मुस्ताङमा ट्याक्टरको ईन्जिन पल्टिदा सहचालकको मृत्यु

जोमसोम—मुस्ताङको थासाङ—१ टुकुचे र घरपझोङ—२ मार्फाबीचको सडक किनारामा शनिवार बिहान करिव ९ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
कालिगण्डकी नदीबाट बालुवा लोड गरी निर्माण स्थलतर्फ फर्किदै गर्दा ग १त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको ईन्जिन रहेको भाग अनियन्त्रित भई पल्टिदा धौलागिरी गाउँपालिका—३ दरक बस्ने ३४ वर्षीय तक बहादुर बुढाको ईन्जिनले च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । ट्याक्टर थासाङ—२ बस्ने नगेन्द्र फगानीको रहेको बताईएको छ ।
टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटना स्थलमा पुगेको थियो ।प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ । ट्याक्टरको ईन्जिन पल्टिएर दुर्घटना भएपनि चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया