भलिबल उपाधि चापाकोटलाई

समाधान संवाददाता २०८० वैशाख २७ गते १३:२६

पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटमा भएको वैशाख पूर्णिमा मेला सकिएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको ३ दिने मेला सकिएको हो ।

सुरुमा ३ दिनका तय भएको मेलाका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका खेल नसकिएपछि १ दिन लम्ब्याइएको थियो । मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि चापाकोट युवा क्लब स्याङ्जाले जितेको छ ।

प्रतियोगितामा ठकुरी समाज शुक्ला गण्डकी १२ बाबियोडाँले द्वितीय स्थान प्राप्त गर्यो । विजेता चापाकोटले १ लाख ११ हजार १ सय ११ र उपविजेता ठकुरी समाजले ५५ हजार ५ सय ५५ रुपैयाँ पाएका छन् ।

Advertisement

बास्केटबल प्रतियोगिताको उपाधि मोर्दीखोला युवा क्लबले जित्दै १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्यो भने थन्कु देउराली युवा क्लबले उपबिजेता हुँदै ५५ हजार ५ सय ५५ सय हात पार्यो । मेलामा भएको ठेलो (छेलो) प्रतियोगितामा यमन गुरुङले प्रथम हुँदै २५ हजार र किरण सुनारले द्वितीय हुँदै १५ हजार जिते ।

सामूहिक रस्साकस्सी प्रतियोगिताको महिलातर्फ मकैखोला आमा समूहले प्रथम हुँदै १५ हजार र गैरीगाउँ आमा समूहले द्वितीय हुँदै १० नगद हजारसहित ट्रफी हात पारेका छन् । विजेतालाई मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, आयोजक याङ्जाकोट मिलन युवा क्लब अध्यक्ष विकास गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

Advertisement

मेलामा लेकाली ब्यान्डको लाइभ, कृष्ण कँडेलको इन्द्रेणी प्रस्तुति, लोकदोहोरी गायक चिज गुरुङ र मीना लामाको प्रस्तुतिमा दर्शक रमेका थिए । मेलाको अवसरमा पाहुनलाई होमस्टेमा समेत छुट दिइएको थियो ।

तपाईको प्रतिक्रिया