रुपा गाउँपालिका: विद्यार्थीलाई ल्याब, अभिभावकलाई बाख्रा

समाधान संवाददाता २०८० वैशाख १९ गते १२:१६

पोखरा ।
कास्कीको रुपा गाउँपालिका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने क्रममा कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालिएको छ । एक साथ ती विद्यालयमा पढ्ने विपन्न तथा गरिब विद्यार्थीका अभिभावकलाई आयआर्जनका जोड्ने काम भएको पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

पालिका र असल छिमेकी सहयोग संघ (गोनेसा) पोखराको साझेदारीमा सञ्चालन गरेको सामुदायिक विकास कार्यक्रममार्फत ६ विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ । ती विद्यालयमा खानेपानी शुद्धिकरण प्रणालीसमेत जडान गरिएको गोनेसा पोखराका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । आर्थिक अभावको कारण विद्यार्थीले विद्यालय छोड्न नपरोस् भनेर अभिभावकको लागि आयआर्जनको कार्यक्रम अन्तर्गत १ सय ६७ किसानलाई बाख्रा तथा कुखुरापालन र तरकारी खेतीको सहयोग प्रदान गरिएको छ ।

विद्यालयमा कम्प्युटर प्रयोगशाला, खानेपानी तथा अभिभावकको आयआर्जन सहयोग कार्यक्रमको लागि जर्मन सरकारको संघीय आर्थिक साझेदारी तथा विकास मन्त्रालय (बीएमजेड) जर्मन संस्था कार्ल कुबेल स्टीफ्टुङ फर काइण्ड एण्ड फेमेलिज (केकेएस)ले आर्थिक सहयोग प्रदान गरेको छ ।

Advertisement

पालिकामा १० माध्यमिक सहित २९ सामुदायिक विद्यालय छन् । ति मध्ये १५ विद्यालयमा कार्यक्रम सञ्चालित छ । पालिकाका अध्यक्ष ओझाले रुपा १ स्यास्त्रीको कालिका माध्यमिक विद्यालय, रुपा ७ माझगाउँ हंसपुरको अरुणोदय आधारभूत विद्यालय र रुपा ७ कुसुन्नेको देउराली आधारभूत विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाको उद्घाटन गरे । अध्यक्ष ओझाले शैक्षिक विकासको लागि योजना निर्माण गरेको जानकारी दिए । ‘शैक्षिक गुणस्तर कायम गर्न तथा विद्यालय स्तरको शिक्षालाई प्रविधिमैत्री बनाउने अभियानका साथ गोनेसासँगको सहकार्यमा कम्प्युटर प्रयोगशाला स्थापना गरेका छौं,‘उनले भने, ‘प्रविधि जाने शिक्षक स्वयंको क्षमता विकाश हुन्छ । कम्प्युटर शिक्षककोमात्र भर परेर हुँदैन । आवश्यक पर्दा सबै शिक्षकले जानेर कम्प्युटर शिक्षा पढाउनु पर्छ ।’ उनले आधारभूत तहको विद्यालयमा शिक्षकले पढाउने विषय छुट्टिन्न उल्लेख गरे । उनले इन्टरनेट हेरेर कक्षा ५सम्मको सबै विषय पढाउनु सुझाव दिए ।

गोनेसाका अध्यक्ष सुवेदीले उद्घाटन भएका ३ समेत गरी रुपाको जनता माध्यमिक विद्यालय पोल्याङ, चन्द्रप्रभा माध्यमिक विद्यालय रुपाकोट र जटेश्वर माध्यमिक विद्यालयमा ४५ लाख ५० हजार बराबरको लागतमा कम्प्युटर प्रयोगशाला स्थापना भएको जानकारी दिए । सबै कम्प्युटर प्रयोगशालामा गरेर ८ सय ८२ विद्यार्थीले प्रयोगात्मक शिक्षा हासिल गरेको उल्लेख गर्दै उनले कार्यक्रम अन्तर्गत थप १ विद्यालयमा प्रयोगशाला बनाउने बताए । उनले समय सापेक्ष रुपमा प्रविधिमैत्री नभए शिक्षक पेशाको भविश्य सुनिश्चित नहुने तर्क गरे ।

Advertisement

पालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले शिक्षा, कृषि र पशुशाखाको अगुवाइमा लक्षित समूहलाई समेटेर अभिभावक सहयोग कार्यक्रम गरेको जानकारी दिइन् । उनले कार्यक्रम अन्तर्गत रुपा ७ हाँस पोखरीका इन्द्राणी कृषक समूहका १८ किसानलाई खोर निर्माणमा सहयोग गरेर बाख्रा वितरण गरेको बताइन् । उनले महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत दलित, महिला, अपांगता भएका व्यक्ति र एकल महिलालाई समेत समेटेर कार्यक्रम गरेको उल्लेख गरिन् । उनले पालिकाले महिलाको उद्यमशिलताको विकास र आय आर्जनको लागि धेरै कार्यक्रम गरेको दाबी गरिन् ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, पालिकाका शिक्षा तथा युवा शाखाका प्रमुख सन्दिप पौडेल,गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल,देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक मिमकाजी प्रधान, अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक जंगबहादुर भुजेल, इन्द्राणी कृषक समूह हाँस पोखरीका अध्यक्ष चित्रबहादुर नेपाली लगायतले सामुदायिक विकास कार्यक्रमको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया