पारुका प्रियतम किरण

मोती भुजेल २०८० वैशाख २४ गते १६:४४

नेपाली आधुनिक गीत र चलचित्रका लोकप्रिय गीतकार किरण खरेल नेपालमा गीतमात्रै लेखेर विशिष्ट परिचय बनाएका व्यक्तित्व हुन् । चलचित्रका निम्ति उपयुक्त गीत लेख्न सक्ने गीतकारका रुपमा खरेललाई चिनिन्छ ।

फिल्मको पटकथा, घटना तथा परिघटनाको दृश्यमात्रै सम्झाइ दिए पनि आफू नपुगेको ठाउँ, नदेखेको ठाउँ र नभेटेका पात्रका बारेमा पनि पूरै चलचित्रका लागि गीत लेख्न सक्ने खूबी खरेलमा छ । पहिलो पटक नेपाली व्यावसायिक चलचित्र माइतीघरका लागि उनले ४ गीत सिर्जना गरेका थिए । फेवातालको वरिपरि साथीहरूसँग मस्किदै ‘माला सिन्हा’ले गाएकी छन्ः

वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर…।

Advertisement

माइतीघरमा बैदामका सुवेदार मेजर कृष्णविक्रमको छोरा मोहनविक्रम ‘चितम्बरप्रसाद लोहोनी’ उर्फ सिपी लोहोनीले माया(माल सिन्हा) लाई मन पराउँछन् । मोहनलाई माया मोह भनेर बोलाउँछिन् । माइतीघर चलचित्रकी माया र मोहको रिलमा विहे हुन्छ । पोखरामै बुहारी भएर भित्रिएकी माया र मोहका लागि दोस्रो गीतले भन्छः

नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
नआऊ सानु यस्तरी कि अड्छ ढुकढुकी मेरो

Advertisement

यो गीत बैदाममै छायांकन गरिएको हो । सुटिङमा थोरै मन जितिसकेका चितम्बरप्रसाद लोहोनीे सबैले चिन्ने नाम उद्योगी सिपी लोहोनीको रियल जिन्दगीमा नेपाली मुलकी भारतीय अभिनेत्री माला सिन्हासँग विवाह भएको छ । ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु’ बोलको गीतमा गीतमा किरण खरेल निकै यथार्थपरक देखा पर्छन् ।

पारुमाथि यति धेरै स्नेह देखाउनुको कारणमा किरण भन्छन्ः तिनै पारु हुन् मेरो प्रेरणाको स्रोत । र यिनै किरण हुन् पारुका प्रियतम

पचासको दशकतिर लैजान्छु । किरण खरेलका हिट फिल्मी गीत सुन्न जति सजिलो छ, त्योभन्दा बढी उनीमाथि लेख्न कठिन ।

अहिले जस्तो सुविधा सम्पन्न हल त्यो बेला थिएनन् । भएकालाई मन्दिरको रुपमा नामाकरण गरिएको थियो । पोखरामा दीपज्योति सिनेमा हल, कल्पना सिनेमा हल, पूर्णिमा चलचित्र मन्दिर, बाराही चलचित्र मन्दिरबाहेक पुरानो बिन्ध्यवासिनी चलचित्र मन्दिर थिए । केही अझै पनि छन् । जहाँ नेपाली र हिन्दी फिल्म लागिरहन्थे ।

२०४७ भदौ ८ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र कन्यादान सुपर हिट बन्यो । फिल्ममा एउटा विधुवाले झेल्नुपरेको पीडा छ । उहाँ उनले आत्महत्या गर्न खोजेकी छन् र नायकले उनलाई बचाएको छ । त्यसपछि जिजीविषा पलाएको छ नायिकामा । गीतले भन्छः

यति धेरै माया दियौ बाच्ने रहर बढ्न थाल्यो
धेरैपछि जिन्दगी घामको लाली चढ्न थाल्यो

फिल्मको परिवेशलाई अझै प्रगाढ बनाउने यो गीतका सर्जक पनि उनै खरेल हुन् । अर्को चलचित्र रानी खोलामा खरेलले ‘रानी खोलाको पानी चिसो हुन्छ भन्छन्’ भन्ने गीत लेखेका छन् । स्रोता, दर्शकलाई सिक्किमको त्यो रानीखोलामै पुगेको अनुभव गराउने खालेको गीत छ यो । बलिउडका हस्ती संगीतकारहरुले किरण खरेलका गीतलाई संगीतबद्ध गरेका छन् ।

चलचित्रका गीतमा चार दशकभन्दा लामो समय एकछत्र राज गरेका खरेल चलचित्रलाई अन्तर मनले हेर्न सक्ने मान्छे हुन् ।

खरेलका नेपाली आधुनिक र चलचित्रका गीत सुनेर हुर्कने पुस्ताले धेरै कुरा सिक्न जरुरी छ । पछिल्लो समय भने नेपाली संगीतको स्तर खस्कदै गएकोमा खरेल दुःखी छन् ।

खरेललाई सबैभन्दा धेरै गीत लेख्ने गीतकारका रुपमा चिनिन्छ । के हो तिम्रो नाउँ ? प्रतिउत्तरमा मेरी पारु र प्रियतमा पहिला नै प्रकाशित गीति संग्रह हुन् भने हालै प्रकाशनमा आएको ए दूरका सितारा हो । शिव शंकर मानन्धरको संगतले जन्मेको प्रतिउत्तरपछि नेपालीमा प्रतिउत्तर गीतको ट्रेन्ड बसेको बताइन्छ ।

हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ

यिनै पार्वतीको छोटो रुप पारु हो । धेरै गीत छन् पारुमाथि लेखिएका । पारुमाथि यति धेरै स्नेह देखाउनुको कारणमा किरण भन्छन्ः तिनै पारु हुन् मेरो प्रेरणाको स्रोत । र यिनै किरण हुन् पारुका प्रियतम । यो ‘पारू’ किरण खरेलको को हो ? आज पर्यन्त पनि पारुलाई रहस्यमै राखेका छन खरेलले ।

काभ्रेपलाञ्चोक (खरेल चोक)मा १९९५ माघ २७ गते जन्मेका उनी काठमाडौंमा हुर्के, बढे । काठमाडौंका टोल टोलमा देखाउने रंगमञ्चका लागि २०१४ मा खरेलले पहिलो गीत लेखेका थिएः ए दूरका सितारा मेरो चाँदनी कहाँ छ ?

त्यही क्रममा उनको गायक तथा संगीतकार बटुककृष्ण ज्वालासँग भेट भयो । बटुककृष्णको स्वर र संगीतमा २०१४ मा खरेलको पहिलो गीत नै सुपर हिट भयो । मित्रता झाङ्गिँदै गयो । ‘ए दूरका सितारा’ अत्यधिक मन पराइएपछि खरेल गीत लेखनमा रमाउन थाले । उनको ‘चञ्चले आँखाले के ग¥यो मलाई’ बोलको गीत पनि लोकप्रिय बन्यो ।

२०१६ मा तत्कालीन राजा महेन्द्रको आर्थिक सहयोगमा गायक ज्वालाले ती गीत भारत गएर रेकर्ड गर्ने अवसर पाए । रेडियो नेपालले ती गीत प्रसारण गर्न थालेपछि गायक ज्वाला तथा गीतकार खरेलको प्रसिद्धि बढ्दै गयो । तर गीतकार खरेलका अत्यन्त प्रिय मित्र बटुककृष्ण ज्वालाको २०२५ माघ २३ गते ३० वर्षको कलिलो उमेरमै निधन भयो । यो दोस्तीले धेरै गीत नेपाली स्रोतालाई दिन पाएन ।

नेपाली साहित्यमा स्नातकोत्तर गरेका खरेलले २०२२ देखि २०२६ सम्म रेडियो नेपालमा बोल्दा कार्यक्रम चलाउँदा होस् वा उद्घोषण गर्दा स्रोता लठ्ठै हुन्थे । रेडियो नेपालबाट प्रसारण हुने धेरै कार्यक्रममध्ये किरण खरेल र धन लामाले चलाउने सुन्दर सुशील संगीत कार्यक्रम पनि चर्चित थियो । पछि तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा लेखन तथा उद्घोषण अधिकृत रहँदा उनले थुप्रै वृत्तचित्रको पृष्ठभूमिमा उद्घोषण गरेका छन् ।

प्रकृति र नारी । यी दुवै कुरामा निकट हुने मान्छे, राम्रो सर्जक बन्न सक्छ ! सायद किरण खरेललाई यीनै कुराले आकर्षित गरेको हुनुपर्छ । उनका गीतमा महिलाका संवेदनालाई बलियो रुपमा प्रस्तुत गरेको पाइन्छ । सफल भएर टिकिरहन फाइदा, बेफाइदा नहेरी उनी लागिरहे । प्राज्ञ बनेन्न्, कसैको चाकडी नगरेका खरेलले इच्छा पनि राखेनन् । मैले आमा भनेर तोते बोली बोलेको, यै हो मेरो देश दाजु, उज्यालो छर्ने चन्द्र र सूर्य, यो छाती मेरो चिरेर हेर जस्ता स्वदेश गान लेखे ।

दशक भयो खरेलले गीत लेख्न छाडेको । जिब्रोमा स्टोनिया भएकाले गहिरो सोचाइमा इरिटेसन आउन थालेकाले धेरै बोल्न, लेख्न उनले छाडेका छन् । पैसा खर्च गरेर अचेल जस्तो लेखे पनि गीतकार हुने वातावरण भएकाले पनि उनको रुचि घटेको हो ।

मनको बाँध, सिन्दूर, जीवन रेखा, कन्यादान, सन्तान, माया, अधिकार, कसम, सारंगी, शंकर, कसले चोर्‍यो मेरो मन लगायत १ सय भन्दा बढी चलचित्रका गीत उनले रचना गरेका छन् । उनका गीतमा भारतीय संगीतकार गायकगायिका जयदेव, आशा भोसले, उषा मंगेशकर, लता मंगेशकर, मन्ना डे, साधना सरगम, कुमार सानु, महेन्द्र कपुर, कविता कृष्णमूर्ति, अनुराधा पौड्याल, उदीतनारायण झा लगायतले कर्णप्रिय संगीत र आवाज दिएका छन् । गीतकार खरेलका गीतमा नातिकाजी, शिव शंकर, प्रेमध्वज प्रधान, मणिक रत्न, नारायण गोपाल, अम्बर गुरुङ, तारादेवी, मीरा राणा, प्रकाश श्रेष्ठ, योगेश वैध, दीपक जंगाम लगायतले स्वर भरेका छन् ।

छिन्नतला गीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार (चलचित्र र सांस्कृतिक मन्त्रालय) लगायत थुप्रै पुरस्कार पाइसकेका खरेललाई आज नेपाली गीत–संगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा पोखरेली युवा सांस्कृतिक परिवारबाट स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार पहिलो पटक अर्पण गरिँदै छ । अन्तमा उनकै एउटा गीतः
एउटा साथी खोजिरहेछु मैले हाँस्दा हाँसिदिने
यो आँखामा आँसु आए आफ्नै हातले पुछिदिने ।

मोती भुजेल

भुजेल पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष हुन् 

तपाईको प्रतिक्रिया