कांग्रेसभित्रै मन्त्री भागबन्डाको गाँठो
गाँठो फुकाउने मन्त्र माग्न मुख्यमन्त्री काठमाडौं

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त भएको ८ औं दिन बिहीबार प्रदेश सभाबाट विश्वासको मत ल्याए ।
पदभार ग्रहण गर्दै १ सातामा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका उनले मन्त्रिपरिषद् विस्तारअघि नै विश्वासको मतको मत लिने बाटो रोजे । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि अर्थात सत्ता साझेदार दलमा भागबण्डा नमिलेपछि उनले विश्वासको मत लिएर सुरक्षित रहन खोजे ।
विश्वासको मत लिएपछि मुख्यमन्त्री पाण्डेको ध्यान अहिले मन्त्रालयको भागबण्डा मिलाउनेमा छ । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालय संख्याको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय मागिरहेको छ भने कांग्रेसले २ मन्त्रालय दिने अडान छोडेको छैन । अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना र माओवादी केन्द्रबाट एउटा मन्त्री बनिसकेका छन् ।
कांग्रेस संसदीय दलको प्रमुख सचेतक गोरखाकै न्यौपानेलाई बनाएपछि मुख्यमन्त्री पाण्डेसँग अरु सांसद रुष्ट
भागबन्डामा टुंगो लागिसकेको गठबन्धनका एक सांसदले बताए । ‘भागबन्डाको सहमति भएको छ, कांग्रेसले (मुख्यमन्त्रीसहित) ४, माओवादी २ र एकीकृत समाजवादीले १ मन्त्रालय लिने गरी सहमति भएको छ,’ उनले भने, ‘भागबन्डा माथिबाटै आउने कुरा हो ।’ यद्यपि आधिकारिक रुपमा बाहिर भने ल्याएका छैनन् ।
सत्ता साझेदार दलबीच भागबन्डाको टुंगो लागेको भनिएता पनि कांग्रेसभित्रै गाँठो परेको छ । कांग्रेसबाट कोको मन्त्री बन्ने भन्नेबारे टुंगो लागेको छैन । कांग्रेसबाट मन्त्री बन्ने आंकाक्षी धेरै हुँदा मुख्यमन्त्री पाण्डेलाई मन्त्रीको टुंगो लगाउन सकस परेको हो । मन्त्रीको टुंगो लगाउन मुख्यमन्त्री पाण्डे आइतबार काठमाडौं गएका छन् ।
सुरुआतमै मन्त्रीको टुंगो केन्द्रबाट लागोस् भन्ने मुख्यमन्त्री पाण्डेको चाहना थियो । सोहीअनुसार मन्त्रालयको टुंगो लगाउन उनी काठमाडौं गएका हुन् । नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री पाण्डेले संसदीय दलको प्रमुख सचेतकमा गोरखाका सांसद नन्द न्यौपानेलाई नियुक्त गरेका छन् । गाडी लगायत सुविधा हुने उक्त जिम्मेवारी आफ्नै जिल्लावासीलाई दिएको भन्दै कांग्रेसका अरु सांसद पाण्डेसँग चिडिएका छन् ।
माओवादीबाट सुशीला सिंखडा मन्त्री भइसकेकी छन् । अब माओवादीले एउटा मन्त्रालय पाउने हो । एउटा मन्त्रालय भएको अवस्थामा म्याग्दीका रेशम जुग्जाली मगर मन्त्री बन्ने प्राय निश्चित छ । माओवादी भागमा थप एक मन्त्रालय परे माओवादीको चिन्ह लिएर चुनाव जितेका जनता समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको सम्भावना देखिन्छ ।
तर, माओवादीले एउटा भन्दा धेरै मन्त्रालय पाउने सम्भावना निकै कम भएको कांग्रेसका एक सांसद बताउँछन् । सत्ता साझेदार एकीकृत समाजवादीका एउटामात्रै सांसद छन् । मनाङबाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने निश्चित देखिन्छ ।
कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना मन्त्री भइसकेका छन् । सरस्वती अर्याल मन्त्री छिन् । अब २ जना मन्त्री कांग्रेसले पाउने देखिन्छ । कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षी धेरै छन् । नवलपुरका सांसद महेन्द्रध्वज जिसी मन्त्री बन्ने सम्भावना छ । शेखर कोइराला समूहका उनी कांग्रेसबाट मन्त्री बन्ने प्राय निश्चित देखिन्छ । जिसी मन्त्री भए एउटा धौवलागिरीबाट मन्त्री बन्ने देखिन्छ ।
बागलुङबाट मात्रै कांग्रेसका ६ जना सांसद छन् । बागलुङबाट निर्वाचित भएका सांसदले बागलुङले पनि एउटा मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ । त्यसकारण बागलुङले एउटा पाउने उच्च सम्भावना देखिन्छ । र मन्त्रिपरिषद्मा जनजाति समावेश गर्दा जितबहादुर शेरचन र दीपेन्द्रबहादुर थापामध्ये एकजना मन्त्री बन्ने देखिन्छ । शेरचनभन्दा थापा सिनियर भएकाले थापाको मन्त्री बन्ने उच्च सम्भावना रहेको एक कांग्रेस सांसद बताउँछन् ।
तपाईको प्रतिक्रिया