उदीयमान खेलाडीमा छानिए सुमित, रवि र सुवास

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर्स अवार्डको रौनक बढ्दै छ । मनोनयनमा सार्वजनिक भएका विधामध्ये उदीयमान तर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । यसको मनोनयनमा गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा मात्रै नभई अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी छन् । मनोनयनमा पर्ने खेलाडीहरु फुटबलका सुमित श्रेष्ठ, क्रिकेटका सुवास भण्डारी र भलिबलका रवि केसी छन् ।
रवि केसी, भलिबल
नेपाली भलिबलमा चम्किएको नाम हो गण्डकी प्रदेश । पुरुष भलिबलमा चम्किएको गण्डकीले पछिल्ला केही वर्षयता पुनः नेपाली भलिबलमा हैकम जमाइरहेको छ ।
गण्डकी टिमका खेलाडीमध्ये पर्छन् रवि । २०६६ मा बागलुङ गलकोट नगरपालिका ७ मा जन्मिएका रवि स्थानीय खेल खेल्दै प्रदेश हुँदै यु २३ को राष्ट्रिय टिमबाट खेलिरहेका छन् । स्पाइकर रविले २०७८ मा पहिलो पटक डेब्यु गरे । दोस्रो संस्करणको टाइगर कप आमन्त्रित महिला/पुरुष भलिबलबाट गण्डकीमा आफूलाई डेब्यु गराएका उनी छोटो समयमै राष्ट्रिय टिममा पनि परे । २०७९ मा यु २३ राष्ट्रिय टिममा परे । उनको खेल कौशलकै कारण नेपाल यु २३ राष्ट्रिय टिममा उनी पर्न सफल भए ।
बंलादेशमा भएको बगबन्धु एसियन सेन्ट्रलजोन भलिबल च्याम्पियनसिप उनको पहिलो अन्तर्राष्ट्रिय खेल हो । रवि बागलुङको टिम क्याप्टेनसमेत हुन् । २३ वर्षीय केसी तेस्रो संस्करणको टाइगर कपका सर्वोत्कृष्ट खेलाडी हुन् । टाइगरकप र मुख्यमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडीसमेत रहेका रवि नेपालका लागि उत्कृष्ट खेलाडी बन्न सक्छन् ।
सुमित श्रेष्ठ, फुटबल
पोखराका सुमित श्रेष्ठ आशालाग्दा फुटबल खेलाडी हुन् । नेपालकै चर्चित ए डिभिजन क्लब मनाङ मस्र्याङ्दीबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी मिड फिल्डर हुन् । तर उनी डिफेन्डरदेखि स्ट्राइकरसम्म बन्ने खुबी राख्छन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको फुटबल यात्राले उनलाई अहिले राष्ट्रिय टिममा पुर्याएको छ । एन्फाले आयोजना गरेको राष्ट्रिय फुटसल लिगबाट उनी चर्चामा आए । पोखरामै सम्पन्न फुटसल लिगमा समेत उनी उदीयमान खेलाडी घोषित भए ।
हाल राष्ट्रिय सिनियर टिमबाट खेलिरहेका उनले थ्रिनेसन्स कपमा स्वर्णसमेत हात पार्न सफल भए । स्पोट्र्स क्यासलबाट खेलेका उनी फुटसलकै राष्ट्रिय टिममा परे । सन् २०२२ अप्रिल १ देखी २१ सम्म किर्गिस्तानमा भएको एफसी एसियन कप छनोटमा पहिलो पटक अन्तर्राष्ट्रिय डेब्यु गरे ।
२०२२ मै फुटसलबाटै फुटबलमा आएका उनी पहिलो पटक यु २० राष्ट्रिय टिममा पर्दै साफ यु–२० च्याम्पियनसिपसमेत खेले ।
२०२२ मै वहराइनमा यु–२० एसिएन कप छनोट खेल्नसमेत पुगेका थिए ।
सुवास भण्डारी, क्रिकेट
बागलुङका सुवास भण्डारी१९ वर्ष पुगे । नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर भण्डारी गण्डकी यु १९ का टिम कप्तान हुन् । नेपाललाई यु १९ विश्वकप छनोटमा पुर्याउन उनको ठूलो योगदान रह्यो ।
उनले विश्वकप छनोटका लागि पाँच खेल खेले । ती खेलमा उनले ७ विकेट लिएका छन् । भण्डारी बागलुङमा जन्मिए पनि खेलथलो भने कास्की हो । उनी गण्डकीका मुख्य खेलाडीमा पर्छन् । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा उनले १४ विकेट लिएका थिए । उनले विकेटमात्र होइन, ६ खेलमा १ सय २४ रनसमेत बनाएका थिए ।
प्रदेश छनोटपश्चात उनी सुरुवाती २८ मा पर्न सफल भए । यही वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा वर्ष उदीयमान खेलाडीसहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँका साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।
तपाईको प्रतिक्रिया