असिम र मञ्जु आर्चरी च्याम्पियन

समाधान संवाददाता २०८० वैशाख २९ गते १२:१०

कास्की ।
पोखरामा सञ्चालन भएको राष्ट्रिय आर्चरी च्याम्पियनसिप २०८० मा रिकर्व विधातर्फ पुरुष एकलतर्फ गण्डकी प्रदेशका असिम शेरचनले उपाधि जितेका छन् । महिलातर्फ नेपाली सेनाका मञ्जु बजगाईंले स्वर्ण पदक पाइन् ।

पोखरा रंगशालाको आर्चरी खेल मैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’को नारासहित नेपाल आर्चरी संघले यही वैशाख २५ गतेदेखि सञ्चालन गरेको ११ औँ संस्करणको सो प्रतियोगितामा बिहीबार सबै विधाका फाइनल खेल सञ्चालन भएका हुन् ।

रिकर्व पुरुष एकलमा नेपाल प्रहरीका प्राञ्जल राईलाई पराजित गरी शेरचनले स्वर्ण जितेका हो । ५ सेटको खेलमा असिमले प्राञ्जललाई ७–३ अंकले पछि पार्दै च्याम्पियन बन्दा नेपाली सेनाका रोशन नगरकोटीले कास्य पदक पाए ।

Advertisement

महिला एकलमा नेपाल आर्मीका मित्र राईले रजत र ज्ञानु अवालेले कास्य पदक प्राप्त पार्न सफल बने । यसैगरी ‘मिक्स रिकर्व’ विधातर्फ नेपाल आर्मीका डम्बर थापा र मञ्जु बजगाईंको जोडीले स्वर्ण जित्यो । गण्डकीका सुमन गुरुङ र रोजिना थापा मगरले रजत तथा नेपाल पुलिसका प्राञ्जल र देवीकला राईको जोडीले कास्य पदक जित्यो ।

‘रिकर्व टिम इभेन्ट’मा नेपाल आर्मीले स्वर्ण, नेपाल पुलिसले रजत र गण्डकी प्रदेशले कास्य पदक जितेको छ । प्रतियोगिता अन्तर्गत भएको ‘कम्पाउण्ड एकल’ पुरुषतर्फ एपीएफका रमेश भट्टचनले स्वर्ण पदक जित्दा सुदूरपश्चिमका सुरेश गुरुङले रजत र एपीएफका मीनप्रसाद गौचनले कास्य पदक हासिल गरे ।

Advertisement

महिलातर्फ नेपाल आर्मीका इङमाया राईले स्वर्ण, एपिएफका प्रसदा आचार्यले रजत र एपीएफका निर्मला काङवाङले कास्य पदक पाए । यसैगरी ‘स्टान्डर्ड पुरुष एकल’मा गण्डकीका रिजन गौचन र महिलातर्फ अनुस्का शेरचनले स्वर्ण पदक जिते ।

रिजनले सुदूरपश्चिमका रविन थापा र अनुस्काले नेपाल आर्मीका तुलसी थापामाथि हासिल गरेका छन् ।

स्टाण्डर्ड मिक्स डबल्समा गण्डकीका रिजन गौचन र अनुस्का शेरचनको जोडीले स्वर्ण पदक जितेको छ । नेपाल आर्मीका तुलसी थापा र विशाल कुँवरको जोडीले रजत र कोशी प्रदेशका कुशल राई र गंगा राईको जोडीले रजत पदक प्राप्त गरेको आयोजकले जनाएको छ ।

पदक विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठ, नेपाल आर्चरी सङ्घका केन्द्रीय अध्यक्ष दीपकबहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, सङ्घका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन लगायतले पदक तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा ३ विभागीय र ५ प्रदेशका २२ महिला र ४० पुुरुष गरी ६२ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा स्वर्ण ९, रजत ९ र कास्य ९ गरी २७ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

पोखरा रंगशालाभित्रको आर्चरी खेल मैदानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आएका छन् । यही मैदानमा विसं २०७६ मा १३ औँ दक्षिण एशियाली खेलकुद आयोजना गरिएको थियो । यसैगरी गत वर्ष सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा आर्चरीको प्रतिस्पर्धा पोखरामा भएको थियो । सो प्रतियोगितामा गण्डकी प्रदेश सर्वाधिक पदक जितेर च्याम्पियन बनेको थियो ।

गण्डकीका म्याग्दी, मुस्ताङ र बाग्लुङ जिल्लामा यो खेल लोकप्रिय छ ।

तपाईको प्रतिक्रिया