कैदीबन्दीलाई मुढा बुन्ने चटारो

समाधान संवाददाता २०८० वैशाख २४ गते १३:३९

म्याग्दी ।
जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेका छन् । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ ।

Advertisement

म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा ८ सय २० मुढा चीन पठाइएको जानकारी दिए । ‘१ महिनाअघि १ हजार ६ सयवटा मुढाको माग आएको थियो’, उनले भने, ‘आठ सय २० वटा पठाइसक्यौँ । बाँकी मुढा बनाउन व्यस्त छौँ ।’ कारागारमा रहेका कैदीबन्दीले समय बिताउनका लागि मुढा बनाउँदै आएका छन् ।

प्रतिगोटा मुढा ४सय ५० का दरले कारागारबाटै बिक्री हुन्छन् । कैदीबन्दीले बाँस र प्लास्टिकको रसी किनेर बुढा बनाउने गरेका छन् । कारागार प्रशासनले समन्वय गरेर मुढा बुन्न आवश्यक पर्ने बाँस र प्लास्टिकको रसी व्यवस्थापन गरेको कारागारका प्रहरी प्रमुख क्षेत्रबहादुर बरुवालले सुनाए ।

बेनी नगरपालिका २ खबरामा रहेको कारागारमा ८० पुरुष र ३ महिला कैदीबन्दी छन् । यो कारागार ७ महिलासहित ३२ जना क्षमताको हो । कारागारमा भएका ६० जनाले मुढा बुन्ने गरेको चौकीदार रोकाले बताए । यसअघि मुढाले बजार नपाउँदा बुन्न छाडेका थिए ।

१ मुढा बुन्न बढीमा २ दिन लाग्ने गरेको छ । छिटो बुन्नेले एकै दिनमा पनि तयार पार्छन् । ग्राहकको माग अनुसार आकार र डिजाइनको मुढा बन्छन् । मुढा व्यापारी सन्तोष अधिकारीले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन भएपछि चीनबाट मुढाको माग आएको जनाए ।

Advertisement

‘म्याग्दीका साथै बागलुङ, भीमफेदी र पूर्वी नेपालका कारागारका कैदीबन्दीले बुनेका मुढा संकलन गरेर चीन पठाउन थालिएको छ,’ उनले भने, ‘कैदीबन्दीले तयार पारेपछि थप मुढा पठाउने तयारी छ ।’ चीनमा खेतबारीमा गोडमेल गर्न, सडक सफा गर्ने र बस्नका लागि मुढाको प्रयोग हुन्छ ।

बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ । चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ । चिनियाँले चाडपर्वको समयमा पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने चलन छ ।

निर्यात रोकिँदा र आन्तरिक बजार नहुँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नुपरेको थियो । निर्यात खुलेपछि चीनबाट माग आउन थालेपछि कैदीबन्दी उत्साहित भएका छन् । कारागारमा उद्योग तथा पर्यटन कार्यालयलगायत विभिन्न निकाय र संघसंस्थाले कैदीबन्दीलाई मुढा बुन्ने सीपमूलक तालिम दिएका थिए ।

तपाईको प्रतिक्रिया