५४ मेगावाट बिजुली थप

लमजुङ ।
दोर्दी गाउँपालिका ६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ‘पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै केही दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो’, आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले भने, ‘हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण गर्यौँ त्यसमा सफल भयौँ अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौँ ।’
१५ दिनपछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने आयोजनाले जनाएको छ । उनले भने, ‘५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०/२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।’ प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी लगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका छन् । यस आयोजनाले निर्माण थालनी गरेको करिब ९ वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो ।
विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनादेखि निर्माण थालेको यस आयोजनाले सम्झौता अनुसार विसं २०७५ मा निर्माण सम्पन्न गर्नु गरिसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मका लागि म्याद थप गरिएको थियो ।
सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटक पटक म्याद गर्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहे पनि सो समयमा पनि बिजुली उत्पादन हुन नसकेको थिएन ।
यसअघि भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी–पहिरो, कोरोना सङ्क्रमण, लकडाउन लगायत कारणले निर्माण अवधि लम्बिएकोे थियो । आयोजनाको ५ दशमलव १ किलोमिटरको मुख्य सुरुङ छ । सबै गरेर १० किलोमिटर सुरुङ मार्ग छ । ८ अर्ब ८० करोड लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएकामा निर्माण अवधि लम्बिँदा करिव १० अर्ब ३९ करोड देखि ५० करोडसम्म लागत पुगेको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ बैंकले लगानी गरेका थिए । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा आयोजना निर्माण भएको हो । आयोजनाबाट असर पर्न सक्ने जिल्लावासीको मात्र २७ करोड लगानी रहेको छ । पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
आयोजनाले सुक्खा याममा ८ रुपैयाँ ४० पैसा र बर्खा याममा ४ रुपैयाँ ८० पैसामा विद्युत् बिक्री गर्ने (पिपिए) सम्झौता गरेको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्र आधा दर्जन आयोजना रहेको र यस आयोजनाको राजस्वले समृद्ध पालिका निर्माणमा टेवा पुग्ने सुनाए ।
तपाईको प्रतिक्रिया