पिटर र तारालाई ट्रायथलन उपाधि

समाधान संवाददाता २०८० वैशाख २५ गते १०:३८

पोखरा ।
विश्वकै कठिन मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुरएक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जितेका छन् ।

शनिबार बिहान ४ बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार बिहान कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा आएर समापन भएको हो । त्यस क्रममा सहभागी खेलाडी समुद्र सतहबाट ४ हजार ३ सय मिटर उचाइको मर्दी हिमालको ‘भ्यु प्वाइन्ट’सम्म पुगेका थिए ।

पुरुषतर्फ च्याम्पियन पिटरले फेवातालमा ३ किमी ८ सय मिटर पौडी त्यसपछि १ सय ५० किमी साइक्लिङ र ४३ किमी दौड १६ घन्टा ५१ मिनेट १९ सेकेन्डमा पूरा गरे । इटालीका जिओभानी बोर्रटालासोले निर्धारित दूरी १७ घन्टा ५८ मिनेट ८ सेकेण्डमा पार गरी दोस्रो र रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घन्टा ३४ मिनेट १२ सेकेन्ड लगाउँदै तेस्रो बने ।

Advertisement

महिलातर्फ उपाधि विजेता मिरण्डाले निर्धारित दूरी पार गर्न १८ घन्टा २० मिनेट ५४ सेकेन्ड लगाइन् । महिलातर्फ फ्रान्सका बेनेडिक पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेन्डमा तोकिएको दूरी पार गर्दै द्वितीय बनिन् । चेक रिपब्लिकका भेरो निकाले २४ घन्टा २८ मिनेट २५ सेकेन्डमा दूरी छिचोलिन् ।

प्रतियोगितामा २२ देशका ३६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले जानकारी दिए । प्रतियोगीले फेवातालमा पौडीको प्रतिस्पर्धा गरेपछि १ सय ७५ किमी साइकल दौड सुरु गरेका थिए ।

Advertisement

पोखराको लेकसाइडबाट सुरु भएको साइकल दौड सराङकोट, लुम्ले, नयाँ पुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँ पुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकाको काँडेमा आएर साइक्लिङ सम्पन्न भएको थियो ।

त्यसपछि ४३ किमी लामो दौड सुरु भएको थियो । काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (चार हजार तीन सय मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा समापन भएको योञ्जनले सुनाए । प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्यान्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायत मुलुकबाट ५ महिला र ३१ पुरुष खेलाडी सहभागी थिए ।

ल्वाङमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले साहसिक प्रतियोगिताले नेपाललाई विश्वभर चिनाएको बताए । पर्यटन प्रवद्र्धनसँगै यस्तो खालको प्रतियोगितालाई संसारले चासोपूर्वक हेरिरहेको उनको भनाइ छ । सदस्यसचिव घिसिङले भने, ‘विश्वका उत्कृष्ट खेलाडी नेपालमा आएर प्रतियोगितामा सहभागी भएकाले विश्वभर यहाँका बारेमा राम्रो सन्देश दिएको छ ।’

नेपाल ट्रायथलन संघका केन्द्रीय अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले नेपालका लागि प्रतियोगिता अत्यन्त महत्वपूर्ण रहेको बताए ।

तपाईको प्रतिक्रिया