प्रजातन्त्रवादी संर्घषशील दलित नेता–गणेश

पोखराका पुराना कांग्रेसका नेता गणेश परियारलाई धेरैले सम्झिरहन्छन् एक निष्ठावान्, प्रजातन्त्रवादी दलित नेताका रूपमा ।
वास्तवमा उनका समग्र जीवन केलाउँदा स्वतन्त्रता सेनानी निष्ठावान्, प्रजातन्त्रका सिपाही थिए । उनले कहिले आफ्ना निम्ति पद, सत्ता मागेनन् । प्रजातन्त्रका मूल्य मान्यता सिद्धान्तका विरुद्ध कहिल्यै खडा भएनन् । निष्ठावान राजनीतिज्ञ परियारको सम्भवत उचित कदर सम्मान नभएता पनि गणेशका सुपुत्री कृष्ण परियारलाई संविधान सभाको सदस्य बनाएर थोरै भएपनि सम्झने प्रयास गरेको थियो ।
वि.सं. १९८९ श्रावण १५ गते पोखराको नदीपुरमा जन्मिएका गणेश सानै देखि प्रजातन्त्र प्राप्तिका लागि लागे । उनका बाबु दिलबहादुर पनि राजनीतिमा सक्रिय भएकाले गणेशले बाबुलाई पछ्याउँदै प्रजातन्त्र प्राप्तिका लागि पनि नेपाली कांग्रेसमा सक्रियतापूर्वक लागे । उनका बाबु छोराले ०७ सालको आन्दोलनमा नेपाली कांग्रेसकाे झण्डा सिलाईदिन्थे ।
२०११ सालको सत्याग्रहका सक्रिय रूपमा सहभागी गणेश परियार ०१२ सालमा नेपाली कांग्रेसकाे राष्ट्रिय अधिवेशनमा वीरगंज पनि पुगे । त्यस्तै उनी २०१४ सालको भद्रअवज्ञा आन्दोलनमा सक्रियतापूर्वक भाग लिए । ०१५ सालको निर्वाचनमा क्षेत्र नं. ९९ मा मिनबहादुर गुरुङलाई जिताउन अहोरात्र जुटे । २०१६ सालमा पोखरामा सम्पन्न पश्चिमाञ्चल राष्ट्रिय सम्मलेनमा उनले भाग लिएको प्रजातन्त्रमा सेनानी भोजराज भण्डारी बताउँछन् ।
उनले नेपाली कांग्रेस र प्रजातन्त्र संरक्षण गर्न पुर्याएको योगदान अविष्मरणीय छ
२०१७ साल पौष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी शासन हातमा लिए । यस घटनाले परियारलाई चोट पुर्यायो । केही दिन घरमै लुके । त्यसपछि रातारात सेती नदी तरेर आर्वा पुगे । आर्वामा पनि असुरक्षित भएको थाहा पाएर भारतको वनारस पुगे । त्यहाँ उनको दलित नेता डा. भीमराव अम्वेडकरसँग भेट गरे । उनी लुक्दै छिपी नेता सुवर्ण शमसेरलाई भेट्न कलकत्ता पुगे ।
त्यहाँबाट पर्चा, पम्प्लेट ल्याएर पोखरामा छरे । ०१८ सालको सशस्त्र आन्दोलनले सफलता नपाएपछि स्थानीय निवासमा कब्जा गर्ने सुवर्ण समसेरको रणनीति अनुरूप पोखरा नगर पञ्चायत वडा नं. ३ को सदस्य बने । २०३५ साल मार्ग १३ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विपी कोइराला पोखरा आउने क्रममा स्वागत गर्न पुगेका गणेश परियारलाई पञ्चहरुले बाँकी राखेनन् । नराम्ररी कुटाई खाए । ०३६ सालको सत्याग्रहमा गण्डकी अञ्चलाधीश कार्यालयमा धर्ना दिन गिरफ्तार भए । ०४६ सालको जनआन्दोलनमा लागे । लामो समय जेल परे । बहुदलको घोषणा पछि उनी मुक्त भए ।
२०३५ साल माघ १५ गते केशव रेग्मीको अध्यक्षतामा गठित प्रतिवन्धित नेपाली कांग्रेसका पोखरा नगर समितिको सदस्य गणेश परियार ०१६ सालमा गठित नेपाली कांग्रेस क्षेत्र नं. ९९ को सदस्य भए । जसको सभापतिमा लीलाभक्त आचार्य थिए ।
गणेश परियार आफ्नो पुख्र्यौली पेशालाई भन्दा पनि प्रजातन्त्र र दलितका अधिकारबारे बढी ध्यान दिन्थे । उनी दौरा सुरुवाल, कोट, इष्टकोट सिलाउन खप्पिस थिए । उनका समग्र जीवन कष्ट, दुःख, जेलनेल, संर्घषमा बितेको देखिन्छ । पछिल्लो पटक दलित आयोगको उपाध्यक्ष समेत बनेको उनका सुपुत्री पूर्व संविधान सभा सदस्य कृष्णकुमारी परियार बताउँछिन् ।
गणेश परियारको विशेष पहलमा पोखरा १८ धारापानीमा परियार कुल मन्दिर निर्माण गरिएको थियो । परियारका हाल ३ सुपुत्र र ५ सुपुत्री छन् । प्रजातन्त्र, राष्ट्र र समाजको सेवा गर्दा गर्दै विसं २०६० साल मार्ग ७ गते यस धरातलबाट स्वतन्त्रता सेनानी गणेश परियारले सदा सदाका लागि बिदा लिएका थिए ।
परियार सेवा समितिका अध्यक्ष समेत भएका उपासक गणेश परियार धर्मशीला बुद्ध विहारमा पनि जाने गर्दथे । पार्टीले आफूलाई न्याय गर्नेमा उनी विश्वस्त थिए । उनले जीवनभर नेपाली कांग्रेस र प्रजातन्त्रप्रतिको मोह छोड्न सकेनन् । यसरी उनले नेपाली कांग्रेसका र प्रजातन्त्र संरक्षण गर्न पुर्याएको योगदान अविष्मरणीय छ । उनी नेपाली कांगे्रसको इतिहासमा कहिले नमेटिने अमिट छाप बनेर रहिरहनेछन् ।
तपाईको प्रतिक्रिया