के राजनीतिमा जालिन् त सकम्बरी…?

ऐना एकमात्र त्यस्तो साथी हो जसले मात्र सत्य देखाउँछ । अहिले हामी जुन समाजमा बाँचिरहेका छाैं नि यो समाजमा सत्य बोल्ने र सत्य देखाउने साथीको साँच्चीकै अभाव छ । त्यसैले त हामी गफ धेरै गर्छौं कुरा धेरै काट्छौं तर आफ्ने अनुहार ऐनामा हेर्न डराउँछौं । ऐना हामी अनुहारको सुन्दरताका लागि हेर्छाैं । तर मनको सुन्दरता हेर्ने आँट कसको !
हाम्रो समाजको अनुहार हाम्रै समाजलाई देखाउने जुन आँट प्रकाश सपूतले गरेका छन् त्यो निकै नै सह्रानीय छ, मनन योग्य छ, बुझ्न योग्य छ, सोच्न योग्य छ अनि केही परिवर्तन योग्य छ ।
हामी जुन सुकै युगमा भएपनि, जतिसुकै क्रान्ति पार गरेता पनि हामी अझै पनि बदलिनुपर्ने कुरामा बदलिएका छैनाैं, सोच्नुपर्ने कुरामा सोचेका छैनौं अनि गर्नुपर्ने काम पनी गरेका छैनौं । म त्यो समाजमा बाँचिरहेको छु जहाँ सानोभन्दा सानो कामका लागि पनि केही न केही चढाउनै, त्याग्नै पर्छ ।
सरकारी काममा हाकिमलाई भेटी,
वैदेशिक रोजगारमा दलाललाई पेटी,
बन्दैन काम कागज पुग्दैमा,
समय बित्छ एकछिन् एकछिन् भन्दैमा ।
छैन गणना मेहेनतको, नत फल परिश्रमको,
सजिलो मात्रै कुरा गर्छन्, गर्छन खेती भ्रमको ।
साहरा बन्छु भनेर आउँछन्, इच्छा गर्छन् तनको
प्रतिकार गर्न खोज्यो, धाक देखाउँछन् धनको ।
ऐना हामी अनुहारको सुन्दरताका लागि हेर्छाैं । तर मनको सुन्दरता हेर्ने आँट कसको !
केही पाउन केही गुमाउनै पर्छ तर के गुमायौं भन्नेले धेरै अर्थ राख्छ । अभावमा रहर अनि रहर पूरा गर्न छिरेकी सहर ।
फूलमायाप्रति खनिएका प्रकाशका सवालहरु वास्तवमा यो समाजका हुन् । हाम्रो समाजमा एउटा छोराले करोडौं गुमाउँदा खासै चासो राखिँदैन तर जब एउटी छोरीले सानै सामान जुटाइन् भने पनि अनेकौं प्रश्न तेर्सिछन् । छोरीलाई लक्ष्मी भनेर पूजा गर्ने हामीले छोराले कतै गलत कार्यमा अनावश्यक खर्च त गरिरहेको छैन भनेर प्राय सोच्दैनौ जहाँ छोरी प्रश्नहरुको कठघरामा उभिरहेकी हुन्छिन् ।
सायद समाजको यही छुटले होला फूलमायालाई कसैले छोरी देखन, दिदी देखेन, बहिनी देखेन । लक्ष्यमा पुग्न शहर छिरेकी उनलाई रहरको शहरले पुरै लटिदियो । रहरले लुट्नेहरुले बाध्यताले लुटिनेहरुलाई लुटिरहेका छन् । लक्ष्यको चुच्चोलाई स्पर्श गर्नका खातिर लुटिनेहरु मौन छन्, चुपचाप छन् । हाम्रो संयन्त्रपनी यस्तो छ कि लुटिनेहरु आफ्नो आवाज उठाउन पनि सकिरेहका छैनन् । आवाज उठाउनेहरुप्रति हाम्रो समाजको नजर अझै पनि बदलिएको छैन ।
