कोरलाको दैलो कुर्दै मुस्ताङी

सडक मार्ग पुगेपछि पर्यटकको लर्काे सँगसँगै कृषि उत्पादनले बजार पाएको छ । अब नाका खुल्ने आशामा छन् मुस्ताङी ।

सुन्दरकुमार थकाली २०८० वैशाख १९ गते १०:११

सुन्दरकुमार थकाली
जोमसोम ।
कुनै बेला मुस्ताङ विकट हिमालपारिको दुर्गम थियो । यहाँ न सडक थियो, न त बिजुली । अहिलेको जस्तो इमेल, इन्टरनेटको पहुँच त परैको कुरा भयो ।


भौगोलिक विकटता र जीविकाको विकल्प नहुँदा मुस्ताङका बासिन्दा जिल्ला छोडेर वैकल्पिक रोजगारका लागि बेसी झर्थे, विदेश पुग्थे । जिल्लामा कुल भूगोलको १ प्रतिशत पनि खेतीयोग्य जमिन छैन, पर्यटक पनि सडक नहुँदा आउने कुरै थिएन । यद्यपि विदेशी पर्यटक भने त्यो बेला पनि मुस्ताङ घुम्न आउँथे ।


तर, त्यतिले मात्र मुस्ताङीको जीवनस्तर उक्सेन । सडक, बिजुली, इन्टरनेट नहुँदा शिक्षा, स्वास्थ्य र रोजगारका ढोका पनि बन्दै थिए । तर, ५० को दशकअघिको विकट हिमालपारीको मुस्ताङ अब त्यस्तो रहेन । समृद्ध पर्यटकीय स्थलको रुपमा मुस्ताङ अग्रसर छ ।

Advertisement


२०५९ मा नेपाली सेनाले म्याग्दी र मुस्ताङको सडक ट्र्याक खोलेपछि मुस्ताङीले आउजाउमा राहत पाए । सडक कच्ची नै भए पनि केही आन्तरिक तथा बाह्य पर्यटक मुक्तिनाथ दर्शन गर्न आउन थाले । तर, मुस्ताङका गाउँ गाउँमा अहिलेको जस्तो सडक पुगेको थिएन । संघीयतापछि संघ, प्रदेश र स्थानीय तहबाट धमाधम ग्रामीण सडक विस्तार भएका छन् । मुस्ताङका किसानले सजिलै बजार पाएका छन् ।


भारतीय नाकाबन्दीपछि सरकारले उत्तरतर्फका नाका पनि खोल्ने लक्ष्य लियो । २०७४ मा राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना सुरु भयो । बेनी जोमसोम ७६ किमी कालोपत्र र जोमसोम—कोरला ग्राभेल सडकका लागिसाँढे ६ अर्ब विनियोजन भयो ।

Advertisement


बेनी जोमसोम ४ खण्ड र जोमसोम कोरला ७ खण्डमा सडक स्तरोन्नति सुरु गरियो । राष्ट्रिय गौरवको सडकसुरु भएको ५ वर्ष भयो । यस अवधिमा जोमसोम कोरला ग्राभेल सडकको भौतिक प्रगति ९५ प्रतिशत र बेनी—जोमसोम कालोपत्र सडकको भौतिक प्रगति ७५ प्रतिशत छ । यसका अलावा पछिल्ला २ वर्षयता ३ योजना थपिएको बेनी जोमसोम कोरला सडक आयोजना प्रमुख जगत प्रजापती बताउँछन् ।


मालढुंगा बेनी १३ किमीस्तरोन्नति, बेनी गलेश्वर ३ किमी कालोपत्र र जोमसोम कागबेनी १३ किमी कालोपत्र थपिएका योजना हुन् । बेनी जोमसोम कोरला सडकको अनुमानित लागत ७ अर्ब ५२ करोडमा ६ अर्ब बजेट खर्च भइसकेको आयोजना प्रमुख प्रजापतीले सुनाए ।


