माओवादी–नेपाल समाजवादी पार्टी एकता नहुने

समाधान संवाददाता २०८० वैशाख १८ गते १०:२६

काठमाडौं ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी बीचको एकता प्रक्रिया तत्कालका लागि बन्द भएको छ । माओवादी केन्द्र र नेसपाले मंसिर ४ गतेको चुनावलगत्तै एकता गर्ने तयारी थालेका थिए ।

Advertisement

तर, पार्टी एकता गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा बाबुराम भट्टराईबीच सहमत नभएपछि एकता नहुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कम्युनिस्ट विचार छोड्न तयार नभएपछि तत्काल एकता नहुने नेसपा केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए ।

‘प्रचण्ड कमरेड कम्युनिस्ट विचार छोड्न नमान्ने हुनुभयो । पार्टीको नाम समाजवादी राखे पनि अगाडि नेकपा राखौं भन्नुभयो ।

बाबुराम सर कम्युनिस्ट छोडिसकेकाले कम्युनिस्ट नाम राख्न मान्नु भएन’ पाण्डेले भने, ‘अन्तिममा प्रचण्ड कमरेड कम्युनिस्ट नछोड्ने, बाबुराम सर कम्युनिस्ट नमान्ने भएपछि तत्काल एकता नहुने भयो ।’

प्रचण्ड कमरेड कम्युनिस्ट नछोड्ने, बाबुराम सर कम्युनिस्ट नमान्ने भएपछि तत्काल एकता नहुने भयो’

Advertisement

तर, माओवादीसहित जसपा, एकीकृत समाजवादी ,नेसपा लगायतका दल मिलेर समाजवादी मोर्चा बनाउने तयारी भइरहेको उनले बताए । ‘अहिले तत्काल प्रचण्ड बाबुरामबीच एकता हुन सकेन । वैचारिक रुपमै कुरा मिलेन’ पाण्डेले भने, ‘अब समाजवादी मोर्चा बनाएर एजेन्डामा एक ठाउँमा आउने अवस्था हुँदै छ । त्यो मोर्चा अबको केही हप्ताभित्रै घोषणा हुन्छ ।’

नेसपा अध्यक्ष भट्टराईले पनि माओवादीसँगको एकता करिब सिद्धिसकेको बताएका छन् । भट्टराईले माओवादीमा पुरानै धङधङी कायमै देखिएकाले एकता हुन नसकेको बताए । ‘हामी लामो समय सहकार्य गरेकाले निर्वाचनमा सहयोग गरेको हुँ ।

विचार मिल्दै गएमा एकता गरौं भनिएकै हो । घटनाक्रमले के देखायो उहाँहरु पुरानो माओवादी धङधङी अझै त्याग्न तयार देखिनुभएन । तत्काल पार्टीगत रुपमै एकता हुने सम्भावना देखिएन’ भट्टराईले भने, ‘समाजवादी मोर्चा बनाएर सहकार्य गर्दै गएर एकाध वर्षपछि एकता हुने झिनो सम्भावना छ ।’

माओवादी केन्द्रले नेसपासहित विभिन्न कम्युनिस्ट वामपन्थी शक्तिसँग एकता गर्न पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा ५ सदस्य वार्ता टोली गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल सदस्य छन् ।

नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली बनाएको छ । वार्ता टोलीले सबै विषयमा सहमति गरेर पार्टीको नाम र पार्टीको वैचारिक लाइनका विषयमा छिनोफानो गर्न प्रचण्ड र भट्टराईलाई जिम्मा दिएको थियो ।

तपाईको प्रतिक्रिया