रुपाको समृद्धि यात्रा

विवेक ओझा
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरी वि. सं. २०७२ मा जारी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप नेपालका ७ सय ५३ स्थानीय तहमध्ये एक स्थानीय तह हो रूपा गाउँपालिका । संवैधानिक व्यवस्था अनुरुप विसं ०७४ वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनपश्चात त्यही सालको जेठ ५ को कार्यपालिकाको चुनावसँगै जनप्रतिनिधिसहित जेठ १६ मा भएको पदबहालीसँगै रूपा गाउँपालिकाले आफ्ना जनप्रतिनिधिमार्फत् विकासको लयमा आवद्ध भएको छ ।
रूपा गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रूपाकोट, देउराली, सिद्ध गाविसका सबै र साबिक हंसपुर गागिसका (वडा नं ५ र ८ बाहेकका) भूभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित छ । क्षेत्रफल ९४.८१ वर्ग किमी तथा भूवनोटका दृष्टिले पहाड, फाँट, एवं टारहरु भएको, विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउँपालिका हो । यसको सर्वाङ्गीण विकासका लागि स्थानीय सरकारले हरतरहले प्रयत्न गरिरहेको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँपालिकाको काखमा कास्की जिल्लाका प्रसिद्ध तालमध्येको रूपाताल अवस्थित छ । तालकै नाममा नामाकरण भएको यस गाउँपालिकामा रहेको प्रकृतिको उपहार रूपाताल एक सुन्दर मनमोहक दृश्यले युक्त रहेको छ । साबिकको जनप्रतिनिधि विहीन अवस्थाका कारण विकास निर्माणको ढोका खुल्न नसकेको अवस्थाको तुलनामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै जनप्रतिनिधिसहित स्थापना भएको रुपा गाउँपालिकाले आफ्ना नागरिकलाई विविध क्षेत्रको विकास निर्माणको प्रत्यक्ष अनुभूति गराउन सफल भएको छ । यहाँ विगतको अवस्था र हाल गाउँपालिकाबाट विकासका लागि भएका प्रयासलाई तुलनात्मक रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
मोटर बाटो
स्थानीय सरकार स्थापनाअघि गाउँपालिकाभित्र सडकको स्थिति अत्यन्त दयनीय थियो । सबै वडामा ट्रयाकको रूपमा सामान्य कच्ची सडक थिए । गाउँपालिकाले पहिलो पटक अमेरिकन प्रविधिको अस्फाल्ट पिच सुरुवात ग¥यो । अहिले गाउँपालिकाका मुख्य सडक कालोपत्र भएका छन् । गाउँपालिका भित्रका हरेक समुदाय, टोल टोलमा मोटरबाटो पुगेको छ । पालिकामा पहिले वर्षायामको समयमा खोला बढ्ने समस्याले सवारी साधन र स्वयं मानिसलाई आवतजावत गर्न नसक्ने अवस्था थियो ।
अहिले पक्की पुलहरु निर्माण भएका छन् । कास्कीदेखि लमजुङ, मनाङसम्म जोड्ने ऐतिहासिक सडक कालोपत्र भएको छ । गाउँपालिकाका सबै बडा कार्यालय जोड्ने सडक आवश्यकता अनुसार कालोपत्र÷ढलान भएका छन् । गाउँपालिकाका मानिसलाई आवतजावत गर्नका लागि आवश्यकता अनुसार झोलुंगे पुलहरू निर्माण भएका छन् । पालिकाभित्र सडकको स्तरोन्नति भएसँगै किसान हर्षित छन् । उनीहरुले उत्पादन गरेका वस्तुलाई सजिलैसँग बजारसम्म पु¥याएर बजारीकरण गर्ने वातावरण बनेको छ । सँगसँगै गाउँपालिकाभित्र उत्पादन बढेको छ, यहाँका युवा कृषि, पशुपालनमा लागेका छन् ।
खानेपानी
रूपा गाउँपालिका खानेपानीका लागि निकै समस्या रहेको भूभाग हो । खानेपानीका लागि मानिसहरु धारा, कुवामा घण्टौं लगाएर लाइनमा बस्नुपर्ने बाध्यता थियो । खानेपानीको समस्याले मानिस बसाइँसराइ गरी बाहिर जानुपर्ने बाध्यता बनेको थियो । स्थानीय सरकार बनेपछि गाउँपालिकाले सबै ठाउँका पानीका मुहान तथा स्रोतहरू खोजी विभिन्न योजना अघि सा¥यो । हाल गाउँपालिकाभित्र एक घर एक धारा कार्यक्रममार्फत बहुसंख्यक जनताको घरमा पानी पुगेको छ । गाउँपालिकाभित्र खानेपानीको सुविधा भएपछि स्थानीय कृषि पेशामार्फत रोजगारीमा जोडिन अग्रसर देखिन्छन् ।
कृषि
गाउँपालिकाभित्र बसोबास गर्ने अधिकांश मानिस कृषिमा सम्वद्ध छन् । उनीहरूको मुख्य आय स्रोत भनेकै कृषि हो । जीवन कृषि पेसाबाटै चल्छ । गाउँपालिकाले कृषि क्षेत्रमा किसानका माग र आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शीर्षकमा अनुदानको व्यवस्था गरेको छ । भूगोल अनुसार सिँचाईको क्षेत्रमा फाँट तथा टार र खेतीयोग्य जमिनको पहिचान गरी सिँचाइको व्यवस्था मिलाई साना ठूला थुप्रै कुला बनाइएको छ ।
जस्तै? मादी नजिकको टार तथा फाँटहरुमा लिफ्टिङ सिँचाइ गरी हिउँद वर्षा सिँचाईको व्यवस्था मिलाइएको छ । कृषिमा खेती योग्य ठाउँको माटो परीक्षण गरी बाली विज्ञलाई वातावरण अनुकूल बालीको पहिचान गराई उक्त स्थानमा सिँचाइको व्यवस्था गरी कृषि पेशालाई प्रोत्साहन गरी बाँझो रहेको जमिनमा खेती गर्नका लागि प्रोत्साहन गरेको छ ।
युवा तथा बेरोजगारसँग सम्वन्वय गरी रोजगारी र आयआर्जनमा जोडी विदेशिने युवालाई आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्नका लागि तालिमको व्यवस्था गरी कृषि क्षेत्रलाई अगाडि बढाएको छ । गाउँपालिकाभित्र कृषिलाई आधुनिकीकरण गरी उत्पादित वस्तुको बजारीकरण गर्नका लागि ढुवानीका लागि रकम उपलब्ध गराई कृषि एम्बुलेन्स सेवा उपलब्ध गराउने, कोल्ड स्टोर स्थापना गर्ने, कृषि यान्त्रीकरण गर्ने जग्गा चक्लाबन्दी गर्ने काम भइरहेको छ ।
रूपा गाउँपालिकामा पशुपालनको ठूलो सम्भावना छ । जनताको जीवनस्तर उकास्नका लागि हालको परम्परागत कृषि व्यवसायलाई आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले व्यवसायिक फर्म, समूह, सहकारी गठन गरी तालिमको व्यवस्था गरेको छ । साना किसानको भकारो सुधार, गोठ सुधार लगायतका कार्य गरेको छ । पशु स्वास्थ्यका क्षेत्रमा शिविर आयोजना, मोबाइल डाक्टर सेवा तथा निःशुल्क घुम्ती प्राविधिक सेवा उपलब्ध गराएको छ । माछाको पकेट क्षेत्र घोषणा गरी उत्पादनमा जोड दिइएको छ । प्रत्येक वडालाई विभिन्न कृषि पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
शिक्षा
शिक्षा नै समाज विकासको महत्वपूर्ण अंग हो । शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सके यसले दिने परिणाम समाजलाई सही दिशातर्फ डो¥याउनका लागि र जनताको जीवनमा परिवर्तन ल्याउन कोसेढुंगा साबित हुन्छ । अबको शैक्षिक आवश्यकता भनेको नैतिक, व्यावहारिक र प्राविधिक शिक्षा नै हो ।
विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि गाउँपालिकाले प्रधानाध्यापक तथा कक्षा शिक्षक प्रोत्साहन, शिक्षक तालिम, विद्यालय व्यवस्थापन समिति र प्रधानध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरी क्षमता विकास गर्ने, शैक्षिक क्यालेन्डर, शिक्षक डायरी निर्माण तथा लागू गरी शिक्षकलाई पोशाक, कक्षा शिक्षकलाई सञ्चार सुविधा गरी गाउँपालिकाले एक शिक्षक एक ल्याप्टप कार्यक्रम ल्याई अनुदानको व्यवस्था गरेको छ ।
विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय स्थापना लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिका भित्रका विद्यालयका हरेक भवन पक्की बनेका छन् । व्यवहारिक शिक्षाको आवश्यकता परिपूर्तिका लागि प्राविधिक शिक्षाको कार्यान्वयन भएको छ । गाउँपालिकामा सिभिल इन्जिनियरिङ डिम्लोमा र कृषि विषयमा पढाइ भइरहेको छ । पहिला प्राविधिक शिक्षा पढ्नका लागि लाखौं तिरेर महँगो कोठा भाडा तिरेर सहरमा गएर पढ्न पर्ने अवस्था थियो । गरिब किसानका छोराछोरी ती प्रावविधिक विषय अध्ययन गर्न नसक्ने अवस्था थियो ।
गाउँपालिकाले गरिबका छोराछोरीले पनि प्राविधिक शिक्षा पढ्न पाउनुपर्छ भनेर सस्तो रकममा गाउँ गाउँमा प्राविधिक शिक्षाको स्थापना र सञ्चालनमा जोड दिएको हो । अहिले गरिबका छोराछोरी बिहान–बेलुका आफ्नो घरको काम गरेर दिउँसोमा आफ्नै गाउँमा आफ्नै घरमा बसेर प्राविधिक शिक्षा पढ्न पाएका छन् । यो गाउँमा भएको ठूलो परिवर्तन हो । वडा नम्बर ५ स्थित रहेको विश्वशान्तिको माविमा गण्डकी प्रदेशकै सूचना प्राविधि मैत्री नमुना विद्यालय सञ्चालनमा ल्याइएको छ ।
रुपा गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम हामी र हाम्रो रुपा २०७७ निर्माण गरी कार्यान्वयन गरेको छ । हाल पलिकाले स्थानीय पाठ्यपुस्तक प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको छ । अहिले स्थानीयले आफ्ना छोराछोरीलाई पढाउन बजार पठाउने क्रम कम भएको छ । गाउँमा मानिसको चाप बढेको छ । मानिसहरु गाउँ फर्केने लहर आएको छ ।
स्वास्थ्य
जनताको जीवन स्वास्थ बनाउन सकियो भने समाज र सिंगो देशलाई नै स्वास्थ्य बनाउन सकिन्छ । पहिला रुपा गाउँपालिकाका सबै वडामा स्वास्थ्यको पहुँच थिएन । स्थानीय सरकार आएपछि स्वास्थ्यको पहुँच नभएका वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । वडा कार्यालय भवनहरु निर्माण भएका छन् । सबै स्वास्थ्य चौकीमा ल्याब राखिएको छ । गर्भवती महिलालाई निःशुल्क क्याल्सियम चक्की वितरण गरिएको छ ।
पालिकालेरूपाकोट अस्पताल स्थापना गरेर दक्ष तथा अनुभवी चिकित्सक राखेको छ । पहिले बिरामी हुँदा यहाँका मानिस घन्टौँ हिँडेर सदरमुकामसम्म जानुपर्ने अवस्था थियो । अहिले प्रायः सबै रोगको उपचार गाउँपालिकाभित्र नै हुन्छ । जनतालाई अस्पतालसम्म पु¥याउनका लागि गाउँपालिकाले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
पर्यटन