१०२ किमी कालोपत्र सडक, ११० किमी ग्राभेल सडक र १५ पुलका लागि यो बजेट हो । ५ पुल बनिसकेका छन् भने १० निर्माणाधीन छन् । बेनी—जोमसोमको ३० किमी कालोपत्र भइसकेको छ । प्रजापती आयोजना ०८१/०८२ मा सक्ने लक्ष्य सुनाउँछन् । यसमा मन्त्रालयले जोमसोम कोरला सडक योजना थपे १ वर्ष समय थपिने उनी बताउँछन् ।


सडक पहुँच पुगेपछि मुस्ताङीको जीवन बद्लिएको छ । रोजगारी, व्यवसाय र जीविकाका लागि विदेश पलायन हुने क्रम बढेको छ । घोडा, खच्चड र मानिसले बोकेर खाद्यान्न र निर्माण सामग्री ल्याउनुपर्ने वाध्यता हटेको छ । जिल्लाका स्याउ लगायत उत्पादनले सहजै बजार पाएका छन् ।


पैदल हिडेर बिरामीलाई सुगमको अस्पतालमा लैजान पथ्र्यो । कर्मचारीसमेत जिल्ला आउन मान्दैनथे । अहिले मुस्ताङको मुहार फेरिन थालेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन् ।


‘सडक पहुँचले मुस्ताङमा बर्सेनि लाखौं पर्यटक आउन थालेका छन् । पर्यटन व्यवसाय फस्टाएको छ,’ अध्यक्ष तुलाचनले भने, ‘विदेश गएकाहरु पनि फर्केर व्यवसाय गर्न थालेका छन् ।’ उनले सडक यातायातले पर्यटक बढे पनि व्यवसायिक लाभ लिनका लागि पर्यटकीय पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए ।


उपल्लो मुस्ताङसम्म मोटरबाटो नहुँदा त्यहाँ फाट्टफुट्ट विदेशमात्र पुग्ने, नेपाली हम्मेसी जाँदैनथे । लोमान्थाङको हिमालयन गेस्ट हाउसका सञ्चालक गोम्बो गुरुङ अहिले मौसमका बेला दैनिक २ ससदेखि ३ सय नेपाली आउने गरेको सुनाउँछन् । गुरुङले भने, ‘अहिले विदेश जाने र बेसी झर्ने परम्परा रोकिएको छ, कोही होटल त कोही कृषि कर्ममा जोडिन थालेका छन् ।’ उनले पुराना पदमार्ग मासिएकाले वैकल्पिक पदमार्ग निर्माणमा जोड दिए ।


सडक नहुँदा जोमसोमबाट लोमान्थाङ पैदल जाँदा ४ दिन लाग्थ्यो । अहिले ५ घन्टामै लोमान्थाङ र कोरला पुगिन्छ । पर्यटक प्याकेजमै सवारी रिजर्भ गरी मुस्ताङ आउन थालेको ठिनी थकाली सामुदायिक होमस्टेकी सचिव जुमा थकाली बताउँछिन् । ‘मुख्य बजारका होटलभन्दा होमस्टेमा लोकल उत्पादन र सर्वसुलभ खाना र बस्नले पहुनालाई लोभ्याएको छ ।’


बर्सेनि ६५ करोडको स्याउ उत्पादन हुने मुस्ताङमा अहिले सहज बजारीकरण भइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटी बताउँछन् । संघीय तथा प्रदेशले स्याउका विरुवा किन्न अनुदान दिन थालेपछि यहाँ उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार हुँदै छ ।


पूर्वसांसद प्रेमप्रसाद तुलाचन कोरला नाका खुले मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै मुहार बदलिने बताउँछन् । लोमान्थाङ ५ का वडा सदस्य छेवाङ रिन्जिङ गुरुङ कोरला नाका खुले चिनियाँ उत्पादन आयात र नेपाली उत्पादनको निर्यात गर्न सहज हुँदा यहाँका स्थानीयको आर्थिक अवस्थामा ठूलो बद्लाव आउने दाबी गर्छन् ।


नाका खोल्न चिनिया पक्ष सकारात्मक देखिन्छ । कोरलासम्म सडक पुगे पनि नेपालको दशगनामा अझै भौतिक संरचना बनेका छैनन् । कोरलामा पूर्वाधार निर्माणका लागि हालै सर्भे भएको जनाउँदै लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले चाडै नाका खुल्नेमा आशावादी छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया