खर्चिला संस्कार, कसले फेर्ला व्यवहार ?

सामाजिक व्यवहारमा भइरहेको बढ्दो प्रतिस्पर्धात्मक भडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्न वाञ्छनीय भएकाले भन्ने प्रस्तावना राखी सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ निर्माण भएको देखिन्छ । यो ऐन कार्यान्वयन प्रत्येक नागरिकबाट हुनुपर्ने हो तर यसको कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन । कानुनी सिद्धान्तले कानुन विपरीतका कार्य अमान्य हुने व्याख्या गरेको पाइन्छ तर यो कानुन हाम्रो समाजले स्वीकार नगर्दा यो ऐन हाम्रो नेपाली समाजमा लागू हुन सकेको छैन ।
यस ऐनले सामाजिक व्यवहार भन्नाले विवाह, ब्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारन, जन्मदिवस, छैठी, बुढो पास्नी र पितृ कार्यसमेत लाई जनाउँदछ भन्ने परिभाषा गरेको छ । हाल यसमा नयाँ नयाँ उत्सवका कार्यक्रम र चाडपर्वसमेत थपिँदै गएका छन् । यी कार्यक्रम हाम्रो समाजले थेग्नै नसक्ने गरी भड्किला बन्दै गएका छन् ।
हाल नेपाली समाजमा विवाह, व्रतबन्ध, तथा अन्य कार्यक्रममा गर्ने तडकभडकलाई इज्जतको हवाला दिने प्रवृत्ति भुसको आगो सल्किएसरि भित्रभित्रै सल्किएको छ । यस्तो समाजले जबर्जस्ती थोपर्दै आएको कथित इज्जतको बोझ मिल्काएर सामाजिक व्यवहारमा आर्थिक मितव्ययिता, सादा जीवन र उच्च विचारलाई प्रोत्साहन र प्रवद्र्धन गर्न अब ढिला नगरौँ ।
परिवारमा कुनै कार्यक्रम वा उत्सव गर्दा यति खर्च गर्नै पर्छ, यस्ता गहना लगाउनै पर्छ, यतिको त भएर हिड्नै पर्छ जस्ता भाषाले हाम्रो वौद्धिकता र शिक्षा प्रणालीको सिद्धान्त र व्यवहारमा निकै भिन्नता देखाइरहेको छ । नेपालमा रहेको गरिब तथा मध्यम आर्थिक स्थितिको वर्गले आर्थिक पीडा भोगिरहेको छ ।
समाज परिवर्तनमा लागेकाले जीवन पद्धति परिवर्तन गर्नु पर्दैन ? पुरानै ढर्रा बोकेर हिड्ने हो भने क्रान्तिकारी भाषण छाडे हुन्छ
त्यसमा महिला अझ बढी प्रताडनामा परेको देखिन्छ । उनीहरु जति नै शिक्षित र आधुनिक किन नहुन्, त्यही इज्जतको खोक्रो आदर्शले टोकिरहेको छ । यसले के प्रष्ट पार्छ भने समाजमा लेख्ने, पढ्नेहरु समेत आफ्नो विवेकसम्मत हुन सकेनन् भने जनसामान्यसँग कस्तो अपेक्षा गर्ने ? अब पनि यसलाई कठोरतापूर्वक सोच्न ढिलो भइसकेको छैन र ?
के गाउँ ठाउँ, के सहरबजार सामाजिक सञ्जालले नछोएको ठाउँ छैन । विश्व समुदायसँग सजिलै जोडिने सामाजिक सूचनाको सञ्जाल र यसै कारण उपलब्ध भइरहेको ज्ञानको सापेक्षित विस्तारले इन्टरनेटको पुस्ताका आजका हामीमा सामाजिक सञ्जाल व्यक्तिगत रवाफ देखाउने माध्यमको रुपमा बढ्दो प्रयोगमा परिचित छ । जसले गर्दा सामाजिक व्यवहारमा रहेका कुरीति झन् मौलाउँदै गएका छन् ।
विश्वविद्यालय पढ्नेमात्र नभई अझ समाजशास्त्र पढ्ने जमात पनि उत्तिकै बढेको देखिन्छ तर सो पढाइ केबल हातमा सर्टिफिकेट लिने बनेको छ । त्यो सर्टिफिकेट जागिरको माध्यमको रुपमा मात्र प्रयोग हुनेबाहेक व्यक्तिको आचरण, व्यवहार तथा विवेकमा कुनै परिवर्तन हुन नसकेको यिनै सामाजिक व्यवहारले देखाइरहेका छन् ।
हाम्रो शिक्षाको गुणस्तर तथा व्यावहारिकतामा पनि प्रश्न खडा भएको छ । हाम्रो शिक्षा र सामाजिक वैचारिकी अझै कथित इज्जत जाने भयमा खुम्चिएर बसिरहने सहनशील व्यक्ति निर्माण गर्ने खालकै छ । हामीले कहिलेसम्म यस्तो संस्कृति जन्माइरहने, हुर्काइरहने ?
अर्कोतर्फ नेपालमा सेलिब्रेटी भनेका भगवान् नै हुन्, उनीहरुबाट कुनै गल्ती हुँदैन भन्ने भाष्य तयार भएको छ । उनीहरुका प्रत्येक कर्म सामाजिक सञ्जालमा देखिन्छन् जसका कारण उनीहरुका उत्तिकै फलोअर्ससमेत छन् । सेलिब्रेटीले आफ्ना विवाह कार्यक्रमलाई प्रतिश्पर्धाको विषय बनाउँदो विवाह खर्च करोडमाथि पुग्ने गरेको सुनिन्छ ।
उनीहरुले जे जसरी विवाह गर्छन्, त्यसरी नै उनका फलोअर्स समेतले प्रतिस्पर्धाको विषय बनाउने प्रचलन बढेर गएको देखिन्छ ।
हामी सेलिब्रेटी हौँ भन्नेहरुले पनि आफ्नो वैयक्ति कुरा सीमित राखून् । नत्र यसले हाम्रो समाजलाई हामीले गरेको कुराले कति असर गर्ला भन्ने पनि ख्याल गर्नु पर्ने बेला आएको छ । यसलाई समयमा नै समाधान नगरिएमा समाजमा पार्ने असर अझै भयानक हुने पक्का छ ।
हाल ५०/५५ वर्षतिर लागिरहेको राजनीतिक व्यक्तित्वका धेरै जोडीको जनवादी वा सामान्य तरिकाले विवाह गरेको सुनिन्छ ।
तर अहिले उनीहरुका सन्तानको विवाहमा त्यो प्रयोगात्मकता कता पुग्यो ? के उनीहरुको समाज परिवर्तनको नारा बाहिरी आवरणको ढोङमात्र थियो ? क्रान्तिकारी परिवर्तनका संवाहक हौँ भन्ने युवा तथा विद्यार्थी नेताहरुका विवाह हेरौँ, त्यस्तै छन् । के समाज परिवर्तनमा लागेकाहरुले आफ्नो जीवन पद्धति पनि परिवर्तन गर्नु नपर्ला ? कि पुरानै ढड्डा बोकेर हिड्ने हो भने बोलीमा मात्र क्रान्तिका भाषण छाडे हुन्छ ।
वैकल्पिक राजनीति गर्ने भनिएका पार्टी तथा व्यक्तिले पनि हाम्रो समाजमा फैलिएका यस्ता कुसंस्कारका बारेमा कुनै चासो राख्न चाहेनन् । यस्तो प्रवृत्तिले समाजमा के कस्ता समस्या मौलाइरहेका छन्, त्यसले देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक कस्तो प्रभाव पारेको छ समाज कता जादैँ छ, त्यसको समीक्षा गर्नुपर्ने समय आएको छ ।
दाइजो/दहेजका नाममा समय समयमा देशैभरि मृत्युका घटना बढिरहेको देखिन्छ । यसका नाममा प्रोटेस्ट गर्न बौद्धिक महिला आन्दोलनका जति उत्सुकताका साथ यसका बारेमा विभिन्न कार्यक्रम चलाउनेले प्रथमतः आफ्ना विवाह तथा अन्य कार्यक्रमका परिणाम/परिभाषालाई बदलेर आफूबाट नै सुरु गर्नुपर्यो ।
समाज परिवर्तनका नारा लगाउनेहरुले समाजलाई के कुराले असर गरिरहेको छ, त्यसको प्रतिकार गरी समाजलाई नयाँ दिशातर्फ लैजानुपर्ने होइन र ? उनीहरुले जति सक्दो आफ्नो जीवनबाट सुरु गरी समाजको आखाँ खोल्न महत्वपुर्ण भूमिका निर्वाह गर्नुपछृ । कि अरुलाई भन्न सजिलो आफूले गर्न गाह्रो हो भने खोक्रा भाषण बन्द गरी घरभित्रै बस्दा राम्रो होला ।
देश आर्थिक अवस्था नाजुक भएका वेला प्रत्येक घरमा हुने यस्ता भड्किला समारोहले अवस्था सुधार होला वा देशले विकासको गति लेला त ? हाम्रो समाजमा हुने यस्ता सामाजिक व्यवहारमा देखिएका भड्किला परम्पराले सामान्य व्यक्तिले विवाह गर्दा पनि १०/१२ औँ लाख खर्च भएको देखिन्छ ।
यसबाट के देखिन्छ भने विदेशबाट भित्रिएको रेमिट्यान्सको पनि उचित प्रयोग हुन नसक्दा विदेशबाट आएको विदेशी मुद्रा विदेशमा नै फर्किएको छ भने नेपालमा नै रहेर विभिन्न पेशाकर्मीले पनि इज्जत राख्ने नाममा भ्रष्टाचारलाई बढवा दिनमा यो पनि एउटा प्रमुख कारण होइन भन्न सक्ने अवस्था छैन, रहेन । नेपाललाई विकासको गतिमा देख्न चाहनेहरुले यस्ता विषयको निर्मम समीक्षा गर्नुपर्ने समय आएको छ ।
जिन्दगीमा एक पटक गरिने हो खुसी, मज्जाले साटौं भन्ने तर्कलाई आत्मसात गर्दै हाम्रो जीवनमा गरिने विभिन्न कार्यक्रमका नाममा हामीलाई पुँजीवादीतन्त्रले यसरी लखेट्दै छ । हामी वास्तवमा उत्सवमा रमाउने नभई देखावटीमा समय बिताइरहेका त छैनौँ भन्ने प्रश्न खडा भएको छ । के खुसी, मितव्ययितालाई आत्पसाथ गर्दै पनि साट्न सकिदैन ? कि भड्किलोपन बिना खुसी साट्न सकिँदैन, यतातिर सोचौँ । हामीले देखावटीलाई भन्दा हाम्रा वास्तविक उत्सवको वास्तविक मर्म बुझौँ, वास्तविक खुसी साटौँ, जिन्दगीलाई उत्सवमय बनाऔँ, पुँजीवादको बोझबाट बाहिर निस्कौँ । जीवनलाई सरल र सहज दिशामा हिडाऔँ ।
अब पनि समाजले विपरीत मानेको छैन भन्दै समाज जुन गतिमा हिडेको छ, सोही बाटोमा हिड्न छाडिदिने हो भने यसमा सुधार कसले गर्ला ? समाजमा मौलाइरहेका यस्ता भड्किला र अनुत्पादक कार्यलाई निरुत्साहित गर्न ढिला नगरौँ । प्रत्येक घरमा हुने भड्किला कार्यक्रमको सट्टा सो रकमले कुनै उद्योग खोलिएको थियो भने अहिलेको जस्तो आर्थिक मन्दीबाट देश गुज्रनुपर्ने थिएन ।
त्यसैले अब अगुवा समाजसेवी, शिक्षित वर्ग, सरकारका कर्मचारी, राजनीतिक नेतृत्व, विश्वविद्यालय अध्ययन पूरा गरेका वर्गले समाज शुिद्घकरणमा जिम्मेवारी पूरा गरौँ । सामाजिक व्यवहारलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा मितव्ययी र सबैको सहअस्तित्वका साथ सम्पन्न गर्न प्रोत्साहन र प्रशिक्षित गरौँ । आफू पनि यस्ता कुराको महत्व बुझौँ, सबैलाई बुझाऔँ ।
देशको आर्थिक विकासमा टेवा पुर्याऔं । नेपालीलाई नेपालमा नै रहन सक्ने वातावरण तयार पारौँ । यो ऐन कार्यान्यन नहुनुमा प्रमुखतः कानुन निर्माणकर्ता तथा कानुन लागू गराउने निकायमा रहेका व्यक्तिबाट नै यसको उलघंन हुनु मुख्य हो । अर्कोतर्फ समाजमा रहेका अगुवा समाजसेवी, शिक्षक, कानुन व्यवसायी, राजनीतिक नेतृत्व, विश्वविद्यालय अध्ययन पूरा गरेको युवा पुस्तासमेत समाज शुिद्घकरणमा गैरजिम्मेवार हुनु हो । गम्भीरतापूर्वक आत्मसमीक्षा गरौँ, यो ऐनको मर्म र भावना बुझौँ ।
समाजलाई सरल मार्गमा हिडाऔँ, सबैले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरौं ।
तपाईको प्रतिक्रिया