टेबल टेनिस दिवसमा प्रतियोगिता

समाधान संवाददाता २०८० वैशाख १४ गते १४:३४

पोखरा ।
विश्व टेबलटेनिस डेको अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्यूनीकरणका लागि काम गर्ने गैरसरकारी संस्थाबिच टेबल टेनिस प्रतियोगिता मंगलबार सम्पन्न भयो ।

Advertisement

कार्यक्रममा नौलो घुम्ती नेपालका पूर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सदस्य खड्गबहादुर रानाभाटले व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठूलो हुने बताए ।

जिल्ला टेबल टेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलीप गुरुङले टेबल टेनिस खेलले व्यक्तिको मानसिक तथा शारीरिक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नु पर्ने बताए ।

प्रतियोगितामा मेन्स सिङगलतर्फ रिचमन्ड फेलोसिपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोस्रो, हेल्पिङ हेन्सका सञ्जित केसी र सुमन क्षेत्री तृतीय भएका थिए ।

वुमन्स सिङगलतर्फ प्रथम, दोस्रो र तृतीय सबै नौलो घुम्ती नेपालका क्रमशः निलीमा रजक, अन्जना थापा मगर, अनु दवाडी र शिवानी गौतम भएका थिए ।

Advertisement

मेन्स डबलतर्फ हेस्पिङ हेन्सका सञ्जित केसी र सागर सापकोटा प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा र अनिष सापकोटा दोस्रो, रिचमन्ड फेलोसिपका अनुश त्रिपाठी र विकास क्षेत्री तथा मनोजकुमार गुरुङ र सन्तोष गुरुङ तृतीय भएका थिए ।

इन्टरनेसनल टेबल टेनिस फाउन्डेसनको आर्थिक सहयोगमा लागु पदार्थ दुव्र्यसनीको उपचारार्थ रिहाबमा भर्ना भएका व्यक्तिहरुलाई टेबल टेनिस खेलको माध्यमबाट सोचाइमा सकरात्मकता ल्याइ जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नौलो घुम्ती नेपालका कार्यक्रम संयोजक ओम गुरुङले बताए ।

प्रतियोगितामा कास्की जिल्लामा रहेका कम्युनिटी सपोर्ट ग्रुप, रिचमन्ड फेलोसिप, गौरव नेपाल, नौलो घुम्ती नेपाल, रिकभरी नेपाल, हेल्पिङ हेन्स् लगायत ८ वटा संस्थाका ३६ जना खेलाडीहरुको सहभागिता थियो ।

विजेता खेलाडीहरुलाई जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी, संघका सचिव तथा पत्रकार कृष्ण रानाभाट, रिकभरी नेपालका दिलीप गुरुङ लगायत अतिथिहरुले मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया