प्रजातन्त्रवादी संर्घषशील दलित नेता–गणेश

पोखराका पुराना कांग्रेसका नेता गणेश परियारलाई धेरैले सम्झिरहन्छन् एक निष्ठावान्, प्रजातन्त्रवादी दलित नेताका रूपमा ।
वास्तवमा उनका समग्र जीवन केलाउँदा स्वतन्त्रता सेनानी निष्ठावान्, प्रजातन्त्रका सिपाही थिए । उनले कहिले आफ्ना निम्ति पद, सत्ता मागेनन् । प्रजातन्त्रका मूल्य मान्यता सिद्धान्तका विरुद्ध कहिल्यै खडा भएनन् । निष्ठावान राजनीतिज्ञ परियारको सम्भवत उचित कदर सम्मान नभएता पनि गणेशका सुपुत्री कृष्ण परियारलाई संविधान सभाको सदस्य बनाएर थोरै भएपनि सम्झने प्रयास गरेको थियो ।
वि.सं. १९८९ श्रावण १५ गते पोखराको नदीपुरमा जन्मिएका गणेश सानै देखि प्रजातन्त्र प्राप्तिका लागि लागे । उनका बाबु दिलबहादुर पनि राजनीतिमा सक्रिय भएकाले गणेशले बाबुलाई पछ्याउँदै प्रजातन्त्र प्राप्तिका लागि पनि नेपाली कांग्रेसमा सक्रियतापूर्वक लागे । उनका बाबु छोराले ०७ सालको आन्दोलनमा नेपाली कांग्रेसकाे झण्डा सिलाईदिन्थे ।
२०११ सालको सत्याग्रहका सक्रिय रूपमा सहभागी गणेश परियार ०१२ सालमा नेपाली कांग्रेसकाे राष्ट्रिय अधिवेशनमा वीरगंज पनि पुगे । त्यस्तै उनी २०१४ सालको भद्रअवज्ञा आन्दोलनमा सक्रियतापूर्वक भाग लिए । ०१५ सालको निर्वाचनमा क्षेत्र नं. ९९ मा मिनबहादुर गुरुङलाई जिताउन अहोरात्र जुटे । २०१६ सालमा पोखरामा सम्पन्न पश्चिमाञ्चल राष्ट्रिय सम्मलेनमा उनले भाग लिएको प्रजातन्त्रमा सेनानी भोजराज भण्डारी बताउँछन् ।
उनले नेपाली कांग्रेस र प्रजातन्त्र संरक्षण गर्न पुर्याएको योगदान अविष्मरणीय छ
२०१७ साल पौष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी शासन हातमा लिए । यस घटनाले परियारलाई चोट पुर्यायो । केही दिन घरमै लुके । त्यसपछि रातारात सेती नदी तरेर आर्वा पुगे । आर्वामा पनि असुरक्षित भएको थाहा पाएर भारतको वनारस पुगे । त्यहाँ उनको दलित नेता डा. भीमराव अम्वेडकरसँग भेट गरे । उनी लुक्दै छिपी नेता सुवर्ण शमसेरलाई भेट्न कलकत्ता पुगे ।
त्यहाँबाट पर्चा, पम्प्लेट ल्याएर पोखरामा छरे । ०१८ सालको सशस्त्र आन्दोलनले सफलता नपाएपछि स्थानीय निवासमा कब्जा गर्ने सुवर्ण समसेरको रणनीति अनुरूप पोखरा नगर पञ्चायत वडा नं. ३ को सदस्य बने । २०३५ साल मार्ग १३ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विपी कोइराला पोखरा आउने क्रममा स्वागत गर्न पुगेका गणेश परियारलाई पञ्चहरुले बाँकी राखेनन् । नराम्ररी कुटाई खाए । ०३६ सालको सत्याग्रहमा गण्डकी अञ्चलाधीश कार्यालयमा धर्ना दिन गिरफ्तार भए । ०४६ सालको जनआन्दोलनमा लागे । लामो समय जेल परे । बहुदलको घोषणा पछि उनी मुक्त भए ।
२०३५ साल माघ १५ गते केशव रेग्मीको अध्यक्षतामा गठित प्रतिवन्धित नेपाली कांग्रेसका पोखरा नगर समितिको सदस्य गणेश परियार ०१६ सालमा गठित नेपाली कांग्रेस क्षेत्र नं. ९९ को सदस्य भए । जसको सभापतिमा लीलाभक्त आचार्य थिए ।
गणेश परियार आफ्नो पुख्र्यौली पेशालाई भन्दा पनि प्रजातन्त्र र दलितका अधिकारबारे बढी ध्यान दिन्थे । उनी दौरा सुरुवाल, कोट, इष्टकोट सिलाउन खप्पिस थिए । उनका समग्र जीवन कष्ट, दुःख, जेलनेल, संर्घषमा बितेको देखिन्छ । पछिल्लो पटक दलित आयोगको उपाध्यक्ष समेत बनेको उनका सुपुत्री पूर्व संविधान सभा सदस्य कृष्णकुमारी परियार बताउँछिन् ।
गणेश परियारको विशेष पहलमा पोखरा १८ धारापानीमा परियार कुल मन्दिर निर्माण गरिएको थियो । परियारका हाल ३ सुपुत्र र ५ सुपुत्री छन् । प्रजातन्त्र, राष्ट्र र समाजको सेवा गर्दा गर्दै विसं २०६० साल मार्ग ७ गते यस धरातलबाट स्वतन्त्रता सेनानी गणेश परियारले सदा सदाका लागि बिदा लिएका थिए ।
परियार सेवा समितिका अध्यक्ष समेत भएका उपासक गणेश परियार धर्मशीला बुद्ध विहारमा पनि जाने गर्दथे । पार्टीले आफूलाई न्याय गर्नेमा उनी विश्वस्त थिए । उनले जीवनभर नेपाली कांग्रेस र प्रजातन्त्रप्रतिको मोह छोड्न सकेनन् । यसरी उनले नेपाली कांग्रेसका र प्रजातन्त्र संरक्षण गर्न पुर्याएको योगदान अविष्मरणीय छ । उनी नेपाली कांगे्रसको इतिहासमा कहिले नमेटिने अमिट छाप बनेर रहिरहनेछन् ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया