अन्नपूर्ण गाउँपालिकामा घरबाटै राजस्व तिर्न सकिने

समाधान संवाददाता २०८० वैशाख २६ गते ११:१०

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानी सुरूवात गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्त रुपमा अनलाइन सेवा आइतबार सुरु गरे ।

Advertisement

अब गाउँपालिकाको करदाता पोर्टल खोलेर सेवाग्राहीले आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् ।

हाल कनेक्ट आइपिएस र इसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृतसूर्य तिमिल्सिनाले जानकारी दिए । स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनोट गरी सिधै भुक्तानीसमेत गर्न सकिने उनले बताए ।

गाउँपालिका अध्यक्ष केसीले यो प्रविधिको युग भएकाले त्यसै अनुसार आफूहरू अगाडि बढिरहेको बताए । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ छ । जनतालाई सुशासन प्रत्याभूत गराउन र पालिकालाई सकारात्मक काम गरेर नमुना बनाउने दृढता उनले सुनाए ।

प्रविधिमैत्री पालिका निर्माणमा विद्युतीय सेवाले ईंट्टा थप्ने काम गरेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् ।

Advertisement

गाउँपालिका प्रवक्ता भरतमान गुरुङले जनताले ३ सय रुपैयाँ कर तिर्न २ हजार रुपैयाँ खर्चनुपर्ने बाध्यता अन्त्य भएको दाबी गरे ।

यसअघि नै गाउँपालिकाले क्युआर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । त्यसका लागि पालिकाको कार्यालय जानैपथ्र्यो । अब भने त्यो पनि बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३ हजार ५ सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् ।

उनीहरुले अब घरबाटै राजस्व तिर्न सक्ने छन् । प्रणालीमा आबद्ध हुन बाँकी अन्य सेवाग्राहीले सुरुमा एक पटक गाउँपालिका अथवा वडामार्फत आफ्नो सम्पत्ति विवरण प्रविष्ट गराएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया