भीरको बाटो ‘साइँला’ गाउँदै घुम्टे
घुम्टेको उकालो जाँदा थकान महसुस नहोस् भनेर घुम्टे साइँला गाउने चलन


प्रमिला कुँवर, पोखरा ।
घुम्टे लेकको मालिंगो त, तिनै तलिङ चोया साइँली
जति टाढा उति गाढा, साम न ब्याचको माया साइँली
चोखो माया मनले हुन्छ, हुँदैन नि बलले साइँला
मै हुँ भन्ने राउन्नेलाई, पल्टाई दिम्ला गलले साइँला
बागलुङको गलकोटमा प्रचलित मौलिक भाका हो घुम्टे साइँला । बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको अघिल्लो दिन बाला चतुर्दर्शीको दिनमा गाइने भाका एक दशकयता निकै कमले गाउँछन् । सामूहिक रुपमा महिला पुरुष भएर गाइने गीतले वैशाख पूर्णिमा रौनक ल्याउँथ्यो ।आधुनिक गीत, संगीतप्रति युवापुस्ताको मोह बढ्नुले ओझेलमा परेको बुढापाकाको भनाइ छ ।
अरुभन्दा फरक रहेको गीतको बिचबिचमा घुम्टे साइँला जोडिने हुँदा गीतको नाम नै घुम्टे साइँला रहन गएको हुन सक्ने गलकोट १० पाण्डवखानीका छमबहादुर काउचा बताउँछन् । १०/१२ वर्षको उमेरदेखि नै गाउन जानेको बताउँदै, नयाँ पुस्ताले बेवास्ता गर्दा लोप हुने अवस्थामा पुगेकोमा उनलाई चिन्ता छ ।
‘मौलिक संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अंगाल्नु गलत हो, संस्कृतिसँग पहिचान जोडिएको हुन्छ, आधुनिक संस्कृतिसँगै पुराना संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्थ्यो,’ काउचाले भने ।
छेउछाउ तेरु फुल्यो ढिकढिकै गुँरास साइँली
गयो बरै पापी उमेर, लाग्छ उराठ साइँली
कहाँ पुग्यो ढाकरे दाइ, नुनै लिन भोट साँइला
बाँचुन्जेल भेटघाट, मरेपछि घोट साइँला
गीतमा घुम्टे लेक, सिद्ध बराह, सिमेभूमे, गुँरास, जंगली फूल साग, मायाप्रेमका कुरालाई वर्णन गरिन्छ
७२ वर्षीया देउकुमारी घर्ती घुम्टेको उकालो जाँदा थकान महसुस नहोस् भनेर घुम्टे साइँला गाउने चलन आएको बताउँछिन् ।
‘गीत गाउँदै जाँदा पाँच/छ घण्टाको उकालो बाटो पनि सजिलै काट्न सकिन्छ ।’ घर्तीका अनुसार घुम्टेबाट झरेपछि सिद्धथान डाँडामा रातभर जाग्राम बसेर गीत गाउने गरिन्थ्यो । गीतमा घुम्टे लेक, सिद्ध बराह, सिमेभूमे, गुँरास, जंगली फूल साग, मायाप्रेमका कुरालाई वर्णन गरिने उनी बताउँछिन् ।
‘घुम्टे साइँलाले मौलिकता बोकेको छ, यसले गलकोटको मात्र नभई बागलुङ जिल्लाकै पहिचान बोकेको छ, यो विशिष्ट संस्कृति हो, यसको संरक्षणका लागि युवापुस्ता जागरुक हुनुपर्छ,’ घर्ती भन्छिन् ।
छुट्ने बेला भयो माया, भेट्न आसा झिनो साइँली
सम्झी रुम्ला, हेरी रुम्ला, के पो राखौं चिनो साइँली
हलो छेड्ने बसिलो त, ढुंगा छेड्ने छिनो साइँला
सिमेभूमे साक्षी राखी, रुमाल लैजाऊ चिनो साइँला
स्थानीय लोक भाका, संस्कृतिलाई जोगाउन योजना बनाएको वडा नम्बर १० का वडाध्यक्ष भक्तबहादुर काउचाले जानकारी दिए । युवापस्तामा चासो बढाउने, सिक्न चाहनेलाई उत्प्रेरणा दिई भाकाको संरक्षण गर्न सकिने उनले धारणा राखे ।
‘युवापुस्ता क्रियाशील नहुँदा लोपोन्मुख अवस्थामा पुगेको छ, गाउँमा जनशक्ति पनि छैन, बुढाबढी र केटाकेटीले गाउन सक्दैनन्,’ उनले भने, ‘भर्खरै सम्पन्न वैशाखे पूर्णिमा मेलाको समीक्षापछि कमी कमजोरीलाई सुधार गर्ने ठोस उपाय ल्याउने छौं ।’
घुम्टे लेक
घुम्टे साइँला भाकाको सिर्जना घुम्टे लेकबाट भएको हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको केन्द्र विन्दुमा रहेको समुद्र सतहीबाट ११ हजार उचाइको घुम्टे लेक लालीगुराँसको पहाड भनेरसमेत चिनिन्छ । वैशाख पूर्णिमाको अघिल्लो दिन घुम्टेको धुरीमा ठूलो मेला लाग्छ । घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
पौराणिककालदेखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौँ श्रद्धालु भक्तजन पूजाअर्चना तथा धार्मिक भ्रमण गर्न त्यहाँ पुग्छन् ।
प्राकृतिक सुन्दरता, हिमाली पृष्ठभूमिमा सूर्योदय, सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जंगल घुम्टेका सौन्दर्य हुन् । सयौं प्रकारका जीवजन्तु, चराचुरुंगी, फूल, चोया (निगालो), जडिबुटी, लालीगुँरास पाइन्छ । यहाँ पाइने प्राकृतिक सम्पदाको सदुपयोग र संरक्षण गर्न सके आर्थिक उन्नतिमा सहयोग पुग्ने स्थानीयको विश्वास छ ।
घुम्टेको शिरमा रहेका सिद्ध भैरवको मन्दिरमा दर्शन गर्न र भाकल तथा पूजाआजा गर्न बागलुङसँगै छिमेकी जिल्ला पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, तनहुँ, रुकुम लगायत जिल्लाबाट हजारौँ हजार श्रद्धालु भक्तजन आउँछन् ।
घुम्टे पहाडमा फुल्ने लालीगुराँसलाई राष्ट्रिय स्तरमा चिनाउनु र गलकोट क्षेत्रको पर्यटकीय सम्भावनाको विकास गर्नु छ । घुम्टे लाई राष्ट्रिय स्तरमा चिनाउन वैशाख १ गते लालीगुराँस महोत्सव हुँदै आएको छ ।
भीरको डरलाग्दो र चिप्लो बाटो, वर्षात र भोकको पर्वाह नगरी तीन घण्टामै घुम्टे पुगेको पाण्डवखानीकी मीना घर्तीले उत्साहित हुँदै सुनाइन् । टाढा र गाह्रो भएपनि साथीहरुसँग हाँस्दै, बोल्दै हिँड्दा थकानको महसुस नभएको उनी सुनाउँछिन् ।
‘लालीगुँरास, जंगली फूल, जनावर देख्न पाइने भन्दै घुम्टे आएकी हुँ, तर योपटक गुराँस खासै फुलेको रहेनछ त्यसैले अल्लि खल्लो भयो,’ उनी भन्छिन्, ‘केही नखाई सिद्ध, भैरवको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ त्यसैले हामी पनि भोकै पुग्यौं ।’ यहाँ आउँदा एकैपटक तीन कुराको (पूजा, पदयात्रा र ड्राई पिकनिक) अनुभव गर्न पाइने उनको भनाइ छ । घुम्टे गलकोटको धार्मिक, सामाजिक र आर्थिक महत्वसँग जोडिएको हुनाले यसलाई आन्तरिक पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्ने आवश्यकता मीना औंल्याउँछिन् ।
भारतीय सेनामा कार्यरत धविन पुनले घुम्टे लेक जानकै लागि यसपालि बिदा लिएर आएका थिए । अघिल्लो दिनको रातिमात्रै घरमा आइपुगेका उनी बिहीबार बिहानै घुम्टे उक्लिए । ‘भीरको बाटो खतरनाक भए पनि यहाँ हिँड्दाको आनन्द बेग्लै छ । डम्मै बादल लागेकाले हिमशृंखला र प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न नपाउँदा भने मन खिन्न भएको छ,’ पुनले सुनाए, ‘चिसो हावाको स्पर्शले रोमाञ्चित बनाउँछ ।’ घुम्टे उक्लिने दर्शनार्थीको संख्या कम हुँदै गएको र परम्परामा ह्रास आएकोमा उनी चिन्तित सुनिए ।
गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचन घुम्टे लेकको व्यवस्थापन र प्रवद्र्धनमा लागिपरेको बताउँछन् । उद्योग, पर्यटन र वन मन्त्रालयले पूर्वाधारका लागि बजेट छुट्टाउँदा पनि बजेट कार्यान्वयन गर्ने कार्यालयका कर्मचारीले असहयोग गर्दा विकास हुन नसकेको उनको भनाइ छ । ‘जनतासँग बुझ्दा कर्मचारीले काममा बाधा पुर्याएको बुझिएको छ,’ सांसद शेरचन भन्छन्, ‘८० लाख रुपैयाँ बजेट छुट्टाइएको थियो, कर्मचारीले बजेट प्रयोग गर्न नदिएपछि बजेट फिर्ता हुने अवस्थामा छ, बजेट भएर पनि सदुपयोग हुन सकेन ।’
डाँडै चिरी कुलो ल्यायौँ, होला भनी खेत साइँली
कामकाजीले टाढाटाढा, जोगमेसोले भेट साइँली
बग्यो खोली उधैँ उधैँ, कहाँ होला दोभान साइँला
भेट होला भन्दा भन्दै, गयो आधा जोवन साइँला

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया