राजनीतिमा अध्यात्म

दुर्गा न्यौपाने २०८० वैशाख १२ गते १२:३४

“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्यूत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।” श्रीमद्भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नुभएको दिव्य वाणी हो यो । संसार परिवर्तनशिल छ । केहि पनि स्थिर छैन । झनै भौतिकवादी सोचले ग्रसित संरचनामा त मान्छे जब कुर्चीमा जान्छ, उसलाई त्यहि पदले अभिमानी बनाउँछ । अहंकार सवार हुन्छ । अहंकारको परिणाम जहिले पनि खराबै हुन्छ । खराबीले दम्भ, अन्याय, दुराचार, पापाचार, भ्रष्टाचारको सृजना हुन्छ ।

Advertisement

नातावाद र कृपावादका आवरणले ढाक्छ । ठीक र बेठीक छुट्याउनै हम्मे पर्छ । दुई चार जनाको भजन सबैले गाए जस्तो सुनिन्छ । अग्निलाई धुवाँले ढाके जस्तो ज्ञान ढाकिन्छ, अहमले । म र मेरो मात्र देख्छ उसले । जब ज्ञानलाई दम्भले छेक्छ, तब म र मेरोको वरिपरि घुम्छ ऊ । दुरदर्शिता हराउँछ । सहि बिचारको स्खलन हुन्छ । बिचार निच हुने बित्तिकै व्यवहार स्वतः उचो हुन सक्दैन । अनि धर्मको ग्लानि शुरु हुन्छ । फलस्वरुप, एउटा बिग ब्यांग हुनै कर लाग्छ । अर्थात् प्रलय आउँछ, बिचारको होस् वा प्रकृतिको । त्यसपछि मान्छेको चेत पलाउँछ ।

यदि हामीले प्राचिन इतिहास पल्टायौँ भने आध्यात्मिकताको छाप राजनीतिमा गहिरो छ । राजगुरुबाट ज्ञान र सल्लाह लिएर मात्र राज्यका ठूला निर्णय गरेको पाईन्छ । जस्तै, रामका गुरु वशिष्ठ र कृष्णका गुरु सान्दिपनि थिए । राजनीति र आध्यात्मिकता दुबैले मानवता र मान्छेसँग गम्भिर सम्बन्ध राख्दछ । राजनीतिको उद्देश्य सुशासन दिनुको साथै भौतिक र भावनात्मक सुविधाहरु जनता समक्ष पुर्याउनु हो ।

आध्यात्मिकताको लक्ष्य नैतिकता र मानवीय मूल्यलाई बढाउनु हो । कुनै पनि देशको विकास र समृद्धिको लागि राजनीति र आध्यात्किता रथको दुई पांग्रा जस्तै गरि चल्न आवश्यक छ । केवल आध्यात्मिकताले नै प्रतिबद्धता, कर्तव्य र आत्मविश्वास बढाउन सघाउँछ । विना आध्यात्मिकताले राजनीतिलाई अनैतिकताको वातावरणतिर लैजान्छ । जसले अपराध र अराजकता निम्त्याउँछ । फलस्वरुप, आन्दोलन, हिंसा, युद्ध जस्ता कृयाकलापहरु जन्मन्छन् ।

आजसम्म हाम्रो देशमा कहिल्यै धर्म युद्ध भएको छैन । चाहे हिन्दु राज्य भएको बेला होस् वा धर्म निरपेक्षता । सधैँ धर्ममा सहिष्ण्ुाता नै रहिआएको छ । सस्तो लोकप्रियताको लागि निरपेक्षता शब्द भिर्‍याइयो । धर्म र राजनीति एक अर्काको पूरक बन्नुपर्छ । धर्म र राजनीतिको सामञ्जस्य गर्न सकियो भने मात्र लोकको कल्याण हुन सक्छ । अन्यथा सधैँ अस्थिरता र कलह बाहेक केहि हुँदैन । धर्मलाई राजनीतिबाट अलग गराउनु मानवताको हत्या गर्नु हो भन्नुहुन्छ, महान राजनीतिज्ञ महात्मा गान्धि ।

Advertisement

मानवीय नैतिकता र राजनैतिक, सामाजिक नैतिकतालाई दुई थरि मान्नुहुँदैन । धर्म र राजनीति एउटा सिक्काका दुईटा पाटा बनाउनुपर्छ । अहिँसा, सत्य, अस्तेय, अपरिग्रह जस्ता कुराहरु राजनीतिको मूल धारमा ल्याईनुपर्छ । धर्म विनाको राजनीति मृत्युको फन्दा भन्नुहुन्छ गान्धिजी । यो भनाई सत्य सावित हुँदैछ । राजनीति विकृत हुँदैछ । यो देखिएकै छ । सबैका सामु घाम जस्तै छ ।

