जोमसोम—कागबेनी खण्डमा नयाँ ठेकेदार

सुन्दरकुमार थकाली २०८० वैशाख २६ गते १०:२८

जोमसोम ।
जोमसोम कागबेनी १३ किमी कालोपत्र सडकको जिम्मा रोटाहा कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम सुरु गरेको आत्रेय कन्स्ट्रक्सनले काम अलपत्र पारेपछि सोही कन्ट्रक्सनको ज्वाइन्ट पार्टनर रोटाहाले निर्माणको जिम्मा लिने भएको हो ।

Advertisement

यो सडक कालोपत्रमा जिम्मा रोटाहा आत्रेय जेभीले ज्वाइन्ट ठेक्का सम्झौता गरेका थिए । ०७४ मा सडक स्तरोन्नति सुरु गरिएको जोमसोम कोरला १ सय १० किमी ग्रोभल सडकको काम ७ खण्डमा थालिएको थियो । सडक स्तरोन्नति सुरु गरिएको सडकको ९५ प्रतिशत भौतिक प्रगति हुँदा जोमसोम—कागबेनी ग्राभेल सडक ३ वर्षअघि नै सकिएको थियो ।

जोमसोम कोरला पहिलो खण्ड अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यही ग्राभेल सडकलाई थप स्तरोन्नतिसहित अस्फाल्ट कालोपत्र गर्न २०७८ असोज ४ गते रौटाहा आत्रेय सारस जेभी कन्ट्रक्सनसँग २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । ज्वाइन्ट कम्पनीको रुपमा भए पनि जोमसोम कागबेनी १३ किमी कालोपत्रको जिम्मा आत्रेय एक्लैले सम्हाल्दै आएको छ ।

सुरुआती चरणमा यो निर्माण कम्पनीले सडक सर्भेदेखि केही आशिंक काम गरेको भए पनि लामो समयदेखि काम अलपत्र पारेको थियो । मन्त्रालय, विभाग र आयोजनाको पटक पटकको ताकेता र ठेक्का सम्झौता रद्द गर्ने चेतावनी र अल्टिमेटमपछि फागुनको पहिलो हप्ता काममा फर्किएको आत्रेयका प्रतिनिधि राजेश कुँवर दुई साता नबित्दै फेरि सम्पर्कविहीन छन् ।

१३ किमी कालोपत्रको काम आत्रेय कन्स्ट्रक्सनले अलपत्र पारेपछि अहिले रोटाहा कन्स्ट्रक्सनले जिम्मा लिएको छ

Advertisement

ठेक्का सम्झौता अवधि २ वर्ष तोकिएको जोमसोम कागबेनीको सम्झौता अवधि असोज ४ गते सकिँदै छ । यो सडकमा १७ महिनामा भौतिक प्रगति ९ प्रतिशत पनि छैन । आत्रेयले कागबेनी एक्लेभट्टीबीचको सडकमा ५ सय मिटर वालबाहेक अरु काम गरेको छैन ।

जोमसोमदेखि कागबेनी १२ किमी सडकको स्तरोन्नतिसहित कालोपत्र र १ किमी कागबेनी श्राद्धस्थलदेखि मुख्य राजमार्ग सडकसम्म कालोपत्र गर्ने सम्झौता थियो । सरकारले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र पवित्र श्राद्धस्थल कागबेनीसम्मको सडक सहज बनाउन कालोपत्रको ठेक्का लगाएको हो ।

सुरुवाती चरणदेखि नै ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले काम लथालिङ पारेर सम्पर्कविहीन बनेको थियो । मुस्ताङमा हिउँदया ममा अत्यधिक चिसो र हिमपात हुने भएकाले मंसिरदेखि पुससम्म विकासका काम ठप्प हुन्छन् । आत्रेयले पटक पटक काम गर्छु भन्दै आयोजनालाई झुक्याउँदै आएको र पछिल्लो समय पूरै काम ठप्पै भएको आयोजना प्रमुख जगत प्रजापतीले सुनाए ।

आत्रेयले अलपत्र पारेपछि कालोपत्रको जिम्मा लिएको रौटाहा आत्रेय जेभीसँग ठेक्का सम्झौता अन्त्य गर्न आयोजनाले २ पटक सूचना जारी गर्यो । करिडोर सडक आयोजनाले ठेक्का मोबिलाइजेसन वापत दिएको १ करोड २० लाख अर्थात ५ प्रतिशत पेस्की फिर्ता गर्न बैंकलाई पत्रचारसमेत गरिसकेको छ । यो प्रक्रियामा रहेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।

कालोपत्रको जिम्मा लिएको रौटाहा आत्रेय जेभीले ठेक्का सम्झौता गर्दा कार्यसम्पादन जमानत ८ करोडभन्दा बढीको गरेको छ ।

आयोजनाले ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राखेमा सो ठेक्का सम्झौता गरेको रोटाहा आत्रेयले कार्यसम्पादन जमानत हर्जाना ८ करोड क्षतिपूर्ती तिनुपर्ने हुन्छ । सो रकम नेपाल सरकारको राजस्वमा जम्मा हुन्छ ।

आयोजनाले सम्झौता खारेज गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि आत्रेयको ठाउँमा रौटाहा कन्ट्रक्सनले काम गर्ने प्रतिवद्धता जनाएको आयोजना प्रमुख प्रजापतीले बताए । उनले अहिले रौटाहाका आधिकारिक प्रतिनिधि धर्म दाहालले काम गर्न फिल्डमा जनशक्ति र उपकरण परिचालन गरिसकेको जानकारी दिए ।

रौटाहाका प्रतिनिधि दाहालले आत्रेयले काम गर्न नसकेपछि रौटाहाले काम सम्हालेको सुनाए । ‘हामीले ज्वाइन्टमा ठेक्का लिएका हौं, काम आत्रेयले सुरु गर्यो,’ उनले भने, ‘उसले काम गर्न नसक्दा असर हामीलाई पनि पर्छ, त्यो असर पर्न नदिन अग्रसरता देखाएका हौं ।’ उनले काम १ वर्षभित्रै सक्ने प्रतिवद्धता जनाए । दाहालले भने, ‘हामीसँग ५ महिनामात्र म्याद छ, यो समयमा ९० प्रतिशत काम गर्न सम्भव छैन । आयोजनाकै समन्वयमा थप ६ महिना म्याद दिए काम सकिन्छ ।’

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया