आत्मनिर्भर बन्ने सपना

रुद्रप्रसाद अधिकारी २०८० वैशाख २४ गते १२:०७

नेपाली अर्थतन्त्रको कुरा गर्दै गर्दा पंक्तिकारको मगजमा बाल्यकालमा रेडियोमा निकै गुन्जिने गरेको नेपाली चलचित्रको गीतको स्थायी याद आउँछ, ‘उहिले त बाजेको पालामा मोहोर गन्थे डालामा, अहिलेको हाम्रो पालामा मकै छैन डालामा …।’ त्यति बेला मनोरञ्जनका लागि यो गीत कयौं पटक गाउँदै नाच्ने गरियो । शब्दको गाम्भीर्य त्यति ध्यान दिइएन । अहिले शब्द केलाउँदै गर्दा उक्त गीतले केवल मनोरञ्जनमात्रै दिएको होइन रहेछ, हाम्रो अर्थतन्त्रको अवस्थालाई यथार्थ रूपमा चित्रण गर्दै परनिर्भरता बढ्दै गइरहेकोप्रति संकेत गर्दै सचेत हुन सन्देश पनि दिएको रहेछ भन्ने महसुस हुन थालेको छ ।

साँच्चिकै उहिलेको बाजेको पालामा डालामा मोहोर गनिन्थ्यो अर्थात् त्यति बेला हामी आर्थिक रूपमा आत्मनिर्भर थियौं । हामी किन्ने भन्दा पनि बेच्ने धेरै गथ्र्याैं । समग्रतामा भन्नुपर्दा हामी एक प्रकारले सम्पन्न थियौं र हाम्रो अर्थतन्त्र मजबुत थियो । यो कुरा प्रमाणित गर्न पंक्तिकारसँग कुनै तथ्यांक त छैन तर पनि उसले आफ्नो बाल्यकालमा देखेका, सुनेका र भोगेका केही दृष्टान्तले भने यसमा बल पुग्छ ।

विदेशबाट आएको रेमिट्यान्स विदेशी सामान किन्नमै खर्च हुँदा पैसा फेरि उतै फर्किएको छ । देश झन झन परनिर्भर बन्दै छ

Advertisement

त्यति बेला गाउँमा कुनै पनि खेतीयोग्य जमिन बाँझो थिएन । भीरपाखासमेत सम्मायर गरा बनाइन्थ्यो । प्रायः सबै परिवारका सदस्य कृषि कर्ममा लागेका हुन्थे, मौसम अनुसार वर्षमा तीन बाली उब्जानी गरिन्थ्यो । धान, मकै, कोदो, गहुँ, भटमास आदि ।

प्रायःका घरमा मकैका ठूला सुली देखिन्थे । धन्सारमा भकारीभरी मुरीका मुरी धान, गहुँ, कोदो, तोरी आदि हुन्थ्यो । प्रत्येकका गोठमा लैना बकेर्ना भैंसी हुन्थे, हुलका हुल भेडाबाख्रा हुन्थे । घर नजिकैको बारीमा खुर्सानी, अदुवा, लसुन, प्याज, साग, मुला, सिलम आदि लगाइएको हुन्थ्यो ।

Advertisement

कृषि उत्पादन यसरी गरिन्थ्यो कि दैनिक उपभोग्य तरकारीदेखि वर्षभरी आवश्यक पर्ने अन्नपात आफ्नै घरमा उत्पादन हुन्थ्यो, बेसाउनु पर्दैनथ्यो । बढी उत्पादन हुँदा बजारमा लगेर बेच्ने र घरमा उत्पादन नहुने वस्तु जस्तै नून, मसला, लत्ताकपडा आदि किनेर ल्याउने गरिन्थ्यो । त्यति बेला कपडाका लागि गाउँमा कपास खेती गरिन्थ्यो, भेडापालन गरिन्थ्यो ।

आफ्नै गाउँघरमा उत्पादित ताजा र स्वस्थ खानेकुरा खाइन्थ्यो । रोग, बिमार हुँदा जडिबुटी औषधि प्रयोग गरिन्थ्यो, आयुर्वेदिक उपचार पद्धति अपनाइन्थ्यो । भाँडाकुडाका लागि विभिन्न जिल्लामा फलामखानी, तामाखानी आदि सञ्चालन गरिएका थिए ।

स्थानीय रूपमा उपलब्ध काठ, बाँस, निगालो आदिबाट खाट, कुर्सी, टेबुल, मोडा लगायतका सामग्री बनाईन्थ्यो । केही लिखत बनाउनु परेमा या प्रशासनिक कामकाजका लागि स्वदेशमै उत्पादन हुने नेपाली कागज प्रयोग गरिन्थ्यो । गाउँमा सार्वजनिक प्रयोगका लागि श्रमदानमार्फत ठाँटी, पोखरी, चौतारी, गोरेटो घोडेटो बाटो, पुलपुलेसा, विद्यालय, मठ, मन्दिर आदि निर्माण गरिन्थ्यो । बिहे, ब्रतबन्ध जस्ता सामाजिक कार्य एकापसमा सहयोगभाव राखी न्यून खर्चमा सिद्ध गरिन्थ्यो । आपतविपदमा परेकालाई सहयोग गर्न मुठ्ठीदान गर्ने प्रचलन थियो ।

यी त केही दृष्टान्तमात्रै हुन् । अग्रजबाट यस्ता कुराको जानकारी अझ धेरै पाइन्छ । जे होस्। त्यति बेला हाम्रो अर्थतन्त्र एक प्रकारले आत्मनिर्भर थियो, रैथाने विशेषतायुक्त थियो र स्वचालित थियो भन्ने कुरामा निश्चिन्त हुन सकिन्छ । यसो भन्दै गर्दा के हामीले पहिलेकै अर्थ व्यवस्थालाई निरन्तरता दिनुपथ्र्याे ? के हामी पुरातनवादी हौं ? परिवर्तन विरोधी हौं ? के हामी बदलिँदो अन्तर्राष्ट्रिय परिवेश अनुसार चल्नु नपर्ने हो? भन्ने जस्ता प्रश्न उठ्न सक्छन् ।

प्रश्नहरु स्वभाविक छन् । त्यति बेलाका सबै कुरा सही थिए भन्ने पनि होइन । त्यति बेलाको जातीय, वर्गीय र लैंगिक विभेद जस्ता सामाजिक विभेदलाई नजरअन्दाज गर्न सकिंदैन । अशिक्षा, अज्ञानता र न्यून चेतना स्तरले जकडिएको समाजमा कुरीति र रुढीवादी परम्पराले निरन्तरता पाइरहेको कुरा सह्य थिएन । आम जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडकका पूर्वाधार अभावमा कष्टकर जीवन जिउँन बाध्य तुल्याउने र शासकहरु भने सुविधा सम्पन्न भएर महलमा सुखसयलसँग बस्ने कुरा जायज थिएन ।

अझै पनि हामीले के कुरा अंगाल्दै जानुपर्ने हो, के कुरालाई छोड्दै जानुपर्ने हो भन्ने विषयमा हामी प्रष्ट हुन जरुरी छ । हामी कहाँसम्म सही थियौं र कहाँनेर चुक्यौं भन्ने हेक्का हुनुपर्छ । कुन कुरा सत्य हो, वैज्ञानिक हो, हाम्रा लागि उपयुक्त हो र कुन कुरा रुढी हो, अवैज्ञानिक हो, हाम्रो दीर्घकालीन हितमा छैन भन्ने कुरा हामीले छुट्याउन सक्नुपर्छ ।

हामी विगतमा कृषिमा आत्मनिर्भर थियौं । मात्र आवश्यकता थियो कृषिको व्यवसायीकरण, प्राविधिकरण, बजार विस्तार र औद्योगिकरणको । हाम्रोमा उपलब्ध खनिज पदार्थ एक हदसम्म प्रयोग भइरहेको थियो । मात्र आवश्यकता थियो थप खोज, अनुसन्धान र औद्योगिकरणको । हामीले जडिबुटी र आयुर्वेदिक उपचार पद्धतिमा रहेको वैज्ञानिक पक्षलाई थप विकास र विस्तार गर्नुपर्दथ्र्याे । गुरुकुल शिक्षा पद्धतिलाई परिस्कृत रूपमा प्राविधिक र व्यवसायीक शिक्षासँग जोड्न सक्नुपथ्र्यो ।

श्रमदानमार्फत पूर्वाधार निर्माण गर्ने कुरालाई निरन्तरता दिन पथ्र्याे । यस्ता धेरै विषय छन् जुन छोड्दै जाँदा हामी झन् परनिर्भरतातर्फ धकेलिँदै गएका छौं । विशेषगरी सन् १९८० को दशकपछिको विश्वव्यापीकरण, उदारीकरण र निजीकरणको प्रभावले गर्दा हाम्रो अर्थतन्त्र उत्पादनमुखीभन्दा पनि आयातमुखी बन्दै गएको यथार्थलाई छिपाउन सकिँदैन ।

हाम्रो अपेक्षा थियो नवीनत्तम प्रविधि भित्र्याउने, मुलुकमा उपलब्ध स्रोत, साधनको अधिकत्तम परिचालन गर्ने, देशभित्र उत्पादन बढाउने र अधिकत्तम रोजगारी सिर्जना गर्ने । तर त्यसो हुन सकेन, बरु हामी झन् झन् परनिर्भर हुँदै गयौं र अहिले प्रतिव्यक्ति ७० हजारभन्दा बढी ऋणको भारी जन्मिदैदेखि हाम्रो थाप्लोमा छ ।

उदारीकरणले गर्दा व्यापार, व्यवसायमा लाग्नेको संख्या त बढायो तर छोटो समयमा धेरै नाफा कमाउने चाहनाले गर्दा स्वदेशमै उत्पादन गरेर बजार विस्तार गर्ने भन्दा पनि विदेशबाट तयारी वस्तु आयात गरी व्यापार गर्नेमा केन्द्रित भएको पाइयो । खुला बजार नीतिका कारण विदेशी उत्पादनले बजार ओगट्दै जाँदा स्वदेशी उद्योग धारासायी हुने स्थिति देखा पर्‍यो ।

राजनीतिक अस्थिरताका कारणले गर्दा पनि स्वदेशी उद्योगहरु बन्द हुने र थप रोजगारीको अवसर सिर्जना नहुने स्थितिमा रोजगारीका लागी विदेश जाने बाटो खुला हुँदा युवा विदेश पलायन हुने क्रम तीव्र रूपमा बढ्यो । स्वदेशमै दुःख गरौं, मेहनत गरौं, संघर्ष गरौं भन्ने भन्दा पनि तत्कालै विदेशमै गएर कमाएर रेमिट्यान्स पठाउन सहज हुने खालको वातावरण हामीले तयार पार्‍याैँ ।

उक्त रेमिट्यान्सको माध्यमबाट भित्रिएको रकम स्वदेशी उत्पादनमा खर्च हुनुको सट्टा विदेशी सामान आयातमै बढी खर्च हुन पुग्यो र फलस्वरूप विदेशबाट भित्र्याइएको रकम पुनः विदेश नै फर्किने अवस्था बन्यो । आज हाम्रो भान्सामा छिमेकी मुलुकबाट आयातीत तरकारी पाक्छ, हामीले लगाउने एउटा पनि कपडा नेपालमा बनेको छैन ।

हामीले प्रयोग गर्ने भाँडाकुडा विदेशी ब्रान्डका छन् र हाम्रो घर तथा कार्यालयमा प्रयोग हुने फर्निचरसमेत बाहिरबाट ल्याइएको छ । बिहान उठ्नेबित्तिकै प्रयोग हुने साबुनदेखि बेलुका सुत्ने बेलामा ओढ्ने ओछ्याउनेसम्मका सामग्री प्रायः आयातीत छन् ।

कतिपय अहिले हामीले प्रयोग गरिरहेका वस्तु एक, दुई दशकअघि स्वदेशमै उत्पादित हुन्थे भन्दा अचम्म मान्नुपर्ने अवस्था आएको छ । मुल रूपमा हाम्रो परम्परागत अर्थ व्यवस्था समाजवादी प्रकृतिको थियो तर विस्तारै हामीले अति पुँजीवादी प्रवृत्तिलाई प्रश्रय दिंदै गयौं । विश्वव्यापीकरणका प्रभावले आएको राजनीतिक जागरणसँगै पुँजीवादी वातावरणमा हामीले नेपाली राजनीतिक दलहरुलाई मलजल गरी हुर्कायौं । र तिनै राजनीतिक दललाई जबर्जस्त रूपमा समाजवादी अर्थतन्त्रको नारा भट्याउन लगायौं, लगाइरहेका छौं ।

समाजवादी होस् या पुँजीवादी अर्थ व्यवस्था, यदि राज्य सञ्चालक जिम्मेवार हुने हो भने आर्थिक उन्नति तीव्र रूपमा हुने रहेछ भन्ने कुराको पुष्टि छिमेकी मुलुक चीन र भारतलाई हेर्दा हुन्छ । राज्य सञ्चालकले मुलुकभित्र उपलब्ध स्रोत, साधनको न्यायोचित वितरणमा ध्यान दिने, स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिने, विज्ञान र प्रविधिलाई आत्मसाथ गर्दै आफ्नो माटो सुहाउँदो नीति तथा कार्यक्रममार्फत विकास निर्माण कार्यलाई गति दिने र जनताको जीवन स्तरमा दीर्घकालीन सुधार ल्याउने तवरले कार्य गर्ने हो भने बल्ल मुलुक विकास र समृद्धिको दिशातर्फ अगाडि बढ्छ । अन्यथा मुलुक सधैं परनिर्भरता र आर्थिक संकटको दुष्चक्रमा परिरहन्छ ।

हामीले पहिलेको जस्तो स्वाधीन, आत्मनिर्भर र रैथाने विशेषताको हाम्रो अर्थतन्त्रलाई पुनः जागृत गर्न तदारुकता देखाउनुपर्ने बेला आएको छ । गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने दायित्व हामी सबैमा छन् ।

तपाईको प्रतिक्रिया