अनि गलत नजर लगाउनेहरुप्रतिको कानुन पनि उस्तै । कानुन छ तर कार्यान्वयन के हो के हो । विशेष गरी यौन हिंसामा न्याय पाएका हाम्रा सयौं चेलीहरु अझै पनि समाजमा अट्न सकेका छैनन् । सम्मानको त कुरै छोडौं उल्टो परिवार नै तिरस्कृत भएर बाँच्नुपरेको छ । शक्ति र सत्ताको आडमा कति आवाज दबाइन्छन् अनि कति आवाजहरु न्याय पाएर पनि झेल्नुपर्ने सामाजिक तिरस्कारका कारण दबिएका छन् ।
एकाध बाहेक नत लुट्ने कानुनको घेरामा छन् नत लुटिएका ससम्मान स्थापित छन् । रहरका भारी बोकेर शहर छिर्ने अनि फोहोरका भारी बोकेर फर्किनेको कमी छैन यो शहरमा । फूलमायाको जस्तै मनको इच्छा पूरा गरिदिन्छु भन्दै तनमा हमला गर्नेहरु हाम्रो समाजमा मात्र होइन विश्वमै छन् भन्ने कुरा त केही समय अगाडिको मिटु अभियानले पनि देखाइसकेको छ ।
यो जञ्जालको सिकार के कस्ता मान्छेहरु भए अनि शिकार गर्ने हरुको अस्तित्व के रह्यो भन्ने कुरा पनि मिटु अभियानले देखाइसकेको छ । अनि मिटु अभियानले सबै भन्दा बलियो कानुन भन्ने कुरा पनि प्रस्ट पारेको छ ।
प्रकाशले गीतलाई जुन मोडमा छोडेका छन् त्यसको आधारमा भन्नुपर्दा सकम्बरी अब राजनीतिमा पक्कै आउनुपर्छ । सकम्बरी आफू सिंगारिनलाई जुन ऐना हेर्छिन् त्यहाँ उनले ती हजाराैं फूलमायाहरुलाई देख्नुपर्छ अनि ती फूलमायाहरुको लागि आवाज उठाउनुपर्छ जो अझै पनि आफने लक्ष्य प्राप्तिका लागि तन मन बेच्न बाध्य छन् । आफ्ना रहरहरुलाई त्याग गर्न बाध्य छन् अनि बाध्यतालाई नै रहर बनाइरहेका छन् ती सबै फूलमायाहरुको आवाज बन्नलाई पनि सकम्बरी राजनीतिमा आउनै पर्छ ।
नारी अस्मिताको मोलमोलाई गर्ने विरुद्ध लड्नलाई पनि सकम्बरी राजनीतिमा आउनै पर्छ । कानमा झुम्कानादेखि आँखै खाने डाइमण्ड पनि रसले भरिएको वैंशले होइन कलाले भरिएको संघर्षले किन्न सकिन्छ भन्ने देखाउनलाई सकम्बरी राजनीतिमा आउनुपर्छ ।
समय परिस्थितिले फूलमायालाई सकम्बरी बनायो । स्वार्थी सहयोगीको संगतले फूलमायाले बाटो पनि बिराइन् । बाटो बिराएरै सकम्बरी बनिन् । अब बेला आएको छ सही बाटो हिँड्ने ।
महिलालाई सधै साधन देख्ने यो समाजलाई नारी शक्तिको ऐना देखाउनलाई पनि सकम्बरी राजनीतिमा आउनैपर्छ । राजनीति जतिसुकै लाजनीति भए पनि, जतिसुकै फोहोरी खेल भए पनि ग्राउन्ड सफा गर्न खेलिने खेल हो । अब सयौं सकम्बरीहरु राजनीतिमा आउनुपर्छ अनि फोहोरी खेल खेल्ने सबैको पत्ता साफ गर्नुपर्छ । हाम्रो राजनीतिमा अर्को तरंग आउनुपर्छ अब । अनि हरेक किसिमको विकृति अनि विसंगतिहरुलाई बढारेर लानुपर्छ ।
तपाईको प्रतिक्रिया