रुपा गाउँपालिका अत्यन्त सुन्दर मनोरम हरियाली वातावरणमा रहेको सामाजिक, सांस्कृतिक, जातीय, भौगोलिक तथा ऐतिहासिक हिसाबले महत्वपूर्ण स्थान हो । रुपा प्राकृतिक सुन्दरताले युक्त रुपातालको नामबाट नामाकरण गरिएको गाउँपालिका हो । यो ताल संरक्षण र संवद्र्धनका लागि रुपाताल एकीकृत परियोजना कार्यान्वयन गरिएको छ । यो परियोजना राष्ट्रकै नमुना परियोजना हो । रुपा गाउँपालिकाबाट सुन्दर, मनोरम हिमश्रृङ्खला, पोखराका अधिकांश स्थान, फेवाताल, बेगनासताल, रुपातालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
यही सुन्दरताको कारणले यहाँ बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुलदेखि उच्च ओहोदाका व्यक्तित्व, बेलायती राजकुमार चाल्स हिंडेको रोयल ट्रयाकसमेत यसै गाउँपालिकामा पर्दछ । रोयल ट्रयाक विकासका लागि गाउँपालिकाले पदमार्ग बनाउने, पर्यटन विकासका लागि भ्यु टावर निर्माण गर्ने, होमस्टे बनाउने, पार्क निर्माण, मठ मन्दिर, गुम्बा, मस्जिद र चौतारीका सम्बर्धन गरी सबै डाँडाकाँडालाई जोडेर बृहत पदमार्ग निर्माण सुरु गरेको छ ।
गाउँपालिकाले पहिलो पटक तालमाथि झोलुंगे पुल निर्माण गरेको छ । त्यस पुलबाट देखिन मनोरम दृश्य अवलोकन गर्न आउने स्वदेशी तथा बिदेशी पर्यटनको घुइँचो लाग्न थालेको छ । पालिकाले आफ्नो स्थापना दिवसमा यहाँका जातजातिका विभिन्न संस्कृति झल्कने झाँकी, नृत्य तथा परम्परा प्रदर्शन गर्ने गरेको छ ।
खेलकुद
रुपाले खेलकुदको क्षेत्रमा पनि आफ्ना कार्यक्रम कार्यान्वयन गरेको छ । गाउँपालिकाले खेलाडीलाई मध्यनजर गर्दै प्रत्येक वडामा खेल मैदान निर्माण गरी प्रत्येक टोलका क्लबलाई खेलकुदका सामग्री वितरण गर्दै आएको छ । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान यमबहादुर राना र नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी दिपेश आलेमगर गाउँपालिकाका राष्ट्रिय खेलाडी हुन् । गाउँपालिकाले प्रत्येक वर्ष अध्यक्ष कप भलिबल प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यस पालिकाका खेलाडी राष्ट्रिय टोलीदेखि प्रदेश र जिल्लाका टिममा पनि समावेश छन् । राष्ट्रिय स्तरका खेलाडीलाई गाउँपालिकाले रूपा रत्न सम्मानद्वारा सम्मानित गरेको छ ।
साबिकमा जनप्रतिनिधि विहीनताका कारण विकास, निर्माणको ढोका खुल्न नसकेको अवस्थाको तुलनामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै जनप्रतिनिधिसहित स्थापना भएको रुपा गाउँपालिकाले आफ्ना नागरिकलाई विविध क्षेत्रको विकास निर्माणको प्रत्यक्ष अनुभूति गराउन सफल भएको छ ।
हाल जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी भएको विकास निर्माणमा सहयोग गर्ने गाउँपालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक समाजसेवी लगायत सम्पूर्ण जनताको सहयोगको महत्वपूर्ण छ । रुपाको विकासका पूर्वाधार खडा गर्न विभिन्न किसिमका आयोजना छुट्याई सहयोग गर्ने संघीय तथा प्रदेश सरकारका जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण देखिन्छ ।
तपाईको प्रतिक्रिया