दरबन्दी पुरा नहुँदा मुस्ताङ अस्पतालकाे सेवा प्रवाहमा समस्या


जोमसोम ।
मुस्ताङ अस्पतालमा पर्याप्त स्थायी दरबन्दी पदपूर्ती हुन नसक्दा सेवा प्रवाहमा समस्या आएको छ । पन्ध्र शैयाको मुस्ताङ अस्पतालमा कुल स्थायी दरबन्दीको करिव आधा जनशक्ति पदपूर्ती नहुँदा सेवा सञ्चालनमा समस्या परेको छ ।
मुस्ताङ अस्पतालमा १ जना नवौं तहको मेडिकल सुपरिटेन्डनसहित १८ जनाको स्थायी दरबन्दी छ तर, अहिले अस्पतालमा स्थायी दरबन्दी मध्येका ५ जना कार्यालय सहयोगीसहित ८ जना रिक्त रहेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए । उनका अनुसार मुस्ताङ अस्पतालमा एक जना नवौं तहको चिकित्सकसहित अहेब चौथो ३ जना मध्ये १ जना, अनमी २ मध्ये १ जना र कार्यालय सहयोगी ५ जना रिक्त रहेको हो ।
२०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पतालले ४८ वर्ष बितिसक्दा समेत स्थायी दरबन्दीका नवौं तहका चिकित्सक पाउँन सकेको छैन । स्थायी दरबन्दीतर्फ आठाैं तहका १ जनालाई मेसुको निमित्त जिम्मेवारी दिईएको छ । मेसु पदको लागि अन्तिम पटक लोक सेवा खुलेको भएपनि कसैको आवेदन नपरेको अस्पतालका निमित्त मेडिकुल सुपरिटेन्डन डा. विशाल तिवारीले बताए ।
हालको अवस्था आशिंक स्थायी दरबन्दी पदपूर्ती भईसकेको मेसु तिवारीको भनाई छ । डा. तिवारीले कार्यालय सहयोगीको स्थायी दरबन्दी रहेपनि करारबाट पदपूर्ती भएकाले समस्या नरहेको उल्लेख गरे । अस्पतालको हालको दरबन्दीमा संशोधन गरिनु पर्ने मेसु तिवारीको भनाई छ ।
अस्पतालमा पदनै नभएको ठाउँमा स्वास्थ्य मन्त्रालयले समायोजन गरी सातौं तहका १ जना जनस्वास्थ्य अधिकृत पदपूर्ती गरिएको छ भने छैटौं तहका ४ जना ,पाचौं तहका १ जना र चौथो तहका ३ जना स्थायी कर्मचारी छन् ।
मुस्ताङ अस्पतालमा स्थायी दरबन्दी बाहेक करार तथा अस्थायी कर्मचारीहरुको संख्या १८ जना छन् । जसमध्ये छात्रवृद्धि करारका एक जना नवौं तहका चिकित्सक छन् भने अन्य दुई जना आठौं तहका छात्रवृद्धि करारका चिकित्सक रहेको मुस्ताङ अस्पतालले जनाएको छ । योसँगै प्रदेश ,स्थानीय तह र अन्य संञ्चालन भएको कार्यक्रमबाट करारमा भर्ना भएका १५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी रहेको बताइएको छ ।
मुस्ताङ अस्पतालमा स्थायी दरबन्दी पदपूर्ती नहुने र करार सेवाका स्वास्थ्यकर्मी तथा कर्मचारीले सम्झौता अवधि नसकिदै जागिर छोडेर अन्यत्र जाने भईरहेकाले मुस्ताङ अस्पतालको सेवा प्रवाहमा समस्या थपिएको हो । पछिल्लो समय गण्डकी प्रदेश सरकारले अप्रेसन ईकुमेन्ट सामाग्री उपलब्ध गराएपछि मुस्ताङ अस्पतालमा प्रसुती शल्यक्रिया तथा सामान्य अप्रेसन गर्ने शल्यक्रियाको सेवा दिन थालिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया