जीवनको मिथक

बिबी श्रेष्ठ २०८० वैशाख २६ गते १२:२१

गोरेटोको गुन्जायस पनि स्वभाविकै लाग्न थाल्यो । आफनै मूल्य र मान्यताको बीचमा दौडेका पाइला ढल्पलाउने भइरहँदा जीवनमा आउने उतारचढाव स्वभाविक नै हुने रहेछन् । क्षणिकतामा पौडिएका भाव अन्तत डुवुल्की मार्नुको विकल्प रहेनछ ।

Advertisement

यही विकल्पविहीनतामा विगतका पलहरु निरन्तर रुपमा पौडिरहे । लाग्छ अबका बाँकी पल यसैको दृश्यचक्रमा नियति दोहरिनेछन् ।

हिजोको पालुवाले आज अनदेखा परिवर्तन गरेछ । स्वाभाविकताको नियमन नै यही रहेछ । यद्यपि यही नियमन जीवनको उर्वरतामा सोच्न नसकिने मानवीय प्रवृत्ति रहेछ । लाग्छ, सबै सम्भावनामात्र छ । आवेग र उत्तेजनाले वैयक्तिक भावनामा कति चोट पुगे, यो निर्मम आत्माले सोच्न सकेन । सायद यही नै आत्मानुभूतिको परिचय हो ।

भोगाई र देखाईको तादात्म्यता किञ्चित सम्भव रहेनछ । जीवनका स्वर्णतामा उपलब्धतालाई नै सर्वेसर्वा सोच्नेहरु समयसँगै पराजित हुने क्रममा स्खलित हुने रहेछन् । निरन्तरताभित्र अन्धकार त क्षणिकमात्र रहेछ । दिनको उज्यालोले रातको भ्रम चिर्न सहजै सक्ने रहेछ । आत्मरतिले जीवनमा ठूला महत्वकांक्षाको पहाड समीपमा रहे ।

आभाषको पनि मात्रा हुन्छ क्यारे, आवश्यकतामा ग्रहण गर्न नसकेका आभाष जीवनका उत्तरार्धमा चम्किलो घाम बनेर घोचिरहे । सोचको बन्धक बनेका आभासका किरणहरु चम्किरहे । लाग्छ, त्यो चम्किलो किरणको राप सजिलै ढल्मलाउने छैन । सोचको बन्धन भित्रबाट निस्कने प्रयत्न फगत हुने शिवाय अन्य रहेन । त्यही उन्मादको बीचमा हुर्किएको महत्वकांक्षाले अन्ततः डेरा जमाएको छ ।

Advertisement

देखिने, भोगिने र टेकिने वस्तुको समागमलाई नियाल्ने प्रयास गरियो भने शाब्दिक जीवनबोध हुने रहेछ

धर्तीमा टेकेको पाइलामा पनि जब अनायासै प्रश्न खडा हुन्छ, तव जीवनको वास्तविक बोधले घर गर्दाे रहेछ । सबै परिवर्तनशील तर सोचमा रुढ बनिदिँदा त्यसले पार्ने प्रभाव र असर भयानक हुने रहेछ । आत्मानुभूतिको यो श्रृखलामा अनेकौं प्रश्नका बाढी थुप्रिदा पुरिनुपर्ने स्वभाविकतालाई समेत नजरअन्दाज गर्नु भनेको जीवनको दुःखको कारण रहेछ ।

हिजोको घमाइलो घामले आज पोलेको छ । सायद सृष्टिको यो सहज नियमनलाई समेत आत्मासात गर्न नसक्दा पोलिने क्रमको सुरुवातले व्यापकता पाएको छ । निश्चल र निर्मम आत्मा निरीह साबित हुने तीव्रताका साथ लागिरहेका छन् । हिजोको वलियो आधार त्यही प्रहारमा पनि धर्मराएको जस्तो, आत्माले हारेको जस्तो र सबै प्रहार आफूमा बज्रिएजस्तो समयको नै माग होला सायद !

हेर्ने दृष्टिकोणमा पनि चेतनाले डेरा जमाउँछ क्यारे, नत्र यति धेरै आत्मानुभूतिको कसी किन ? स्वाभाविकताभित्र पनि प्रश्नका ज्वारभाटा यसैको पराकम्प होला । सच्चिने कि सक्किने को दोधारमा रहेका सोचमा सकारात्मक प्रभावले जित्ने आशामा बिर्को लागेको छ । अब त रातको अन्धकारमा नै अपनत्व देख्ने बानीको विकास भएको छ । यसैभित्र जीवनका फूल फक्रिएका कल्पनाहरु हृययंगम हुने आधार बनेको छ ।

त्यो चम्किलो नयनभित्र पनि उदासिनताको प्रकाशले ढाकेको जस्तो, खोलाको सुस्केरा भित्रको आनन्दमा रम्न खोज्ने आत्माहरु पनि बिच्किए जस्तो । हिजो आकास चुम्ने गरी गएका बोट, आज त कतै घुम्रिएजस्तो । सायद जीवनको शाबिदकता यहीँ भित्र भेटिन्छ । कोइलीको चिर्बिराहटमा भेटिने आनन्द जीवनको कुन पलमा सम्भव होला र ? बनाउने र बन्ने त जीवनका साधनमात्र रहेछ । साध्य त वर्तमान रहेछ, अन्य सबै मिथक !

बगिरहेको वेगमा पनि असमानता रहेछ, हिजो बेस्सरी चिच्चाएको खोलीको गर्जन आज सुस्ताएको छ । वेगमा बगेको पानीको मात्रामा असमानता रहेछ । हुने र नहुनेको बीचमा फरकपन जीवनको पलहरुसँगै चेतनाको मात्रा सँगै अनुभूति हुने रहेछ । हिजो कल्कलाउँदै बगेको वेग आज सुख्खा बनेछ, त्यो वेगमा आएको उतारचढाव र उभारमा जीवनका अणुहरु केलाउन सकिने रहेछ । यथार्थतलाई आत्मासात गर्न काशी नै जानुपर्ने रहेनछ ! देखिने, भोगिने र टेकिने वस्तुको समागमलाई नियाल्ने प्रयास गरियो भने शाब्दिक जीवनबोध हुने रहेछ । यद्यापि यो बाटो सबैलाई सम्भव नहुने रहेछ ।

भीडको बीचमा पनि एक्लो र एकान्तको अनुभूति जीवनको नित्य कर्म बनिदियो । यही सोच सायद सबैमा हुन्छ कि कुष्ठामा ? उपयोगका यो प्रतिष्पर्धामा अपनत्व खोज्ने दृश्साहस समयले धेरै पछि दिलाईदियो । प्राप्तिमा सायद जीवनको रंग थाहा हुदैन क्यारे ! अनुकूलताको जीवनले अन्ततः एक दिन निरिह बनाउने निश्चित रहेछ । जब जीवनको रंगबोध हुन्छ, त्यसलाई आत्मासात गर्नु भनेको असम्भव प्रायः रहेछ ।

नयनका परेली पनि गतिको निरन्तरताको अभ्यास गर्दै छन् । सधै सबै समान नहुने यथार्थ सबैमा लागू हुने रहेछ । एक्लो वृहस्पति बन्ने प्रयास महत्वकांक्षाको घोतकमात्र रहेछ । भौतिकतामा जीवनका् सम्पूर्णता देख्नेहरु धर्तीका बोझ रहेछन् । जुन बोधले जीवनको उत्तरार्धमा सजिलै बाँच्न नदिने रहेछ ।

भोजनमा, शयनमा र नयनमा समेत प्रत्याभूत हुने अवस्था सायद कमैमा रहला ! टेकेको पाइलामा पनि जीवनबोध हुने अवस्था निश्चिय पनि सरल होइन । सोध्ने र प्रश्नको उत्तर खोज्नेको यो प्रतिष्पर्धामा जित सोध्नेको नै हुने निश्चित प्रायः छ । शून्यता भित्रको जीवनको मार्धुयमा पनि प्रश्नको वर्षा भईदियो, जीवनमा जीवनको न्याय कति ?

तपाईको प्रतिक्रिया