रमा योगदान पु¥याउने एवं यस क्षेत्रको विकासको माध्यमबाट स्थानीय जनताको आर्थिक स्थितिमा सुधार ल्याउनु जरुरत छ । यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने लक्ष्य लिई पूर्वाधार निर्माणमा सहयोग गर्ने अभिप्रायले पोखरा महानगरपालीकाले करिब ५५ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत भएपश्चात पोखरा लगायत सम्वद्ध सम्पूर्ण पक्ष यसबाट लाभान्वित हुनेछन् ।सराङकोट विकासका लागि पूर्वाधार निर्माणको चरणबद्ध योजना
सराङकोटलाई थप आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्न पोखरा महानगरपालिकाले उपलब्ध गराउने करिब ५५ रोपनी जग्गामा देहाय बमोजिम पूर्वाधार निर्माण गरिने छ ।
१. ४८ फिट अग्लो पञ्चमुखी गणेशको मूर्ति निर्माण गरी स्थापना गर्ने ।
२ं पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्न संग्रहालय निर्माण गर्ने ।
३. भूमेकालीको मन्दिर निर्माण गरिनेछ ।
४. भक्तजनका लागि सत्तल निर्माण गरिने एवं १०८ धारा निर्माण गरिनेछ ।
५ लिफ्ट जडित सुविधा सम्पन्न भ्यूटावर निर्माण गर्ने ।
६. वर्षातको पानी संग्रह गर्ने ट्याङकी निर्माण गर्ने ।
७. सुन्दर र मनोरम बगैंचा निर्माण गर्ने ।
८. सार्वजनिक सुविधा सम्पन्न शौचालय निर्माण गरिने छ ।
९. पहुँच मार्ग निर्माण गर्ने ।
तपाईको प्रतिक्रिया