पोखरामा सिरिज ‘ब्रह्माण्ड’ को छायाँकन, भारतको ओटीटी प्लाटफर्ममा रिलिज गरिने

समाधान संवाददाता २०८० वैशाख २१ गते १८:५०

पोखरा ।
खासगरी सिरिज निर्माणको ट्रेन्ड छिमेकी मुलुक भारतमा बढी छ । हलिउड र बलिउडका चर्चित कलाकार नै सिरिज निर्माणमा लागिरहेका छन् । नेपालमा भने छिटफुट रुपमा मात्रै सिरिज निर्माण हुन्छ । अझ व्यवसायिक हिसाबले सिरिज निकै पछाडि छ । यस्तैमा कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले एक सिरिज निर्माण गर्न लागेको छ । सिरिजको नाम हो ‘ब्रह्माण्ड’ ।

सस्पेन्स फिल्मी ड्रामा र नेपालको प्राकृतिक सुन्दरतालाई दर्शाउने कथामा सिरिज बन्दै गरेको कान्तिपुर फिल्म एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पुरीले जानकारी गराएका छन् । उनकाअनुसार बाबुछोराको शहरसँगको सम्बन्ध र त्यसले पारेको प्रभावका विषयलाई समेट्न खोजिएको छ । आफुले निर्माण गर्ने सिरिजले बजारीकरणसमेत गर्ने दाबी उनको छ ।

उसो त नेपालमा ओटीटी प्लाटफर्म सोचेजस्तो नहुदा सिरिज निर्माणमा धेरैको ध्यान नपुगेकै हो । डिजिटल मार्केटमा नेपाली दर्शक कमै छन् । यति हुुँदा हुँदैपनि कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले जोखिम मोलेको पाइन्छ । बजार र दर्शकको अभावमा पनि सिरिजलाई कस्तो सफलता मिल्ला हेर्न बाँकी छ । तर निर्माण युनिट भने निकै आशवादी देखिन्छ ।

Advertisement

पुरी भन्छन्, ‘यो सिरिज माध्यम कन्टेन्टलाई अडियन्स समक्ष पुर्याउने प्रयत्न गरिएको हो । सिनेमा भन्दा माथि उठेर डिजिटल प्लाटफर्ममा नेपाली कथालाई पुर्याउने जमर्को हाम्रो हो । सिनेमाका सबै कथा अब हलमा मात्रै हेरेर सम्भव हुँदैन । सिरिजलाई लिएर आशावादी छौं ।’

नेपाली कथा अब विश्व बजारमा पुग्न आवश्यक छ । चाहे सिनेमाको माध्यमबाट होस् या सिरिज । कन्टेन्टलाई हिरो बनाएर अगाडि बढे सफलता अवश्य मिल्नेछ । विदेशी कन्टेन कपीमै रमायौं भने नेपाली दर्शकले सिरिजलाई पत्याउने छैनन् । सिरिज ‘ब्रह्माण्ड’ यूनिटको नेपालीपन झल्काउने दाबी छ ।

Advertisement

पोखराको ओपन हाउस, गुप्तेश्वर गुफा, चरक मेमोरियल हस्पिटल, लेकसाइड स्ट्रिट, ट्रेडमल, मिडटाउनमा लगायतका स्थानमा छायाँकन गरिएको सिरिजमा कलाकारहरु सुनील थापा, अर्पण थापा, राजन खतिवडा, विष्णु पहारी लगायतको अभिनय रहेको छ । पहिलो चरणमा तीन एपीसोडको छायाँकन पोखरामा गरिएको हो । सिरिजको सम्पूर्ण छायाँकन पोखरामा नै गर्ने तयारीमा निर्माण युनिट छ ।

सिरिजलाई ओटीटी प्लाटफर्म जी फाइव र अमेजन प्राइममा रिलिज गरिने टोपी स्टुडियोका संचालक सागर राज आचार्यले बताए । उनकाअनुसार सिरिज माध्यम पोखराको सुन्दरतालाई विश्व बजारमा पुर्याउन मदत पुग्नेछ ।

तपाईको प्रतिक्रिया