सरकारकाे नेतृत्व कांग्रेसले गर्ने

समाधान संवाददाता २०८० वैशाख १४ गते ११:५६

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि दिएको समय बिहीबार सकिँदै छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्ने समय घर्किँदै जाँदा गठबन्धनका दलहरु सहमतिनजिक पुगेका छन् ।

Advertisement

एमाले नेतृत्वको सरकार ढलेपछि दौडमा रहेका कांग्रेस, माओवादी केन्द्र सहमतिनजिक पुगेका हुन् । गण्डकीमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

जस अनुसार पहिला कांग्रेसले सरकारको नेतृत्व करिब सहमति बनेको माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडाले बताइन् । ‘आलोपालो अनुसार नै गण्डकीमा कांग्रेसले नै पहिलो नेतृत्व गर्ने करिब करिब निश्चित भएको छ,’ उनले भनिन्, ‘हामी छलफलमै छौं, बिहीबारसम्म अन्तिम निर्णयमा पुग्छौं ।’

गण्डकी प्रदेशको नेतृत्व पहिला माओवादीले पाउने सुईंको पाएपछि कांग्रेसका सबै सांसद काठमाडौं पुगेका थिए । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि प्रचण्ड गण्डकीको नेतृत्व पहिला कांग्रेसलाई दिन तयार भएको कांग्रेस नेताले बताउँदै आएका थिए । सहमतिसँगै कांग्रेस सांसदहरु मंगलबार पोखरा फर्किएका छन् ।

एकातिर माओवादीले नेतृत्वमा दाबी छाडेको छैन भने अर्कातिर कांग्रेस माओवादीको समर्थन पाउनेबित्तिकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छ

Advertisement

मंगलबार माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दबाब दिन उनी काठमाडौं पुगे । प्रचण्डसँगको भेटपछि चुमान पोखरा फर्किएका छन् । काठमाडौंबाट फर्किएका चुमान केन्द्रको निर्णय कुरेर आएको बताए ।

‘केन्द्रबाट हामी बसेर निर्णय गर्छौंं भन्नुभएको छ, काठमाडौंबाट फोन आएपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढ्छ,’ चुमानले भने ।

कांग्रेस भने माओवादीको समर्थन पाउनेबित्तिकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छ । ‘माओवादीको समर्थन कुरेर बसेका छौं, कांग्रेस तयारी अवस्थामा छ । माओवादीलाई कुरिरहेका छौं,’ एक कांग्रेस सांसदले भने ।

माओवादीले समर्थन नगरे पनि बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन् । आह्वान गरेको समयसिमाभित्र कुनै दलबाट दाबी नभएमा संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि सरकारलाई ३१ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

पुस २५ गते उपधारा (२) अनुसार नै खगराज अधिकारी नेतृत्वको सरकार बनेको थियो । माओवादीले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शनिबार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतको प्रस्ताव संसदमा पेस गरेका थिए । विश्वास मतको प्रस्तावको पक्षमा २४ मत मात्रै पर्‍यो भने विपक्षमा ३५ भोट परेको थियो ।

तपाईको प्रतिक्रिया