एमालेमा नयाँ कार्यविभाजन

समाधान संवाददाता २०८० वैशाख ३१ गते ११:१०

काठमाडौं ।
नेकपा एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठक १४ निर्णय गर्दै सकिएको छ । बैठकले केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय लिएको छ ।

Advertisement

‘मिसन ग्रासरुटले दिएको शिक्षाका आधारमा प्रत्येक केन्द्रीय सदस्यले एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी नयाँ कार्यविभाजन हुनेछ,’ एमाले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा भनिएको छ । वैशाख २८ गतेबाट सुरु भएको एमाले बैठक १६ वटा समसामयिक प्रस्तावसमेत पारित गर्दै शनिबार सकिएको हो ।

मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै त्यसका आधारमा स्थायी कमिटी बैठकले तयार गरेको वार्षिक कार्ययोजनालाई केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । जसमा पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरणको काम असार मसान्तभित्र पूरा गर्ने, पार्टी कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडासम्म अधिवेशन पुन गर्ने एमालेको निर्णय छ ।

यसअघि एमालेले तल्ला तहका अधिवेशन १ वर्षअघि मात्रै गरेको थियो । अब तल्ला तहको अधिवेशन गर्दा पहिला प्रदेश त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोलको अधिवेशन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत निर्वाचनहरूमा आएको मत परिणामलाई समेत विश्लेषण गरेको एमाले बैठकले वैचारिक राजनीतिक प्रशिक्षण नियमित गर्दै प्रशिक्षणको वर्गीकरणमा जोड दिएको छ ।

Advertisement

उच्च माध्यमिक र आधारभूत तहको प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुल विभागले पाठ्यक्रम, पाठ्य सामग्री र प्रशिक्षक तयार गर्ने एमालेले जनाएको छ । जनसंगठनहरुलाई समेत सक्रिय पार्न जनसंगठन सुदृढीकरण तथा विस्तार अभियान चलाउने निर्णय गरेको छ । जनसंगठनलाई पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’ का रूपमा रूपान्तरित गरिने एमालेले जनाएको छ ।

एमालेले जनप्रतिनिधि र स्थानीय तहको काम प्रभावकारी बनाउन ‘मिसन डेलिभरी’ का रूपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रूपमा क्रियाशील बनाउने भएको छ । डेलिभरीमार्फत सुशासनसँगै डेभलपमेन्टको अवधारणामा सेवा प्रवाहको कार्यक्रम सञ्चालन गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया