अस्पतालको क्यान्टिनमा लेबलबिनाका खाद्यवस्तु

पोखरा ।
सामान्य मानिसको स्वास्थ्यका लागि पनि सडेगलेको वा म्याद गुज्रिएका, हितकर हुँदैनन् । बिरामीलाई त झन् अवस्थकरै हुन्छ ।
तर, गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लेबलबिनाका खानेकुरा भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वको अनुगमन टोलीले दैनिक हजारौं बिरामीले सेवा लिने उक्त अस्पतालको क्यान्टिनमा लेबलबिनाको खाद्यबस्तु भेटाएको हो ।
अनुगमनका क्रममा गण्डकी प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्यान्टिनमा लेबल नभएका खाद्य वस्तु भेटिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उत्पादक, उत्पादन मिति, म्याद सकिने समय लगायतको विवरणसहितको लेबल टाँस नभएका खाद्यवस्तु भेटिएको उनले बताए ।
जनस्तरबाट अस्पतालका क्यान्टिनमा ठगी हुने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा नेपाल प्रहरी, महानगर, खाद्य सुरक्षासहितको टोलीले बिहीबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘सुनील क्यान्टिन तथा खुद्रा कपडा पसल’मा उत्पादन गरेको मिति, मूल्य तथा कहिलेसम्म प्रयोग गर्ने भन्ने नलेखेको भेटिएको हो ।
क्यान्टिनमा अनुगमनका क्रममा लेबल नभएका खाद्यान्न भेटिएकाले उक्त खाद्यान्न नष्ट गरिएको सहायक प्रजिअ ढकालले बताए । ‘क्यान्टिनले व्यवसाय दर्ताको प्रमाण, इजाजतपत्रसमेत सर्वसाधारणले देख्ने गरी राख्नुपर्नेमा नराखेको पाइयो,’ उनले भने, ‘इजाजतपत्र पोखराको नभई काठमाडांै महानगरपालिकामा दर्ता भएको र पोखरामा सूचीकृत नभएको पाइयो ।’
अनुगमनका क्रममा उपभोक्ताले उक्त पसलले बढी मूल्य लिने, बिल नदिने गरेको बताएका थिए । अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड घ, ङ, ज र त को कसुर भएकाले उक्त ऐनअनुसार ३ दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ ढकालले बताए ।
खरिद बिक्री बिल, व्यवसाय दर्ता, इजाजतपत्रका कागजातसहित वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको हो ।
हस्पिटल चोकमा रहेको राई भोजनालय एन्ड रेस्टुरेन्टमा समेत व्यवसाय दतौको कागजात नभेटिएको र त्यहाँ प्रयोग गर्ने मसलाको तौल उल्लेख नभएकाले भेटिएको सहायक प्रजिअ ढकालले बताए । उक्त रेस्टुरेन्टलाई कागपत्रसहित वैशाख ३१ गते नापतौल कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ । यसअघि जिल्ला प्रशासनकै अनुगमनले म्याद गुज्रिएका २९ हजार बोतल बर्डवाइजर बियर फेला पारी बुधबार नष्ट गरिएको थियो ।
तपाईको प्रतिक्रिया