सम्पादकीय: पर्यटन प्रवद्र्धन र ड्रागन डुंगा

चीनसँगको समझदारीमा ड्रागन डुंगा दौड हुने खबर पर्यटनको अपार सम्भावना भएको पोखराका लागि सुखद हो । ८ वटा ड्रागन डुंगा ल्याएर आउँदो असार ८ र ९ गते ड्रागन डुंगा दौड महोत्सव नै गर्न पोखराका मेयर, पर्यटन बोर्ड र चिनिया दुतावासका अधिकारीबीच समझदारी नै भएको छ ।
ड्रागन डुंगा भनेका धेरैजनाको संख्यामा मानिसहरु एकसाथ बसेर हाँक्ने खालका डुंगा हुन् । बस्ने जति सबैले बहाना चलाएर हुँइक्याउने त्यस्ता डुंगा चीनमा प्रचलनमा छन् । ड्रागन त चीनको प्रतीक चिह्न जस्तै हो । त्यसमाथि ड्रागनको आकृति पनि डुंगामा हुन्छ र यस्ता विशेष डुंगालाई ड्रागन डुंगाको नाम दिइएको हुन्छ ।
त्यस्ता डुंगाको मूल्य हाम्रो फेवातालका डुंगाको तुलनामा सयौं गुना महँगो पनि हुन्छ । त्यस्तो डुंगा ल्याएर दौड महोत्सव चलाउनुको प्रमुख उद्देश्य पोखराको पर्यटन प्रवद्र्धन गर्नु नै हो । त्यसमाथि डुंगा दौडमा भाग लिन चीनका विभिन्न प्रान्तबाट सहभागी पनि आउने समझदारी छ । नेपालका सबै प्रदेशको पनि प्रतियोगितात्मक सहभागिता हुनेछ ।
समृद्धिका लािग पर्यटन नै पोखराको सबैभन्दा ठूलो आधार भनेर पहिचान गरिएको छ, गण्डकी प्रदेशले पनि समृद्धिको आधार पर्यटनलाई मानेको छ । भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटन भिर्याएरमात्रै पर्यटन सपना साकार पार्न सम्भव छ । भारत देशभरि डेढ अर्ब जनसंख्या पुगिसक्यो, लगभग त्यस्तै जनसंख्या चीनमा छ । नेपालसँग सीमा जोडिएका भारतका पश्चिम बंगाल, विहार र उत्तर प्रदेशको जनसंख्या आधा अर्ब जति छ । चीनलाई स्थल यातायातबाट अझै जोड्न नाकाहरु थप खोल्न सकिन्छ ।
यी दुई देशका पर्यटकमात्रै भिर्याउन सक्ने हो भने नेपालले नै पश्चिमा पर्यटकहरुमात्रै पर्खिनुपर्दैन । ड्रागन डुंगा दौड भने चिनिया पर्यटक भिर्याउने एउटा गतिलो कडी हुनसक्छ । केही वर्षयता चिनिया पर्यटकहरु पोखराका साहसिक र पदयात्रा गन्तव्यमा आकर्षित देखिन्छन् । उनीहरुकै देशको ड्रागन डुंगा पोखरामा पनि भिर्याउँदा पक्कै पनि त्यसले यहाँ उनीहरुलाई थप आकर्षित गर्नेछ । तसर्थ पोखरामा चिनिया पर्यटक भिर्याउन ड्रागन डुंगा दौड महोत्सव एउटा कोसेढुंगा सावित हुनसक्छ ।
हिमाल, नदीनाला, तालतलैया, पाखा पखेरा त हामीसँग छँदै छन् । पर्यटकका लागि ती प्राकृतिक वरदानमात्रै काफी हुँदैनन् । पर्यटनका लागि थुप्रै पूर्वाधार हामीले थप्नुपर्छ । थुप्रै प्रडक्ट दिनसक्नुपर्छ । चाडबाड, रीतिथिति र नयाँनयाँ गतिविधिमा आकर्षित गर्न सकेमात्रै पर्यटक आगमन बढ्नेछ । त्यसमध्येमा अब असारमा हुने ड्रागन डुंगा दौड महोत्सव एक महत्वपूर्ण इँटा हुनसक्छ ।
त्यो महोत्सव आयोजनाको पहलका लागि पोखरा महानगरपालिकालाई बधाई र अरु थप कार्यका लागि शुभकामना !
तपाईको प्रतिक्रिया