
संसारमा दिनहूँ लाखौं मानिस जन्मन्छन्, करिब त्यति नै मान्छेको देहान्त पनि हुन्छ । यो कुनै नौलो विषय होइन तर संसारमा यस्ता थोरै मान्छे जन्मन्छन्, जो मरेर पनि बाँचिरहन्छन् । नेपालीले भुल्नै नसक्ने एक व्यक्तित्व हुन्, जनकविकेशरी धर्मराज थापा । जो नेपाली साहित्य, संगीत जगतमा कहिल्यै अस्ताउँदैनन् ।
लोक साहित्यका माली जनकविकेशरी थापाको जन्म भएको १ सय वर्ष भएको छ । सम्भवतः यो वर्ष विविध साहित्यिक, सांगीतिक कार्यक्रम आयोजना गरी उनको जन्म शताब्दी वर्ष भव्यताका साथ मनाइनेछ । यो पुण्य कार्यमा समग्र पोखरेलीका साथै प्रज्ञा प्रतिष्ठान र पोखरेली युवा सांस्कृतिक परिवार जस्ता संस्थाले साथ दिने नै छन् भन्नेमा म आशावादी छु ।
जनकविकेशरीको जन्म १९८१ साउन १ गते भएको थियो, पोखराको बाटुलेचौरमा । गाउँ बस्तीमा बिहानैदेखि सारंगीको र्याइर्याइ सुनिन्थ्यो । घर वरिपरि गाइने (गन्धर्व) बस्ती थियो । उनका बाबु हर्कबहादुर बेलायती सेनामा थिए । पहिलो विश्वयुद्ध लडेर फर्किएका लाहुरे बा लोक संगीतका पारखी भएकाले घरमै दोहोरी चल्थ्यो । आँधखिोलादेखिका कलाकार दोहोरीमा भाग लिन्थे ।
शायद यिनै कारणले पनि धर्मराज लोक संगीतप्रति आकर्षित बन्न पुगे ।
नेपाली लोकवाङ्मय र संगीतका साधक जनकविकेशरी धर्मराज थापाको जन्म शताब्दी वर्ष यही हो
कविजीको बाल्यकाल भाषा पाठशालामा बित्यो । जहाँ पण्डित नरनाथले पढाउँथे । धर्मराजले मेहनतका साथ शिक्षा ग्रहण गरे ।
उनी सुरुदेखि नै लाउने, खानेमा कम्ताका थिएनन् । शायद यही बानी जीवनको अन्तिम क्षणसम्म पनि छाडेनन् । त्यस बेला गाउँघरमा लाहुरे बन्ने चलन थियो । छाती पनि नाप्न भ्याए कविजीले । तर त्यस बेला प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध भएकाले युद्धमा परे मरिन्छ भन्ने हल्ला चलेकाले धर्मराजले लाहुरे बन्ने चाहना राखेनन् । लाहुरे नबनेपछि के बन्ने त ? घरमा चर्चा चल्यो ।
उनका बाबु हर्कबहादुरले भने, ‘सरकारी जागिर खाने हो भने काठमाडौं जाऊँ ।’ उनलाई बाबुको कुरा मन पर्यो र वि.सं. १९९६ मा एकमाना चामल, ४ पैसा, गुन्द्रुक र घ्यु बोकेर काठमाडौं हान्निए । उनले काठमाडौं गई थप अध्ययन गरे । त्यहाँ उनले मुनामदन, कुञ्जिनी आदि झ्याउरे लयका पुस्तकसमेत पढ्न भ्याए ।
ती पुस्तक पढेर उनमा पनि कविता कोर्ने इच्छा अंकुरायो । समालोचक केशवलाल कर्माचार्यलाई आफूले लेखेको रत्न जुलेली देखाए । उनले प्रतिक्रियास्वरूप भने–यो त मुनामदनको भाइ हो ।
पछि थापाले गोरखापत्रमा जागिर पाए । त्यहाँ उनको परिचय पूर्णप्रसाद ब्राह्मण, चक्रपाणि चालिसे, वासुदेव लुइँटेल, पुस्कर शम्सेर जस्ता साहित्यकारसँग भयो । उनले २००२ बाट ६ वर्ष त्यहाँ बिताए । २००९ सालमा उनले रेडियो नेपालमा जागिर खाए ।
उनले त्यहाँ १७ वर्ष सेवा गरे । पछि उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ भएर सेवा पुर्याए । ००७ सालमा प्रजातन्त्र आयो ।
२००७ फागुन ५ गते दशरथ रंगशालामा भएको बृहत सभामा धुरुधुरु नरोऊ आमा तिम्रो आँसु पुछेर छौडौला भन्ने गीत सुनेर मान्छे भावुक भए । भीड शान्त भयो । काठमाडौंको चोक, चोकमा गीति पुस्तक छापेर गाउँदै, बेच्ने काम पनि गरे कविजीले ।
देश, विदेशमा गई लोकगीत संकलन गरे । २०११ मा थापाले “कालीको लहर” पुस्तक प्रकाशित गरे । २०१३ सालमा राजा महेन्द्रले उनलाई शुभराज्याभिषेकको अवसरमा जनकविकेशरी पद उपाधि दिएका थिए । उपाधी पाएपछि सुरुमा उनले मासिक १ सय नगद पाउँथे । उनले यो सुविधा जीवनभर पाए । उनी रेडियो नेपालमा भएकै कारण पनि धेरै लोकगीत गाउने अवसर पाए । मीठो स्वर भएकाले स्रोता उनका गीत मन पराउँथे ।
हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो हो तारे हो !
यो गीत अत्यधिक लोकप्रिय भयो । उनका सयौं गीत रेकर्ड भए । उनी नेपाली लोक साहित्यका माली नै हुन् । उनको मंगले कुसुम पुस्तकले मदन पुरस्कार प्राप्त गरेको छ । उनी भानुभक्त पुरस्कार, ईन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री पुरस्कार, सिद्धिचरण पुरस्कार लगायत थुपै्र मान, सम्मानबाट पुरस्कृत छन् । उनले भाषा, कला, संगीत, साहित्यको सेवा गर्दागर्दै २०७१ साल असोज २८ गते उनी यो धर्तीबाट बिदा भए ।
जनकविकेशरी धर्मराज थापाले आफ्नो जन्मभूमि पोखरालाई केन्द्र बनाएर लोक संगीत, साहित्यको सेवा गरे । उनी पोखरा महानगरबाट पोखरेली नवरत्न (०५७) बाट पनि सम्मानित छन् । उनको जन्म शताब्दी मनाउन पाउनु पोखरेलीका लागि पनि गर्वको विषय हो ।

रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )
तपाईको प्रतिक्रिया