नैतिकताको दोहोरो मापदण्ड हुनुहुँदैन । राजनीतिलाई आध्यात्मिकतामा जोड्नुपर्छ । समाजको अपराधिक चरित्र केवल भौतिकवादलाई मात्र महत्व दिनुको परिणाम हो । जसले नैतिक मूल्य मान्यतालाई घटाएको छ । पापाचार बढाएको छ । जसले राजनीतिलाई दुषित बनाएको छ । मान्छेहरु राजनीतिलाई डर्टि गेमले चिन्छन् । त्यसैले अध्यात्मको महत्व सघन छ ।

धर्म विना राजनैतिक तुवाँलो हटाउनै सकिन्न । जुनसुकै दल र व्यक्तिले जिते पनि अवस्था फेरिन्न । व्यवस्थाले मात्र अवस्था नफेरिने कुरा प्रमाणीत भैसकेको छ । त्यसको लागि व्यवहार परिवर्तन हुनु जरुरी छ । राजनीतिमा अध्यात्म मिसाए मात्र लोक कल्याण सम्भव छ । अन्यथा यहि लथालिंग र अस्थिरता रहिरहन्छ ।

लोकतन्त्र दिवश आयो, गयो । कति जनाले गौरवको अनुभूति गर्नुभयो, मनमनको कुरा भयो । सामाजिक सञ्जालमा प्रकट नगर्नेले मनैमा राख्नुभयो । मौनतालाई कसरी बुझ्ने ? अर्थ आ–आफ्नै होलान् । लोकतन्त्रको अनुभूति पनि सबैका एउटै नहोलान् । नेपाली जनता कन्फ्यूज छन् । फागुन ७ प्रजातन्त्र, वैशाख ११ लोकतन्त्र र जेष्ठ १५ मा गणतन्त्र दिवशको के के महत्व छ ?
यी दिवश मनाउन नेपाली किन उत्साहित छैनन् ? स्वतः किन आफैँ मैनबत्ति बालेर खुशी बाँड्दैनन् ?

यी अहम् प्रश्न हुन सक्छन्, राज्यलाई नाम जेसुकै दिइए पनि जनताको अवस्था परिवर्तन हुनुपर्छ, सूचक बदलिनुपर्छ । दैनिकीमा सुखानुभूति हुनुपर्छ । तर जसका लागि व्यवस्था परिवर्तन गरियो, उसैले खुशी प्रकट गर्न सकेको छैन । अवस्था उस्तै छ । अझ खस्किँदो छ । यस्तै गुनासो छ, भुईँ मान्छेहरुको । महंगीको कहर थेग्न गाह्रो छ । जनजीवीका असाध्यै कष्टकर हुँदैछ । युवाहरु रोजी रोटीको लागि विदेशी भूमि नै विकल्प ठान्छन् । नेपालले वैशाख ११ गते १५ औँ लोकतन्त्र दिवश मनाईरहँदा चितवन, तनहुँ र बारामा उपनिर्वाचनको नतिजा प्रकाशित हुँदैछ ।

यसले एउटा मिनी निर्वाचनको झलक दिँदैछ । आम जनताहरु कसरी मन परिवर्तन गर्दैछन् ? किन ठूला भनिएका दलहरुको साख गिर्दैछ ? रबी लामिछानेलाई देवत्वकरण भन्दा पनि ईतर दलका मान्छे भक्षक लाग्न थाल्यो जनमानसलाई । परिवर्तन खोज्दैछन् जनता । निर्मम समिक्षाको विषय बनाउनुपर्छ । नयाँतिरको आकर्षण बढ्नुको कारण ठूला दलको राजावाद त हैन ? अर्थात् मौसूफ शैलीको आकर्षण नहोला भन्न सकिन्न । देशभन्दा दल माथि, दलभन्दा गुट र गुटभन्दा माथि व्यक्ति हुनु नै हो ।

यहि देशको दुर्दशा हो । भुई मान्छेहरु आजित छन् । जहाँ पनि मेरो र तेरोको कुरा छ । नैतिकता र सत्यमाथि खडेरी पर्दै गएको छ । अराजक व्यवहार हावी हुँदैछ । सिस्टमको अनुभूति छैन । सरकार ढाल्ने र राख्नेका कुरा मात्र छन् । जनताका भन्दा कुर्चीका एजेण्डा चर्चित छन् । राईट पर्सन ईन राईट जब देख्न पाईदैन । राम्रोभन्दा पनि हाम्रो चाहिएको छ राजनीतिमा ।

राजनीति गर्नै नहुने ठाउँ न्यायालय, विश्वविद्यालय जस्ता ठाउँमा हेरिनसक्नुछ । न्याय मर्दैछ । कुनै जमाना थियो, न्यायाधिशलाई माई लर्ड भनेर हृदयबाटै सम्बोधन गरिन्थ्यो । अहिले हुज लर्ड भन्ने भईसक्यो । पहिला गीताको पुस्तकलाई छोएर कसम खानुपथ्र्यो । अहिले छ कि छैन कुन्नी । सबै धर्म छाडा भए । ईश्वरको नाममा लिईने कसम अहिले छोडियो । पाप धर्मको चेतसम्म पनि छैन । एन केन प्रकारेण कानुनको आँखा छल्न पाए जे पनि गर्छ मान्छे । ईश्वरले देख्याछ ठान्दैन ।

कहाँ गए हाम्रा पुर्खाका धर्म ? नैतिकता ? आचरण ? के यहि नै सभ्यता हो त ? आधुनिकताको नाममा गरिएको भद्रता यस्तै हुन्छ र ? हाम्रा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने व्यवहार र शैली यीनै हुन् त ? भाई बैनी र छोराछोरी पुस्ताले यस्तै ढाट्ने छल्ने सिक्दैछन् । कसैले कसैको सम्मान र मर्यादा गर्न छाडे । जे पनि बोल्छन् । सामाजिक सञ्जाल फोहरी भैसक्यो । यो सिकाउने को हो ? ठूलालाई सम्मान र सानालाई माया भन्ने सिकिएको थियो हामीले । अहिले मान्छे यान्त्रिकीकरणतिर धकिलिदैछ । यसैलाई आधुनिक भन्न रुचाउँछ । हाम्रो सँस्कृती त तमसोमा ज्योतिर्गमय हो ।

अहिले अलिकति बचेकुचेको उज्यालो पनि बत्ति निभाएर सक्छन् । पश्चिमा सँस्कृतिले हाम्रो समाज बिद्रुप पार्दैछ । शहरीकरण सँगै कुरुपता भित्रीदैछ । यसको कसले हेक्का राख्ने खै ? हाम्रा सुन्दर अध्यात्मका शिक्षालाई चिन्तन, अध्ययन र ग्रहण गर्न सकेमा समाज अनुशासित र सभ्य हुने कुरामा कुनै शंका छैन । आम जनता सुशासन र न्यायका भोका छन् । यसको तृप्ति राजनीतिमा आध्यात्मिक धारणाबाट मात्र सम्भव छ ।

तसर्थ, राजनीतिमा शुद्धता ल्याउन धर्मलाई सँगै हिँडाउन जरुरी छ । धर्मको सामान्य अर्थ कर्तव्य हो । धर्म एकातिर व्यवहार अर्कोतिर हुँदा राजनीति डर्टि भएको हो । धर्मले त्यो गर भन्छ तर व्यवहारले यो गर भएको छ । महाभारत र रामायणका कथाले पनि सिकाएकै छन्, धर्मका विरुद्ध निर्णय गर्दाको परिणाम कस्तो हुन्छ भनेर । नेता समदर्शी हुनैपर्छ ।

प्रत्येक व्यक्तिसँग समान व्यवहार गर्न सक्नैपर्छ । यो लिंग, यो जात, यो दल नभनि मानव धर्मले हेर्न सामथ्र्य राख्नैपर्छ । तेरो मेरोबाट माथि उठ्नैपर्छ । यसैलाई भनिन्छ सायद मानवताको धर्म । आजको आवश्यकता पूर्वाग्रहबाट मुक्त राजनैतिक प्रणालीको छ । यो अवस्थाबाट मुक्त हुन व्यक्तिमा खुल्ला हृदय जरुरी छ । खुला हृदय तब मात्र हुन्छ जब ऊ भित्र अध्यात्म जन्मन्छ । आध्यात्मिकताले व्यक्तिलाई ईमान्दारी र प्रतिवद्ध बनाउन सघाउँछ ।

जुन अपराध रहित समाजको लागि अत्यन्तै जरुरी छ । यद्यपि आधिकारीक संरक्षण विना आध्यात्मिकता विकास हुन कठीन देखिन्छ । त्यसै भनिएको हैन, धर्मो रक्षति रक्षितः । यदि यसो हुन सकेन भने भगवान धर्म स्थापनार्थ अवतारी बन्ने कुरा निश्चित छ ।

तपाईको प्रतिक्रिया